PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ए डिभिजन लिगमा आज महाभिडन्त : उपाधि भन्दा पहिला एएफसी कपका लागि मछिन्द्र र मनाङको होड



मुकुन्द घिमिरे

ए डिभिजन लिगमा आज महाभिडन्त : उपाधि भन्दा पहिला एएफसी कपका लागि मछिन्द्र र मनाङको होड

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा उपाधि दावेदारका रुपमा हेरिएका टोली मध्येका हुन् मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लब। मछिन्द्र क्लब लिगको साविक विजेता टोली हो भने मनाङ ए डिभिजन लिगको सर्वाधिक सफल टिम।

अघिल्लो सिजन मनाङ मर्स्याङदी क्लबबाट धेरै जना स्टार खेलाडीहरु भित्र्याएर पहिलो पटक लिग जितेको मछिन्द्र क्लबमा अहिले पनि स्टार खेलाडीहरुको कमी छैन। लिगमा गोलको कमी भइरहँदा ए डिभिजन लिगकै एक टिमका प्रशिक्षकले मछिन्द्र क्लबमाथि व्यंग्य गरे: कतै अरु टोलीले फर्वाड नपाउन भनेर त त्यत्रो स्ट्राइकर स्टक गरेको होइन?

उनको व्यंग्य जायज छ। कारण- मछिन्द्रको फर्वाडमा राष्ट्रिय टोलीका स्टार खेलाडीहरु विमल घर्तीमगर, मनिष डाँगी, अभिशेक रिजाललगायतका खेलाडी छन्। त्यसमा पनि नुर्लान नोभरुजोभ विदेशी खेलाडीका रुपमा फर्वाड सम्हालिरहेका छन्। त्यतिकै राष्ट्रिय टोलीका खेलाडीले भरिएको सशक्त मिडफिल्ड र डिफेन्स लाइन भए पनि मछिन्द्रले सोचे अनुरुपको नतिजा भने निकाल्ने सकेको छैन। भलै शीर्षस्थानमा मनाङसँग अघिपछि रहिरहेको छ।

अर्कोतर्फ मनाङको टिम पनि त्यतिकै बलियो छ। फर्वाडमा राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी अन्जन विष्ट लगायत नेपाली फुटबलमा राम्रो पहिचान बनाएका ओलावाले अफिज, एडिलेजा सोमिडे लगायतका खेलाडी मनाङमा छन्। त्यस्तै डिफेन्समा दिनेश राजबंशी, आदित्य चौधरी तथा मिडफिल्डमा पुजन उपरकोटी, दयानन्द सिंह लगायतको उपस्थितिले मनाङको टिम कम्बिनेसन राम्रो छ। त्यसमा पनि लामो समय नेपालमा बिताएका मनाङका नाइजेरियन प्रशिक्षक टोफे फुजा फुटबलको कुशल रणनीतिकार मानिन्छन्। यद्यपि जारी लिगमा मनाङले फराकिलो अन्तरले भने जित निकाल्न संघर्ष गरिरहेको तथ्यांक छ।

दुवै टोली लिग जित्ने होडमा छन्। यद्यपि दुवै टोलीको त्यो भन्दा अघिको लक्ष्य एएफसी कपको छनोटमा स्थान बनाउने रहेको छ। छैठौं चरणको खेल आज खेलिरहँदा सातौ चरणको समाप्तिमा शीर्षस्थानमा रहने टोलीले नेपालबाट एएफसी कपको छनोटका लागि सहभागिता जनाउने अखिल नेपाल फुटबल संघ एन्फाल स्पष्ट पारिसकेको छ। त्यसका लागि क्लबहरुलाई एएफसी लाइसेन्स अनिवार्य रहेको छ। नेपालमा एएफसी लाइसेन्स प्राप्त चारवटा क्लबहरु छन् जसमध्ये त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब, एपीएफ फुटबल क्लब र मछिन्द्र क्लब रहेका छन्। यी मध्ये मनाङ र मछिन्द्र क्लब शीर्ष दुईमा छन् भने तेस्रो स्थानमा रहेको आर्मीको पनि समीकरण कायम छ। रेलिगेशन जोनबाट भर्खरैमाथि उठेको एपीएफ भने यो प्रतिस्पर्धाबाट धेरै पछाडि छ।

पाँचौ चरण सकिँदा मनाङ मछिन्द्र भन्दा दुई अंकले अघि रहेको छ।

मनाङले ५ खेल खेलेर ४ जित र १ बराबरी खेलेर १३ अंक जोडेको छ। त्यस्तै मछिन्द्र क्लबले जारी सिजनमा ३ जित र दुई बराबरी खेल्दै ११ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। मनाङले आजको खेल जितेको खण्डमा एएफसी कप छनोटका लागि स्थान पक्का गर्ने छ भने मछिन्द्रले जितेको खण्डमा सातौ चरणको नतिजामा निर्भर रहने छ। खेल बराबरीमा रोकिएको खण्डमा नतिजाका लागि सातौं चरण त कुर्नु पर्नेछ नै समीकरण त्रिभुवन आर्मी क्लब पनि अघि देखिनेछ।

मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले आफूहरुलाई जित्नुपर्ने दवाब रहेको बताए।

'जित्नै पर्ने दवाब छ। अस्ति ड्र गरेका कारण जित्नै पर्ने दवाब भयो। तर मौका अझै छ,' उनले भने, 'हामीसँग बेस्ट प्लेयर त छन् तर इन्ज्युरीले सताएको छ।

पछिल्लो खेलबारे विश्लेषण गर्दै कप्तान सुजल श्रेष्ठ र महत्वपूर्ण खेलाडी रजिन धिमाल  नहुँदा टीममा तालमेल मिलाउन कठीन भएको प्रतिकृया दिए। मनाङसँगको खेलमा भने यी दुबै खेलाडीले खेल्ने उनले बताए।

लिग अझ जितेर माथि जाने अवसर रहेको उनले बताए।

'लिग हो अझै जितेर पनि मौका छ भन्ने हो। बाहिर पनि लङ रेसमा कमब्याक हुन्थ्यो। डबल लिग हुने थियो भने तनाब हुन्थेन,' उनले भने, 'अबको खेल जित्नै पर्ने दवाब छ।'

उता मनाङका प्रशिक्षक टोफे फुजाले मछिन्द्रसँग राम्रो म्याचहुने विश्वास व्यक्त गरे।

'राम्रो म्याच हुनेछ। प्रेसर दुबैतर्फ छ जितका लागि। हामी सबै टिमलाई सम्मान गर्छौं,' फुजाले भने, 'हामीले सुधार गर्दै आएका छौं।  हामी कुनै पनि अंक छाड्नेमा छैनौं।'

मछिन्द्र र मनाङ साँझ पौने पाँच बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।

अघिल्लो सिजनको त्यो लफडा

शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत २०७६ को पुष २१ गते मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच थियो। खेलमा दुवै टिमको दमदार प्रस्तुति थियो।

एक अर्काविरुद्ध जित निकाल्ने दाउमा दुवै टिमले निकै आक्रमक खेल प्रस्तुत गरेका थिए। फुटबलमा आक्रमक खेललाई नै रोमाञ्चक मान्छन् दर्शकहरु। ९० मिनेट र थप गरिएको समय सकिँदा २-२ को नतिजा निस्कियो। कुनै टिमले पनि जित दावी गर्न सकेनन् र अंक बाँडियो।

तर जसै रेफ्रीले खेल सकिएको अन्तिम सिट्ठी बजाए तब त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको माहौल एकाएक परिवर्तन भयो। खेलाडीहरुबीच धकेलाधकेल हुन थाल्यो। मनाङका जगजित श्रेष्ठ र मछिन्द्रका दीपक राईबीच भनाभन भएपछि विवाद सुरु भएको थियो। बेन्चमा बसेका खेलाडीहरु झगडाबाट आफ्ना खेलाडीलाई टाढा राख्न मैदानभित्र पस्न थाले। तर खेलाडीहरु शान्त हुने अवस्थामा आएनन्।

अवस्था साम्य पार्न केही प्रहरी पनि मैदानमा उत्रिए। रेफ्री र अफिसियलहरु मैदानमा पस्दा ठूलै भीडभाड देखिएको थियो।

झगडामा उत्रने खेलाडीलाई एन्फाको अनुशासन समितिले कारवाही समेत गरेको थियो।

यो पनि: झगडा साम्य पार्न गएका मछिन्द्रका देवेन्द्रमाथि कुट्पिट पनि, कारवाही पनि, 'हात हाल्ने विदेशी खेलाडीलाई चाँहि छुट्?'

जारी सिजन मनाङको नतिजा

मनाङ भर्सेस जावलाखेल १-० (जित)

मनाङ भर्सेस हिमालयन शेर्पा १-० (जित)

मनाङ भर्सेस संकटा २-२ (बराबरी)

मनाङ भर्सेस फ्रेन्ड्स २-० (जित)

मनाङ भर्सेस नेपाल पुलिस ३-१ (जित)

जारी सिजन मछिन्द्रको नतिजा

मछिन्द्र भर्सेस न्युरोड २-१ (जित)

मछिन्द्र भर्सेस  ०-०(बराबरी)

मछिन्द्र भर्सेस जावलाखेल २-०(जित)

मछिन्द्र भर्सेस हिमालयन शेर्पा क्लब ३-० (जित)

मछिन्द्र भर्सेस संकटा ०-० (बराबरी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell