PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गगन थापाले सुनाए 'ओलीवेशन' र महाधिवेशन बिचको अन्तर, पार्टीमा संघर्ष र सहकार्य गर्ने उद्घोष



पहिलोपोस्ट

गगन थापाले सुनाए 'ओलीवेशन' र महाधिवेशन बिचको अन्तर, पार्टीमा संघर्ष र सहकार्य गर्ने उद्घोष
File Photo

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सभापति पदमा पराजित डा शेखर कोइराला र उनीसँग रहेको टिमले पार्टीमा जित निकालेका शेरबहादुर देउवासँग सहकार्य र संघर्षको सम्बन्ध रहने बताएका छन्।

नेपाली कांग्रेसको महाधिवेशनमा डा शेखर कोइरालाको प्यानलबाट महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले पार्टीलाई अग्लो र फराकिलो बनाउनका लागि शेखर कोइराला र आफ्नो समूह सक्रिय रहने बताए।

'सहकार्य र संघर्षका रुपमा सम्बन्ध हुन्छ। जहाँ राम्रो हुन्छ सहकार्य हुन्छ। जहाँ घात हुन्छ त्यहाँ प्रतिकार हुन्छ,' थापाले भने। 

शेखर कोइराला पराजित भएपछि आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै गगन थापाले सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई दिए। उनले शेखर कोइरालालाई 'कोइराला' परिवारको भन्दै व्याख्या हुने गरेकोमा प्रतिवाद गरे। उनले प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग प्रश्न गरिरहने पनि बताए।

'मध्य रातिसम्म नेतृत्व परिवर्तन नभए कांग्रेस सकिन्छ भन्नुभयो। बिहान के कुराले प्रभाव पार्‍यो उहाँहरुले त्यही नेतृत्व नभए कांग्रेस समाप्त हुन्छ भन्नुभयो,' थापाले प्रश्न गरे, 'त्यसको कारण के हो?' 

'सच्चिनुपर्छ देउवा'

नेपाली कांग्रेसको सभापति गुटको सभापति होइन सबैको सभापति बन्नुपर्ने उनले बताए। मत परिणाम आइसकेपछि पार्टीमा गुट रहन नहुने उनले बताए। पार्टी सभापतिले बालुवाटार, बुढानीलकण्ठ र पार्टी कार्यालयमा गुटको बैठक राख्दिन भन्नुपर्ने उनको भनाइ थियो। यसअघि पार्टी सभापतिले हाकाहाकी गुट चलाएको आरोप पनि उनले लगाए। 

आगामी निर्वाचनमा १० देखि १२ लाख कांग्रेसका मतदाता थपिनुपर्ने बताउँदै उनले यो समूह त्यसका लागि सक्रिय हुने प्रतिवद्धता जाहेर गरे। पार्टी सभापतिलाई हितमा सहकार्य गर्दै पार्टी चुक्ने ठाउँमा त्यसलाई रोक्नेछौं,' उनले भने।

४० प्रतिशत मत पाएको आधारमा पार्टीमा शेखर कोइरालाले विधिका लागि लड्ने उनले बताए। गगन थापाले अघिल्लो र यस महाधिवेशन दुवैमा शेरबहादुर देउवालाई मत नदिएको खुलासा गरे। 'दुवै अधिवेशनमा मैले शेरबहादुर देउवालाई मत हालिन। हामी दुवैमा हार्‍यौं,' उनले भने, 'अब जित हासिल गरेर आउनु भयो। उहाँ हामी सबैको सभापति हो अब। उहाँलाई सफलताको शुभकामना छ।'

महाधिवेशन र ओलीवेशनबिच देख्नुभयो अन्तर?

दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति कोटमाथि ओभरकोट थपेर एकएक मतदातासँग हात जोड्दै पुगेको स्मरण गरे गगनले। 'उहाँले सेल्फी खिच्नुभयो। एकएक मतदातालाई चिसोमा हात जोड्नुभयो। म त्यहीँ आडमा थिएँ। दोस्रो चरणमा चिप्लिने हो कि भन्ने डर रहेछ उहाँमा,' देउवाप्रति कटाक्ष गर्दै गगनले भने, 'मैले सम्झिएँ यस्तै अधिवेशन नारायणीको किनारामा पनि भएको थियो। त्यहाँ होटलमा पार्टी अध्यक्ष बस्नु भयो। पकेटबाट चिट निकालेर सुनाइदिनुभयो। तर कांग्रेसको महाधिवेशनमा बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनु पर्‍यो। हात जोड्न पर्‍यो। अधिवेशन र ओलीवेशनको अन्तर यही हो।' 

सम्बन्धित समाचार : बुढो प्रधानमन्त्री ५ घण्टासम्म उभिएर मत मागेको देख्दा स्ववियु चुनाव जस्तो लाग्यो, उहाँमा कतै न कतै डर छ : गगन थापा

कांग्रेसले यही अभ्यास गर्न खोजेको दाबी गगनको थियो। उनले नेकपा एमालेको महाधिवेशनलाई ओलीवेशन भनेपछि चर्को आलोचना खेपका थिए। त्यसको जवाफ फर्काउँदै उनले दुई महाधिवेशनको तुलना गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell