PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

झगडा साम्य पार्न गएका मछिन्द्रका देवेन्द्रमाथि कुट्पिट पनि, कारवाही पनि, 'हात हाल्ने विदेशी खेलाडीलाई चाँहि छुट्?'



मुकुन्द घिमिरे

झगडा साम्य पार्न गएका मछिन्द्रका देवेन्द्रमाथि कुट्पिट पनि, कारवाही पनि, 'हात हाल्ने विदेशी खेलाडीलाई चाँहि छुट्?'

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगका दुई क्लब मछिन्द्र र मनाङ मर्स्याङदीका खेलाडीहरुबीच पुस २१ गते खेल सकिएलगत्तै झगडा पर्‍यो। यो विषयले चर्चा पनि राम्रै पायो। तर, चर्चा नकारात्मक थियो। यो घटनालाई अध्ययन गरेर आवश्यक कारवाही गर्ने जिम्मा अखिल नेपाल फुटबल संघ(एन्फा)को अनुशासन समितिले लियो।

र, पुस २४ गते समितिले कारवाहीको निर्णय गर्‍यो। एन्फाले खेलाडीलाई अनुशासनमा राख्न नसकेको भन्दै मछिन्द्र र मनाङलाई समान ५०-५० हजार रुपैयाँ जरीवाना तिराउने र दुबै क्लबका खेलाडीलाई उनीहरुको व्यवहारअनुसार कारवाही गर्ने निर्णय गर्‍यो। निर्णयअनुसार मनाङका जगजित श्रेष्ठ, अशोक बराल र रञ्जन विष्ट कारवाहीमा परे भने मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल।

कारवाहीले लिगमै नयाँ मोड लियो। दुवै लिगको शीर्षतामा जुधिरहेका टिमको मुख्य खेलाडी कारवाही पर्दाका असर शनिवार सम्पन्न छैटौं चरणको खेलमा स्पस्ट देखिएको थियो।

निलम्बनमा परेसँगै मनाङका खेलाडी जगजीत श्रेष्ठले आफ्नो गल्ती नभएको आशयमा फेसबुक स्टाटसमार्फत आफूमाथि एन्फाको पूर्वाग्रह साँधेको आरोपसमेत लगाउन भ्याए।

'त्यो अन्तिम समयको कर्नर, त्यस्तो ठुलो खेलमा, आफ्नो डि बक्सभित्र कसरी डिफेन्ड गर्ने त?  मैले त विपक्षीलाई डि बक्स बाहिर ठेलेको हुँ, जुन मैले आफ्नो टिमको लागि गर्नै पर्थ्यो, अनी बल्ल खेलको अन्तिम सिठी बज्यो। ठिकै छ त्यसपछि त म फर्के त सरासर। पछि अरु खेलाडीहरु आए झगडा गरे, यस्मा मेरो क दोष?' श्रेष्ठ अगाडि लेख्छन्, 'म वर्तमान एन्फाका कोही मान्छेसँग बोल्दिनँ, मलाई उनीहरुले मन पराउदैनन र त्यो भन्दा दश गुणा बढी म उनीहरुलाई मन पराउदिनँ। मलाई प्रतिबन्ध भएको कुरामा दुखभन्दा बढी मलाई मछिन्द्रसँग हामी नहारेको कुराको गर्व छ।'

श्रेष्ठले पछिल्लो समय समस्याहरुका बावजुद मनाङ मर्स्याङदी क्लबलाई सहयोग गर्न पाउँदा खुशी रहेको लेखेका छन्।

उनीमात्र होइनन्, मछिन्द्रका कप्तान विराज महर्जन पनि एन्फाको कारवाहीबाट असन्तुष्ट देखिए।

'जो मान्छेले हातपात गरेको छ, उसलाई पो कारवाही गर्नुपर्छ त। झगडाको बेला त जो पनि एग्रेसिभ हुन्छ तर हाम्रो साथीहरु त कसैले पनि हात लगाएको थिएन नि?' महर्जनले उल्टै प्रश्न तेर्साए।

उनले हातै नहालेका खेलाडीलाई समेत कारवाही गरिएकाले टिममा नकारात्मक असर परेको बताए।

'हातै नलगाएको खेलाडीलाई १०/१० हजार जरिवाना अनि क्लबलाई पनि जरिवाना त्यसमाथि खेल्नै नमिल्ने गरिको निलम्बनले त गर्न भएन नि। त्यो हिसाबले यत्रो लगानी गरेको क्लबलाई त धेरै घाटा भयो नि। अगाडिका खेल हामीलाई एकदमै महत्वपूर्ण छन्। जित आवश्यक छ हाम्रो लागि। अब हाम्रो २ जना महत्वपूर्ण खेलाडीहरु नहुने बित्तिकै त क्लबले त्यत्रो लगानी गरेको छ। त्यसमा पनि असर गर्छ नि,' उनले गुनासो पोखे।

जावलाखेलसँगको म्याचअघिको कुराकानीमा पनि उनले म्याच जित्नै पर्ने अवस्थामा आफूहरु रहेकाले त्यस्तो अवस्थामा मुख्य दुई खेलाडी नहुनु भनेको अति नै कठिन अवस्था हुने बताए।

उनले भने जस्तै मछिन्द्रको खेलको स्पिरिटमा असर परेको जावलाखेलका प्रशिक्षक नरेश थापाले अनुभव गरेका रहेछन्। मछिन्द्रसँगको पराजयपछि मुख्य खेलाडी निलम्बनको असर देखिए पनि आफूहरुले फाइदा उठाउन नसकेको उनले बताए।

'प्रतिद्वन्द्वी बलियो थियो। तर मुख्य दुई खेलाडीमा लागेको निलम्बनको असर चाहीँ देखिएको थियो। दोस्रो हाफमा उनीहरुलाई गाह्रो भएको थियो। सब्स्टिट्युट पनि खासै रहेन छ। हामीलाई यो मौका थियो तर पनि सकेनौँ,' थापाले भने।

एन्फाको निर्णयबारे मनाङका प्रशिक्षक धनञ्जय प्रजापति एन्फाको निर्णय अव्यवहारिक भएको संकेत गरे। 'हामीलाई चाहि अलि बढी नै भएको हो कि भन्ने लाग्यो। कसैलाई २ म्याच, कसैलाई ५ म्याच, कसैलाई छ म्याच निलम्बन छ। अब त्यो चाहि खै कसरी एनालाइज् भयो।' हिमालयन शेर्पा क्लबसँगको बराबरीपछि शनिबार उनले रेफ्रिको भूमिकामा पनि प्रश्न उठाए, 'अरुले ११ जनासँग खेल्छन् हामीले १५ जनासँग खेल्नुपर्छ। रेफ्री। अस्ति पनि तेस्तै भा थियो आज पनि तेस्तै भयो।' खेलमा खटिने रेफ्री पनि आफ्नो टिमविरुद्ध उत्रिएको उनको संकेत थियो।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल पनि कारवाहीबाट असन्तुष्ट देखिन्छन्। हातपातमै उत्रिएका विदेशी खेलाडीलाई नभएको कारवाहीमा बढी असन्तुष्ट देखिए उनी।

'एन्फाको कारवाहीप्रति म चाहिँ असन्तुष्ट छु। जगजितहरुको कारणले झगडा भएको हो। देवेन्द्र तामाङ छुट्याउन गएका थिए। छुट्याउन जाँदा सब्स्टिट्युट प्लेयरहरुले हिर्काएका कारणमात्र देवेन्द्र जंगिएको हो। जंगिँदा पनि उसले हात लगाएन। उसलाई आफ्नै टिमका मेम्बरले समात्यो। त्यसमा पनि उसले कारबाही पायो।' कटुवालले थपे, 'उताको विदेशी खेलाडीहरुले पनि हात लगाएको स्पष्ट देखिन्छ तर उनीहरुलाई चाहीँ कारवाही भएन। त्यसप्रति म असन्तुष्ट छु।'

एन्फाको कार्वाहीले गर्दा टिममा परेको असर शनिवार दुवै टिमको प्रदर्शनमा देखिएको थियो। मछिन्द्रले जावलाखेलमाथि संघर्षपूर्ण जित निकाल्दा मनाङ हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको थियो।

कारवाहीमा परेका मछिन्द्रका खेलाडीहरु नेपाल पुलिस क्लबसँगको खेलबाट मैदान फर्कने छन् भने मनाङका रन्जन विष्ट सरस्वती युथ क्लबसँगको खेलबाट मैदान फर्कने छन्। जगजित श्रेष्ठ र अशोक बरालले भने अझै क्रमश ४ र ५ खेल पर्खनु पर्ने छ। 

सम्बन्धित समाचार:

अन्तिम सिट्ठी बजेपछि तातेको दशरथ रंगशाला...

 मनाङ र मछिन्द्रको खेलपछि झगडा गर्ने खेलाडी कारबाहीमा, कसलाई के सजाय?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell