PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

गुट छाडेर सिटौलासँग गगनको टक्कर, तीन किलोमिटरको दुरीमा एकै समय दुबैको कार्यक्रम



नेत्र तामाङ

गुट छाडेर सिटौलासँग गगनको टक्कर, तीन किलोमिटरको दुरीमा एकै समय दुबैको कार्यक्रम

काठमाडौँ: कृष्णप्रसाद सिटौला र गगन थापाको क्रेज १३औँ महाधिवेशनमा धेरैले देखेकै हुनुपर्छ। 'थर्ड पोल'को टिमले चिनिने यो समूहलाई दुई जनाको उपस्थितिले नै सशक्त बनाएको थियो।

टिममा रहेका दुई सदस्य थिए त्यस्तै प्रभावशाली। सिटौला शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सशक्त भूमिका निभाएका नेता। अनि सडक आन्दोलनबाटै रुचाएका युवा नेता गगन। अझ मधेश बेल्टका उमाकान्त चौधरी कोषाध्यक्ष बन्न तम्सिएका थिए।

यी तीनको गठजोठले महाधिवेशनस्थल तातिएको थियो। अधिवेशनस्थल उही भृकुटीमण्डममै थियो। कैयौँ नेताहरुको भोट माग्ने समयलाई ओभरल्याप गरिरहेको देखिन्थ्यो आरआर कलेजअघि घन्केको 'भोट फर गगन थापा' र्‍यापले। नेताहरु आफूलाई भोट माग्न छाडेर गगनको चुनाव प्रचार सामग्रीमा झुम्मिएका देखिन्थे। र्‍याप गायक थिए गिरीश खतिवडा।

र्‍यापको तालमा प्रचारमा खटिएकाहरुको काँधमा सजिएको ब्यानरमा तीन जनाको फोटो प्रस्टै देखिन्थ्यो। जसमा सिरानमा देखिन्थ्यो - सिटौला र तल थिए गगन र उमाकान्त। प्रचार सामग्रीमा मानिस झुत्तिए पनि सिटौला प्यानलबाट गगनले जित निकाल्न सकेनन्। उमाकान्त पनि हारे। सिटौलाले शेरबहादुर देउवालाई साथ दिएर सभापति जिताइदिए।

बदलियो समीकरण

कांग्रेसको १३औँ अधिवेशनबाट चुनिएका नेतृत्वको कार्यकाल लामै समय टिक्यो। तर सिटौला गगनको टिम टिक्न सकेन। चार वर्षे नेतृत्व सकाएर पनि तोकिएको समयमा महाधिवेशन गर्न सकेन १३औँ महाधिवेशनमा छानिएको नेतृत्वले। चरम रुपमा पार्टी भद्रगोलतिर गएपछि सिटौलालाई नेताहरु सुझाव दिन्थे - महाभारतका कृष्णजस्तै बन्न। त्यतिबेला सिटौला जवाफ फर्काउँथे - महाभारतमा जस्तो सारथी छैनन्।

कृष्ण सिटौलाको दुखेसो : पार्टीमा मलाई कसैले साथ दिएनन्

सिटौलालाई उमाकान्तले पनि साथ छाडेको हल्ला चलेको थियो। गगनले पनि छाडेको हल्ला चलेको थियो। कृष्णले अनुपम फुडल्यान्डमा बोलाउने बैठकमा कहिलेकही गगन नझुल्किदाँ आशंका झनै बढेको थियो। पछि कृष्णले उमाकान्तको साथ पाए। कृष्णले पनि आफ्नो कोटाबाट अहिले उमाकान्तलाई मन्त्री बनाइदिए।

तर गगनले भने १४औँ महाधिवेशन नजिकिँदै सिटौला गुट छाडेको पुष्टि गरे। उनी संस्थापन इतरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, डा शशांक कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइरालाको समूहतिर जोडिए। महामन्त्रीमा उम्मेद्वारी दिँदै गर्दा आफ्नो समूहको मूल नेता को हुने हो भनेर छट्पटीमा देखिन्थे गगन। अहिले पनि उनको छट्पटी यसैमा छ। बिहीबार गगनले प्रज्ञा भवनबाट भने - मेरो सभापति को हुन्छ? अहिलेसम्म मलाई पनि थाहा छैन।

हुन पनि संस्थापन इतरमा सभापतिका साझा उम्मेद्वारका लागि अहिले मारमुङ्ग्री चलिरहेको छ। शशांक लचक हुँदा प्रकाशमान, शेखरले दाबी छाडेका छैनन्। पौडेलको दाउ आफ्नै छ - सबैलाई छाड्न लगाएर यो चोटी सभापतिमा शेरबहादुर देउवाविरुद्ध भिड्ने। तर मेसो मिलेको छैन पौडेलको पनि।

सिटौलालाई गगनको टक्कर

बिहीबार केन्द्रीय समितिको बैठक शुरु हुनेबित्तिकै गौशाला हिँडे सिटौला। गगन त्यसअघि नै निस्किसकेका थिए। दुबै नेताको कार्यक्रम तय गरिएको थियो। सिटौलाको गौशाला चोकमा रहेको विश्वास भवनमा। गगनको विश्वास भवनबाट ३ किलोमिटर टाढा रहेको प्रज्ञा प्रतिष्ठान भवनमा।

तस्विरः केशव साउद

सिटौलाले साढे दुई बजे कार्यक्रम सुरु गर्दै थिए गगनले ३ बजे।

केन्द्रीय समिति नसकिँदै सानेपाबाट नेता कार्यकर्ता कोही गौशालातिर दौडिए कोही कमलादीतिर।

दुबै नेताको लगभग एकै समयमा कार्यक्रम सुरु भयो ४ बजेतिर।

विश्वास भवनको दोस्रो तल्लामा आयोजित कार्यक्रममा सिटौलाले आफ्नो दायाँतिर राखेका थिए प्रदीप पौडेललाई अनि बायाँतिर शिवप्रसाद हुमागाईं। पौडेल महामन्त्रीका दाबेदार हुन् भने हुमागाईं सहमहामन्त्रीका। सानो हलमा मान्छे खचाखच नै थिए। दुबै दाबेदार साथै राखे पनि सिटौलाले आफ्नो प्यानलबारे केही भनेनन्। मात्र उनले भने - म जहाँ उभिन्छु, कांग्रेस त्यही रहन्छ। अनि सिटौलाले आफ्नो साथ नछाड्नेलाई संरक्षण गर्ने आश्वासन दिए। थोरै बोलेर उनले कार्यक्रम सकाए।

यता प्रज्ञामा गगनको भाषण झन्डै एक घण्टा चल्यो। प्रज्ञामा गगनको क्रेज चर्कै थियो। समुन्नत नेपाल, सम्मानित नेपाली नाराका साथ गगनले आफ्नो ६१ पन्ने घोषणापत्रको सार प्रस्तुत गरे। प्रज्ञाको मुख्य हलका बाल्कोनी टनाटन भरिएको थियो। तल्लो हल भरेर पनि मानिसहरु उभिएर गगनको एजेन्डा सुनिरहेका थिए। उनको आवाजमा इमोशनल शब्द पनि सुनिन्थे। गगन कहिले माओवादीले मारेका कांग्रेस कार्यकर्ताको दुखान्त सुनाउँथे त कहिले आफ्नो परिवारको कथा-व्यथा।

'भन्न सक्ने कांग्रेस अब चाहिन्छ' भन्दै गगन गर्जँदा हलमा परर ताली बज्थ्यो।

कुनै बेला काँध जोडेका यी दुई नेता अहिले एकै ठाउँमा छैनन्। त्यो त आजको कार्यक्रमले प्रष्ट पारिसकेको छ। दुई नेताको बाटो अलग-अलग भए पनि अन्तिममा एकले अर्काको सहयोग माग्ने अवस्था पनि आइलागेको छ। जसरी पनि महामन्त्री बन्ने दाउमा रहेका गगनले सिटौलाको साथ फेरि खोजेको बुझिएको छ। तर सिटौलाले संकटमा साथ छाड्नेलाई संरक्षण नगर्ने नीति लिइसकेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell