
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको छ। मंसिर २४ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनले १३ पदाधिकारीसहित १३४ जना केन्द्रीय समिति निर्वाचित गरेको छ।
केन्द्रीय समितिको सभापतिमा शेरबहादुर देउवा पुन: दोहोरिएका छन्। पहिलो राउन्डमा पाँच जना प्रतिस्पर्धी बिच निर्वाचन भएको थियो। पहिल चरणमा देउवाले २ हजार २५८ मत पाए पनि जितका लागि पर्याप्त भएन। उनलाई विधानको व्यवस्था अनुसार ५० प्रतिशत कटाउन ८३ मत पुगेन।
देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ बिच भएको प्रतिस्पर्धामा कसैले ५१ प्रतिशत कटाउन नसकेपछि २८ गते पुन: सभापतिका लागि मतदान भएको थियो। त्यसबेला सभापतिका प्रतिस्पर्धी प्रकाशमान, विमलेन्द्र र कल्याणले देउवालाई साथ दिए।
दोस्रोपटकको भिडन्तमा देउवा २ हजार ७३३ मत ल्याएर निर्वाचित भए। डा शेखरले १ हजार ८५५ मत पाए।
१४ औं महाधिवेशनमा नेपाली कांग्रेसका तीन जोडी चर्चामा रहे।
प्रधानमन्त्री देउवा र आरजु
प्रधानमन्त्री देउवासँगै उनकी श्रीमती डाआरजु राणा देउवा पनि चर्चामा रहिन्। देउवालाई मत माग्दै आरजु देउडा खेल्दै गरेको देखिइन्। कांग्रेस निर्वाचनमा यसपटक प्रधानमन्त्री देउवासँगै उनकी पत्नी आरजु देउवा पनि केन्द्रीय समितिमा निर्वाचित भएकी छिन्। देउवा सभापतिमा निर्वाचित हुँदा आरजु महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भइन्। ९ जना महिलामा आरजुले तेस्रो पपुलर मत पाएर केन्द्रीय समितिको सिट सुरक्षित गरेकी हुन्।
गृहमन्त्री खाण र मञ्जु
गृहमन्त्री बालकृष्ण खाणलाई यसपटक महामन्त्रीका बलिया दाबेदारका रुपमा हेरिएको थियो। यद्यपि, उनले महामन्त्रीको टिकट पाउन सकेनन्। त्यसपछि केन्द्रीय सदस्यमै चित्त बुझाएर त्यसैमा उम्मेद्वारी दिए। ३५ खुल्ला केन्द्रीय सदस्यमा गृहमन्त्री खाण तेस्रो बनेर निर्वाचित भए। उनले २ हजार ८७९ मत पाए।
खाण पत्नी मञ्जु पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन्। खस आर्य महिलातर्फ पहिलो नम्बरमा पर्दै उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। उनले २ हजार १८१ मत पाएकी छिन्।
मधु केन्द्रीय समितिमा उक्लिँदा कमला आउट
यसपटक काभ्रेमा जिल्ला राजनीतिमा सक्रिय मधु आचार्य केन्द्रीय समितिमा निर्वाचित भए। खस आर्य खुल्लातर्फ आचार्य केन्द्रीय समितिमा अटाएका हुन्। ७ सिटमा उनीमात्र संस्थापन इतरबाट निर्वाचित केन्द्रीय सदस्य हुन्।
उनी केन्द्रीय समितिमा निर्वाचित हुँदै गर्दा उनकी पत्नी कमला पन्त आचार्य भने कार्य समितिमा अटिनन्। डा शेखर प्यानलबाट सह महामन्त्रीमा उम्मेद्वारी दिएकी उनी महालक्ष्मी उपाध्याय डिनासँग पराजित भइन्। डिनाले २ हजार ५३३ मत पाउँदा कमलाले २ हजार १०५ मत पाएकी थिइन्।
खुमबहादुरकी पत्नी पनि केन्द्रीय सदस्य
१४ औं महाधिवेशनबाट दिवंगत नेता खुमबहादुर खड्काकी पत्नी शीला शर्मा खड्का पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन्। खुमबहादुरको निधनपछि उनलाई सभापति देउवाले अघिल्लो कार्यकालमा केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।
शीला भुगोल अन्तर्गत लुम्बिनीबाट महिला क्लस्टरुमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्। उनले २ हजार ६७३ मत पाउँदा उनकी प्रतिस्पर्धी रीता सेनले १ हजार ४६३ मत प्राप्त गरेकी छिन्।