PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

भीडन्त देउवा, शेखर र प्रकाशमानको तर चर्चामा शशांक, किन परे तीनै प्यानलको सूचीमा?



नेत्र तामाङ

भीडन्त देउवा, शेखर र प्रकाशमानको तर चर्चामा शशांक, किन परे तीनै प्यानलको सूचीमा?
फोटोः रासस

काठमाडौँ: नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान जारी छ। सभापतिका लागि पाँच जना उम्मेद्वार मैदानमा उत्रिएका छन्।

शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको भीडन्त हुँदै गर्दा चर्चामा भने केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका डा. शशांक कोइराला छन्।

महामन्त्री रहेका शशांक संस्थापन इतरबाट सभापतिका आकांक्षी थिए। तर चारचार जना नेताले सभापतिमा दाबी नछाडेपछि सबैभन्दा पहिले ब्याक भए उनी। संस्थापन इतरको अगुवाइ गर्दै आएका रामचन्द्र पौडेललाई साझा सभापति बनाउने शर्तमा शशांक ब्याक भएका थिए।

तर शशांकले चाहेजस्तो भएन। तीन आकांक्षी टस न मस भए। त्यो अड्डीले वाकओभर नै गर्नुपर्‍यो पौडेलले। त्यसपछि पौडेलको अगुवाइमा रहेका नेता डा. शेखरको टिममा एकत्रित भए। प्रकाशमान प्यानल बिना चुनावमा उत्रिँदै थिए। सुजाता कोइराला र विश्वप्रकाश शर्मा ओत खोज्दै प्रकाशमानको टिममा पुगे। कांग्रेसको १४औँ महाधिवेशनमा यी तीन प्यानलको भीडन्तलाई रोचक मानेका छन् महाधिवेशन प्रतिनिधिले। तीन समूहको भीडन्तमा सबैभन्दा चर्चामा रहेका पात्र हुन् डा. शशांक।

किन चर्चामा रहे शशांक?

सभापतिको दौडबाट ब्याक भएर बसेका शशांक आइतबार पनि चर्चामा रहे। शेखरको पत्रकार सम्मेलन हुँदै थियो अनुपम फुडल्यान्डमा। साढे ५ बजे हुने भनिएको उक्त सम्मेलनमा शशांक पनि उपस्थित हुने प्रचार गरिएको थियो शेखरको सचिवालयले। तर शशांक उपस्थित भएनन्। त्यसले देउवा समूहमा एक किसिमको उत्साह सञ्चार भएको समाचार सार्वजनिक भए।

सोमबार बिहानैबाट मतदान हुँदै थियो। प्रधानमन्त्री देउवाको सचिवालयले शशांकले देउवा भेटेको फोटो सेयर गर्‍यो। आइतबार दिउँसो नै डा. शशांकले देउवालाई भेटेको प्रधानमन्त्रीको सचिवालयको दाबी थियो। सँगै देउवा प्यानलमा शशांकको नाम भएको सूची सार्वजनिक भयो। जसमा ३५ जनाको लागि खुल्लातर्फको केन्द्रीय सदस्यमा दोस्रो नम्बरमा शशांकको नाम राखिएको छ।

त्यसपछि शशांकको सचिवालयले यो बालुवाटारले भ्रम फैलाएको दाबी गर्‍यो। यता शेखरको टिममा पनि शशांकको नाम रहेको छ। शेखरको प्यानलमा शशांकको नाम २६औं नम्बरमा राखिएको छ।

यो दुबै प्यानलमा शशांकको नाम रहेको उल्लेख गर्दै शशांकले भृकुटीमण्डपमा दिउँसो भने, 'म कुनै गुटमा छैन। त्यही भएर दुवैको प्यानलमा मेरो नाम छ।'

शशांकले आफू गुटको अन्त्यको पक्षमा रहेको जोड दिए। त्यसो त शशांक प्रकाशमान समूहको प्यानलमासमेत परेको नाम हो। प्रकाशमान प्यानलमा ३५ जनाका लागि खुला सदस्य उम्मेद्वारमा १० जनामात्र लिस्टमा राखेको छ जसमा शशांक पहिलो नम्बरमा छन्।

क्रम संख्या ८१ रहेको शशांक देउवा र प्रकाशमानको प्यानलमा पहिलो नम्बरमा पर्दा शेखरको प्यानलमा भने २६औं नम्बरमा परेको छ।

यसरी तीनै प्यानलमा नाम परेका कारण पनि शशांक दिनभर चर्चामा रहे।

किन परे सबै प्यानलमा?

शशांक बीपी पुत्र हुन्। कांग्रेसमा कोइरालाको लिगेसी बोकेका शशांकलाई यसपटक सभापतिका सशक्त उम्मेद्वारका रुपमा हेरिएको थियो। तर संस्थापन इतरबाट सहमतिमा अघि बढ्ने भन्दै उनी सुरुमै ब्याक भए। त्यसपछि शशांकप्रति धेरैको सहानुभूति प्रकट भयो।

भीडन्तमा उत्रिए देउवा समूहले समेत चुनौतीका रुपमा हेरिएको पात्र हुन् शशांक। तर उनी नै ब्याक भएपछि देउवा समूहको समेत 'प्यार' शशांकलाई प्रकट भएको बताइन्छ। त्यसैले देउवाले छलफलका लागि शशांकलाई पटक-पटक भेटेको बताइन्छ। गत बुधबार राति पनि शशांकका दूत बालुवाटार पुगेर आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको थियो। देउवाले शशांकलाई उत्तराधिकारी बनाउने योजनाका साथ पटक-पटकको छलफल भएको बताइन्छ।

पढ्नसु्ः बुधवार राति शशांकको दूत बालुवाटारमा, देउवाले के गरे प्रस्ताव?

यता डा शेखरले पनि भर गरेका नेता हुन् शशांक। आफ्नो समूहमा लगातार छलफलमा रहेका शशांकको साथ रहेमा सभापतिको रेसमा देउवाविरुद्ध पासा पल्टाउने विश्वास शेखरको छ। यसैले पनि अन्तिम समयसम्म शेखरले शशांकको साथ खोजे। तर शेखरको कार्यक्रममा अनुपम पुगेनन् शशांक। अनि सोमबार मतदान चल्दै गर्दा शशांकले आफू कुनै गुटमा नरहेको प्रष्ट पारे। यसले शेखरसँग शशांकले रोष प्रकट गरेको स्पष्टै देखिन्छ। यता प्रकाशमानले पनि आफ्नो टिममा पारेपछि शशांक सबैका प्यारा नेताका रुपमा देखिन्छ।

१५ औँ महाधिवेशनमा निर्विकल्प सभापतिका उम्मेद्वार?

१४औँ महाधिवेशनअघिका दुई चार दिनका यी घटनाहरुलाई केलाउने हो भने डा शशांक अर्को महाधिवेशनका लागि निर्विकल्प सभापतिका उम्मेद्वार बन्ने योजनासाथ ब्याक भएको देखिन्छ। डा शेखर एकपटक, यसैपटक भन्दै चुनाव लड्दैछन्। यही महाधिवेशनमा सभापतिमा कतिपय आकांक्षीले उम्मेद्वारी दिएर आगामी राजनीतिक यात्रा कमजोर बनाउनेतर्फ लागेका छन्। प्रकाशमान संस्थानपन इतरमा विद्रोह गरेर आफ्नो राजनीतिक शक्ति आर्जनतिर लागेको शशांक निकट एक नेताले बताए।

देउवा या शेखरले पहिलो चरणमै जित निकाले प्रकाशमानको राजनीतिक भविष्य संकटमा पर्ने ती नेताको दाबी रह्यो। सभापतिको रेस दोस्रो चरणमा गएमा भने प्रकाशमानले बार्गेनिङ गर्ने ठाउँ पाउने र तेस्रो शक्तिका रुपमा उदाउने उनको तर्क छ।

यता देउवाले पनि अब अन्तिम पटक सभापतिमा लड्ने भनाई राखेका छन्। यसरी तीन प्यानलकै प्यारा देखिएका शशांक जानीबुझी नै आफूलाई अर्कोपटक निर्विकल्प सभापतिका उम्मेद्वार बनाउन 'ब्याक' भएको उनी निकट नेताको दाबी रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell