काठमाडौंः समायोजनमा असन्तुष्ट कर्मचारीहरुले मुद्दा दायर गरेपछि लोक सेवा आयोगले लिएको गत सालको शाखा अधिकृतहरुको परीक्षाफल अझै प्रकाशन भएको छैन। सामान्यतया असोजभित्र नतिजा प्रकाशन भइसक्नुपर्नेमा सर्वोच्चको आदेशका कारण नतिजा प्रकाशन भएको छैन। अदालतमा लामो समय विवाद विचाराधीन हुँदा नतिजा प्रकाशनमा थप ढिलाइ भएको हो।
समायोजनमा दरबन्दी लुकाएर नयाँ पदपूर्ति गर्न लागिएको भन्दै परेको रिटमा सर्वोच्चले नतिजा प्रकाशन नै रोकेको हो। अन्तर्वार्ता भइसकेको अवस्थामा परीक्षाफल रोकिएको थियो। असोज १ गतेदेखि सर्वोच्चमा रिट दायरको क्रम सुरु भएको थियो।
लामो समयपछि बिहीबार पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि टुंगो लागेन। न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ। माघ ४ गते अर्को सुनुवाइ हुनेछ।
अदालतले निवेदकको माग अनुसार रिट जारी गरेमा विचाराधीन नतिजाबाट केही कोटा कटौती हुनेछ। रिज खारेज भएमा लोक सेवाले अघि बढाएकै कोटा अनुसार नतिजा प्रकाशन हुनेछ।
विवाद लम्बिँदै जाँदा अधिकृतको पदपूर्तिको यो वर्षको प्रक्रिया पनि रोकिएको छ। नतिजा प्रकाशन नभएसम्म यो वर्षको प्रक्रिया रोक्न माग गर्दै दायर रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरिसकेको छ। पुस १८ गते उच्च अदालतले यो वर्षको प्रक्रिया नतिजा प्रकाशन नभएसम्मका लागि अघि नबढाउन आदेश गरेको थियो।