PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भेरी अस्पतालको क्वाटरमा निसासिएर चार जनाको मृत्यु



पहिलोपोस्ट

भेरी अस्पतालको क्वाटरमा निसासिएर चार जनाको मृत्यु

सुर्खेत: कर्णाली प्रदेश क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी सहित चार जनाको निसासिएर मृत्यु भएको छ।

बाँकेको नेपालगन्जस्थित रहेको स्टोरका कार्यालय सहयोगी धनप्रसाद भट्टराईसहित उनको तीन महिनाको छोरा इप्सन, बाहिनी कोली र सासू कोपिलाको मृत्यु भएको हो। कार्यालय सहयोगी सहित एउटै क्वाटरमा रहेका अन्य तीन जनाको मृत्यु भएको बाँके प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

त्यस्तै, भट्टराईको श्रीमती, अर्का तीन वर्षीय छोरा र भाई पर्ने नरेन्द्र बेहोस अवस्थामा भेटिएका थिए। उनीहरूको उपचार भेरी अस्पतालमा भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ।

कार्यालय सहयोगी आफ्नै कार्यालय मातहतको भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्काले जानकारी दिए। उनका अनुसार चिसो मौसममा बन्द कोठाभित्र कोइला बालेर सुत्दा निसासिएर मृत्यु भएको हुन सक्ने बताए।

कार्यालय सहयोगीको स्थायी घर खाँडाचक्र नगरपालिका–६ कालिकोट हो। स्वास्थ्य सेवा निर्देशनालय मातहतको कार्यालय बाँकेको नेपालगन्जमा रहेको छ। उनीहरू भेरी अस्पतालको क्वाटरमा बस्दै आएका थिए।

स्वास्थ्य सेवा निर्देशनालयले चिसो मौसम भएकाले आवश्यक सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ। आगो ताप्ने, हिटर वा गिजर जस्ता उपकरण हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र प्रयोग गर्ने, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिक नराख्न आग्रह गरेको छ।

चिसिँदो मौसमसँगै तातिँदो मृत्युका घटना : न्यानोको लोभमा जसले गुमाइरहेछन् ज्यान...

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell