
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन अन्तर्गतको बन्दसत्र फेरि सुरु भएको छ। राजधानीको प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा निर्वाचन, लेखा र अनुशासन आयोगको प्रतिवेदन पेश हुँदैछ। प्रतिवेदन पास गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि बन्दसत्रमा उठेका प्रश्नहरुमाथि जवाफ दिनेछन्।
'आज विधान र प्रतिवेदन फाइनल गर्छौं। अनि निर्वाचन प्रक्रियामा जान्छौं,' माओवादी नेता देवेन्द्र पौडेलले भने। उनका अनुसार पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्षको दस्तावेजमाथि उठेका प्रश्न र सुझावको समीक्षा गरिएको छ। त्यस्तै, पुरक र फरक मतहरुको समीक्षा गर्दै दस्तावेजमा समेट्ने विषयमा स्थायी कमिटीमा छलफल भएको पौडेलले जानकारी दिए।
'मूल डकुमेन्टमा सहमति छ। केही सुझावहरु समेटेर पास हुन्छ,' उनले भने।
पार्टीको विधानमा २ सय ९९ जना केन्द्रीय कमिटीको प्रस्ताव गरिएको छ। पौडेलले विधान संशोधन गरेर केन्द्रीय कमिटीको आकार नबढ्ने समेत दावी गरे। 'निर्वाचन र सर्वसम्मति दुवै प्रक्रियाका लागि हामी तयार छौं,' उनले भने।
उनका अनुसार केन्द्रीय कमिटीका लागि हलमा नै मतदान हुनेछ। महाधिवेशनका लागि उपस्थित प्रतिनिधिले केन्द्रीय कमिटी चयन गर्नेछन्। केन्द्रीय कमिटीमा चुनिएका २ सय ९९ जनाबाट पदाधिकारी चयन हुने माओवादी पार्टीको विधानमा व्यवस्था छ।
यो पनि पढ्नुस् :