PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कांग्रेसी बिच दिनभर तनाव, झडप र कुटाकुट : प्रदेश २ को मतदान भोलि बिहानसम्म स्थगित, नाराबाजी जारी



सुमित मिश्र

कांग्रेसी बिच दिनभर तनाव, झडप र कुटाकुट : प्रदेश २ को मतदान भोलि बिहानसम्म स्थगित, नाराबाजी जारी
वार्तापछि बाहिरिँदै कृष्ण यादव।

जनकपुरधाम : प्रदेश २ को कांग्रेस अधिवेशन अन्तर्गतको निर्वाचन स्थगित भएको छ। जनकपुरमा जारी प्रदेश अधिवेशनमा दुई पक्षबिच झडप भएपछि निर्वाचन सुरु नहुँदै स्थगित हुन पुगेको हो। धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले प्रदेश सभापतिका उम्मेदवार बिच छलफल गराएपछि भोलि बिहान ८ बजेसम्मका लागि मतदान स्थगित गरिएको हो।

प्रदेशको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रेका कृष्ण यादवलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ। संस्थापन पक्षबाट उम्मेदवार बनेका यादवविरुद्ध विमलेन्द्र निधि र शेखर कोइरालाले संयुक्त उम्मेदवार खडा गरेका छन्। निधि र शेखरको समूहबाट प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री रामसरोज यादव प्रतिस्पर्धामा छन्। 

बिहानैदेखि मतदान हुने भनिए पनि दिउँसो ढल्नै लाग्दा समेत सुरु भएको थिएन। राति मतदान गर्न नहुने भन्दै नाराबाजी गर्दै निधि पक्षधरका नेता तथा कार्यकर्ता उत्रिएपछि त्यसको प्रतिकारमा देउवा पक्षधर नेता कार्यकर्ता पनि जसरी पनि मतदान हुनुपर्ने भन्दै उत्रिए। त्यसपछि जनकपुरमा कांग्रेसी बिच झडप भयो।

कुर्सी हानाहान हुँदा सुरक्षाका लागि खटिएका प्रहरी निरीह देखिएका थिए। झडप र नाराबाजी लामो समयसम्म चलिरह्यो। 

झडप र नाराबाजी जारी रहेपछि प्रहरीले दुवै पक्षका नेताहरुलाई वार्तामा बसाएको थियो। वार्तामा दुवै पक्षबिच भोलि बिहान ८ बजेसम्मका लागि मतदानको कार्यक्रम स्थगित गर्ने सहमति भएको छ। वार्ताबाट प्रदेशसभाका सभापतिका उम्मेदवार द्वय कृष्ण यादव र रामसरोज यादव बाहिरिएका छन्। उनीहरुले भोलिसम्मका लागि मतदानको प्रकृया रोकिएको जानकारी दिए। उनीहरु बाहिरिए पनि नाराबाजी लाग्नेक्रम भने थामिएको छैन।

कांग्रेस अधिवेशनस्थल बन्यो रणभूमि : जनकपुरमा शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्षधर नेता कार्यकर्ताबिच कुटाकुट

कुटाकुट उन्मुख कांग्रेस अधिवेशनका दृश्यहरु : देउवा र निधिबिच केन्द्रमा अंकमाल, प्रदेशमा मु्क्कमु्क्की



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell