
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन कमिटीका अनुसार राष्ट्रिय सभागृहमा भएको मतगणनामा शेखर कोइरालालाई ८७८ मतान्तरले पछि पार्दै देउवा सभापतिमा निर्वाचित भएका हुन्।
मंगलवार भएको दोस्रो चरणको निर्वाचनमा कुल ४ हजार ६२३ मत खसेको थियो। जसमध्ये देउवाले २ हजार ७३३ मत ल्याउँदै निर्वाचित भएका हुन्।शेखर कोइरालाले १ हजार ८५५ मत प्राप्त गरे। यस्तै, ३५ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।
सोमवार भएको पहिलो चरणको निर्वाचनमा देउवाले २ हजार २५८ मत पाएका थिए। विधानको व्यवस्था अनुसार ५० प्रतिशत कटाउन उनलाई ८३ मत पुगेको थिएन। पहिलो चरणमा कोइरालाले १ हजार ७२९ मत ल्याएका थिए।
दोस्रोचरणको निर्वाचनमा देउवाको पक्षमा ४७५ मत बढी खसेको हो। यस्तै, कोइरालाले दोस्रो राउन्डमा १२६ मत बढाए।