PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कक्षा १२ को नतिजामा असन्तुष्टि राख्दै धर्ना बसेका विद्यार्थीमाथि प्रहरीको लाठीचार्ज



रिना थापा

कक्षा १२ को नतिजामा असन्तुष्टि राख्दै धर्ना बसेका विद्यार्थीमाथि प्रहरीको लाठीचार्ज
तस्विरः आस्था नेपाली

पोखराः राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा असन्तुष्टि राख्दै विद्यार्थीले गरेको शान्तिपूर्ण विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ।

गत शुक्रबार नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरुले प्रदेश परीक्षा व्यवस्थापन बोर्ड कार्यालय, पोखरा अगाडि विरोध गरिरहेका थिए। सो विरोधमा आइतबार प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको हो। कार्यालय अगाडि धर्ना बसेका विद्यार्थीलाई प्रहरीले लाठीचार्ज गर्दा १७ जना विद्यार्थी बैदाम वडा प्रहरी कार्यालयको नियन्त्रणमा थिए। अहिले ६ जनाबाहेक अरु विद्यार्थीलाई प्रहरीले रिहाइ गरेको छ।

प्रहरीले हस्तक्षेप गर्ने क्रममा दुबैतर्फ प्रहरी र विद्यार्थीलाई सामान्य चोटपटक लागेको छ।

शान्तिपूर्ण रुपमा धर्ना बसिरहँदा प्रहरीले शक्ति देखाएको विद्यार्थी अमिशा अधिकारीले बताइन्।

'हामी सबै शान्तिपूर्ण ढंगले धर्ना बसेका थियौं प्रहरी एक्कासी आएर दूर्व्यहार गर्न लागे,' अधिकारीले भनिन्, 'मलाई र अन्यलाई प्रहरीको लाठीले लागेको छ।'

आफूहरुलाई कार्यालयभित्र प्रवेश गर्न नदिएको विद्यार्थीको गुनासो छ। गेटअघिनै सुरक्षाकर्मी तैनाथ गरेर राखेको उनीहरुको भनाई छ। गत आइतबारमात्र विद्यार्थी र अभिभावकले कार्यालय प्रमुखसमक्ष भेटेर गुनासो राखेका थिए।

'हप्तादिन बढी भइसक्यो हाम्रो कुरा बोर्डले नसुनेको भविष्य अन्धकार भयो भन्दै न्याय माग्दा उल्टै दूर्व्यहार भयो,' अधिकारीले भनिन्।

विद्यार्थीहरुले गतहप्तानै नतिजाप्रति असन्तुष्ट राख्दै उत्तरपुस्तिका पुनः चेकजाँच गर्नुपर्ने माग राखेका थिए। नतिजामा प्रकाशनमा बोर्डको हेलचेक्र्याइँ भएकाले पुनः चेकजाँचका क्रममा लाग्ने निःशुल्क वा कम शुल्क राख्नु पर्ने पनि माग विद्यार्थीको छ।

यता प्रदेश परीक्षा व्यवस्थापन बोर्ड, गण्डकी प्रमुख विष्णुनारायण श्रेष्ठले विद्यार्थीको समस्याबारे राष्ट्रिय परीक्षा बोर्डलाई जानकारी दिएको बताए। उनले विद्यार्थीको मागप्रति आफू र परीक्षा बोर्ड गम्भीर रहेको सुनाए।

केन्द्रीय कार्यालय यस विषयमा गम्भीर रहेको भन्दै नियम र निर्देशिकामा रहेर विद्यार्थीको समस्या समाधान गर्ने उनले जनाए।

विद्यार्थी संगठनद्वारा संयुक्त रुपमा विरोध

कक्षा १२ का विद्यार्थीले गरेको शान्तिपूर्ण विरोधमा प्रहरी प्रशासनले गरेको दमनप्रति सातवटा दल निकट विद्यार्थी संगठनले विरोध गरेका छन्।

समाजवादी विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु लगायतका संगठनले संयुक्त विज्ञप्ति निकाल्दै विरोध गरेका हुन्। उनीहरुले नियन्त्रणमा रहेका विद्यार्थीको रिहाइ र चोटपटक लागेका विद्यार्थीको निःशुल्क उपचार गर्नुपर्ने माग राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell