PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस अब सिटौला उभिएको ठाउँमै रहन्छ? कांग्रेसमा उनको भूमिका के?



नेत्र तामाङ

कांग्रेस अब सिटौला उभिएको ठाउँमै रहन्छ? कांग्रेसमा उनको भूमिका के?

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा जब महामन्त्रीको विजेता घोषणा गरियो - तब धेरैले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको राजनीतिक भविष्यमाथि प्रश्न गर्न थाले। सिटौलाले आफ्नो भनेर उभ्याएको महामन्त्रीका उम्मेद्वार प्रदीप पौडेल पराजित भएसँगै कांग्रेसमा उनको भूमिका कमजोर बन्दै गएको टीका-टिप्पणी सुरु भए।

१३औं महाधिवेशनमा सिटौला गुटबाट महामन्त्रीका उम्मेद्वार बनेका गगन थापा उनीसँग अडिएनन्। गुट फेरेरै पनि जित निकाले गगनले। यता जिल्ला राजनीतिमा सिटौलाका प्रतिद्वन्द्वी मानिएका विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भए। गुट छाडेका गगन र परिचित प्रतिद्वन्द्वी विश्वप्रकाशले आफ्नो गुटका प्रदीपलाई हराएका कारण पनि हुन सक्छ सिटौलाको राजनीतिक भविष्यमाथि प्रश्न र टिप्पणी छेडिएको।

सिटौलामाथि प्रहार गरिएका टिप्पणी संस्थापन इतरको रोष पनि हुनसक्छ। किनकि १३औं महाधिवेशनमा सिटौलाले देउवालाई साथ दिएका थिए। जसकारण वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति बन्नबाट रोकिए। यसपटक पनि सिटौलाले देउवालाई नै साथ दिए। अनि पौडेलले अगुवाइ गर्दै आएको संस्थापन इतर त तितरबितर नै बन्यो। यद्यपि, संस्थापन इतरमै अटाएका गगन भने महामन्त्रीमा सार्वधिक मत पाउँदै निर्वाचित बने।

महाधिवेशन अघि मंसिर २३ गते सिटौला र गगनले कार्यक्रमको समय जुधाएका थिए।

त्यतिबेला प्रज्ञा भवनबाट गगन आफूलाई कांग्रेस सुधार्ने जिम्मा दिन आग्रह गर्दै थिए भने गौशालाबाट सिटौला आफूलाई छाड्नेलाई साथ दिइराख्न नसकिने भन्दै चेतावनी दिँदै थिए। प्रदीपलाई साथै राखेर सिटौलाले भनेका थिए -म जहाँ उभिन्छु, कांग्रेस त्यहीँ रहन्छ। अनि सिटौलाले आफ्नो साथ नछाड्नेलाई स्थापित गरेरै छाड्ने आश्वासन समेत दिएका थिए।

'जो साथीले मलाई निरन्तर साथ दिएको छ। त्यसलाई म छोड्न सक्दिनँ। फेरि पनि स्पष्ट पार्न चाहन्छु। अभावमा संकटमा र जोखिममा जो मेरो साथमा अहिलेसम्म छ र भोलिसम्म रहन्छ भन्ने मेरो विश्वास हो। त्यसलाई म छोड्न सक्दिनँ,' सिटौलाको भनाई थियो।

कतिपयले सिटौलाको भनाईमाथि खण्डन पनि गरे। म जहाँ उभिन्छु, कांग्रेस त्यहीँ रहन्छ भन्नु खेदजनक भएको नेताहरुको भनाई थियो। उनीहरुले 'जहाँ कांग्रेस, त्यहाँ सिटौला' भन्ने वाक्य प्रयोग गर्नसमेत सुझाएका थिए।

सिटौलाको आश अब उमाकान्त र कुन्दन

महामन्त्रीको मत परिणाम निराशाजनक आउनसाथ सिटौलाको भविष्यलाई लिएर टिप्पणी गर्नु छिटो हुने तर्क गरिरहेका थिए, केही नेताहरुले। किनकि सिटौलाले देउवासँग 'टिमअप' गर्दा सहमहामन्त्रीमा खानेपानी मन्त्री समेत रहेका उमाकान्त चौधरी र केन्द्रीय सदस्यमा कुन्दनराज काफ्ले पनि उम्मेद्वार थिए।

महामन्त्रीको मतपरिणाम आइसकेपछि आफ्नो समूहमाथि लगातार टिप्पणी चलिरहँदा पनि उनी र उनको समूह गुपचुप नै रह्यो। जब सहमहामन्त्रीको परिणाम आयो र उमाकान्त चौधरीको खातामा जित दर्ज भयो, त्यसपछि सिटौला समूहका नेताहरु केही उत्साहित देखिए। सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानमा उमाकान्तको चर्चा चल्यो। त्यसपछि कुन्दनको जितले त्यो उत्साहमा थप 'चारचाँद' लगायो।

आठ बुँदेमार्फत् सिटौला पक्षधरको चेतावनी

सामाजिक सञ्जालमा अहिले सिटौला पक्षधरले उनको योगदानलाई ८ बुँदा बनाएर प्रचार गर्न थालिसकेका छन्। सिटौलालाई उनीहरुले राजाको श्रीपेच खोस्नेदेखि माओवादीको हतियार खोस्ने 'महान नेता'का रुपमा प्रचार गर्न थालेका छन्।

१  मुलुकमा शान्ति प्रक्रियाको सुरुवात गर्ने र टुंगोमा पुर्‍याउने।

२ माओवादी द्वन्द्वको चपेटाबाट मुलुकलाई नयाँ दिशा दिने।

३  मुलुकमा गणतन्त्रको घोषणा गर्न लगाउने।

४ राजाको श्रीपेच खोसेर गणतन्त्रको वातावारण बनाउने।

५ माओवादीबाट हतियार खोसी क्यान्टोनमेन्टमा राख्न वातावरण बनाउने।

६ सबै जातजाति, भाषाभाषी र समुदायको अधिकार समेटिएको संबिधान मस्यौदा गर्ने र जारी गर्ने।

७ वैदेशिक शक्तिको दबाब र आदेश नमानी संबिधान जारी गर्ने निर्णय गर्ने।

८  काङ्ग्रेसको झन्डाभित्रको एउटा तारा (धार्मिक स्वतन्त्रता) को अक्षरस पालना गर्न लगाउने।

जसले सिटौलाको 'इमेज बिल्डिङ'मा मेहनत गरिरहेका छन् उनीहरुले भनेका छन् - उहाँविरुद्ध भएका टीका-टिप्पणी हामीले नजिकबाट नियालिरहेका छौं।

'यति धेरै महत्त्वपूर्ण उपलब्धि देशका निम्ति गर्ने एउटा असली हकदार हुन् कृष्णप्रसाद सिटौला। केही दिनदेखि सामाजिक सञ्जालमा यिनै नेतामाथि तल्लो स्तरका शब्द जिम्मेवार नेताको सचिवालयमा बस्नेहरुबाट सम्प्रेषित भइरहेका छन् जुन हामीले नजिकबाट नियालिरहेका छौं,' उक्त प्रचार सन्देशमा भनिएको छ, 'अधिवेशनमा कोही कसैलाई सहयोग गरेको, उम्मेदवार बनाएको विषयसँग जोडेर घृणित र अपमानजनक गतिविधि अमान्य छ। हरेक नेता र आसेपासेको काला कर्तुत जानकारी छ। हामीलाई पनि भन्डाफोर गर्ने परिस्थिति नबनोस्।'

सिटौला समूहका नेताहरु राजनीतिमा जित हार चलिरहने भएकाले सामाजिक सञ्जालमा जथाभावी रुपमा उत्रनु ठिक नहुने बताउँछन्। १३औं महाधिवेशनमा कुनै पदमा निर्वाचित हुन नसकेको सिटौला समूहले यसपटक देउवासँग साझेदारी गरेर सहमहामन्त्री र केन्द्रीय सदस्यमा जित निकालेको छ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिना त्यसैलाई आधार मानेर सिटौला समूह थप बलियो बनेको तर्क गर्छन्।

'राजनीतिमा जित हार त भाइरहन्छ नै,'  तिमल्सिनाको प्रश्न छ, '१३औं महाधिवेशनमा पनि त हामीले कुनै पद जितेनौं नि। तर, के सिटौला सकिए त?'

यसपटक जित्ने अवस्था नरहेकाले अलायन्स गर्नु सिटौलाको बाध्यता भएको उनको भनाई थियो।

'हामी जित्ने अवस्थामा थिएनौं। त्यसैले अलायन्स त गर्नैपर्‍यो,' तिमल्सिनाले भने।

साथै उनले गगन र विश्वप्रकाशका सन्दर्भ जोडिएर आएका विषय 'गलत' रहेको दावी गरे।

'गगन र विश्वप्रकाशलाई रोक्नका लागि सिटौलाको चाल' भन्नु 'बकवास' भएको उनको दावी छ।

'गगन र विश्वप्रकाश रोक्न भनेर जुन किसिमको हल्ला फैलाइएको छ, त्यो बकवास हो,' उनले भने, 'शेखर कोइराला पक्षले सिटौला समूहलाई छिन्नभिन्न पार्ने चाल चालेको थियो। गगनले सिटौलालाई पनि समेट्नुपर्छ भन्दा पनि उनीहरुले ध्यानै दिएनन्।'

गणतन्त्र तथा धर्म निरपेक्षताको विरोधी सिटौलाको विरोधमा चलमलाएको उनको भनाई थियो। '२०७४ सालदेखि राजावादीदेखि कम्युनिस्ट सबै सिटौलाविरुद्ध लागेका छन्। व्यवस्था विरोधी सिटौलाविरुद्ध लागिरहेका छन्,' तिमल्सिनाले भने।

अब सिटौलाको स्थान पार्टीमा के त?

यस पटकको अधिवेशनमा सिटौलालाई देउवाले उपसभापति 'अफर' गरेका थिए। तर, सिटौलाले कुनै पदमा उम्मेद्वारी दिएनन्। प्रदेश १ मा प्रदेश अधिवेशनको कमान्डर बनेर खटेका उनले संस्थापन पक्षका उद्धव थापालाई सभापतिमा जिताए। यसैगरी वाग्मती प्रदेशमा पनि भीमसेनदास प्रधानमार्फत् इन्द्र बानियाँलाई प्रदेश सभापतिमा जिताउन भूमिका निर्वाह गरे।

कुनै बेला गिरिजाप्रसाद कोइरालाले राजनीति 'डेब्यू' गराएका सिटौला अहिले देउवाको भरोसाका पात्र बनेका छन्। सिटौलाकै सहयोगले दुईदुई पटक देउवाले सभापतिमा जित निकाले। सोझो हिसाबमा जसले पनि भन्छ - देउवाले सिटौलालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने छन्। यसका अलावा विशेष भूमिकामा समेत राख्ने तयारी देउवा पक्षले गरेको बताइन्छ। त्यसैले पनि कांग्रेसमा उनको भूमिका सकिने विषयमा सोच्नै नसकिने देउवा पक्षकै नेताहरु बताउँछन्।

सिटौलामा केही क्षमता भएरै देउवाले नछाडेको तिमल्सिनाको दाबी छ। 'देउवाले पनि त सिटौलालाई छाड्नु भएको छैन। केही क्षमता देखेर नै होला नि साथ खोजेको,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell