
काठमाडौं : नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत काठमाडौं उत्पयकाका तीन वटै जिल्लामा पदाधिकारी चयन भएका छन्।
काठमाडौं र ललितपुरमा आइतवार नेतृत्व चयन भएको थियो भने भक्तपुरमा शनिवार पदाधिकार छानिएको थियो। एमालेमा हालसम्म सर्वसम्मत रुपमा ३८ जिल्लामा नेतृत्व चयन भइसकेको छ। अधिवेशन सुरु भएको ६४ जिल्लामध्ये बाँकीमा भने निर्वाचन र सर्वसम्मितिबाट नेतृत्व चयन हुन लागेको एमाले नेता राजन भट्टराईले जानकारी दिए।
एमालेको विधानमा जिल्ला कमिटी संख्या अधिकतम १५१ र विशेष जिल्ला कमिटीको अधिकतम संख्या ६५ जना हुने व्यवस्था छ। यस्तै जिल्ला कमिटीमा अध्यक्ष-१,उपाध्यक्ष-१, सचिव-१ र उपसचिव-२ तथा जिल्ला कमिटीलाई आधार संख्या ५० मानेर प्रतिनिधि सभाको प्रत्येक निर्वाचन क्षेत्र बराबर १५ का दरले संख्या थप गर्न सकिने एमालेको विधान व्यवस्था छ।
सम्बन्धित समाचार : एमाले जिल्ला अधिवेशनमा पनि केन्द्रकै नीति : ३८ जिल्लामा छानिए सर्वसम्मत अध्यक्ष, कुन जिल्लामा को?
उपत्यकामा को को भए पदाधिकारी?
काठमाडौं जिल्लाका अध्यक्षमा दिपक निरौला चयन हुँदा उपाध्यक्षमा नबराज पराजुली छानिएका छन्। यस्तै, सचिवमा राजेश शाक्य तथा उपसचिवमा बिन्दु महर्जन र उप सचिव तेज ढकाल चयन भएका छन्।
भक्तपुरमा सर्वसम्मत रुपमा वचन देउजा अध्यक्ष पदमा निर्वाचित भएका छन्। उपाध्यक्ष बासुदेव थापा चयन हुँदा सचिवमा मोहनवीर श्रेष्ठ र उप सचिव दामोदर दंगाल र मिलन सुवाल निर्वाचित भएका छन्।
ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत छानिएका छन्। उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिव राम राउत, उप सचिव श्याम व्यञ्जनकार र तारा सञ्जेल छानिएको एमालेले जनाएको छ।