PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

पोखरामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै : तर खेल मेलामा दर्शकको भिड उस्तै, पूर्वनिर्धारित भन्दै प्रशासन मौन



रिना थापा

पोखरामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै : तर खेल मेलामा दर्शकको भिड उस्तै, पूर्वनिर्धारित भन्दै प्रशासन मौन

पोखरा : पछिल्लो तीन दिनयता गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्याको ग्राफ उकालो लागेको छ।  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको तथ्यांकअनुसार प्रदेशमा तीन दिनयता संक्रमितको संख्यामा दैनिक एक सय बढीले वृद्धि हुन थालेको हो। जसमा सबैभन्दा बढी प्रभावित जिल्ला कास्की हो। निर्देशनालयको तथ्यांक अनुसार मंगलबार गण्डकीमा १ सय १४ र बुधबार १ सय २१ संक्रमित थपिए।

संक्रमितको ग्राफ बिहीवार ह्वात्तै बढेर कास्कीमा मात्र १ सय १५ जनामा संक्रमण देखिएको छ। प्रदेशभर १ सय ६५ जना थपिँदा कास्कीमा संक्रमित ह्वातै पुष्टि भएको हहो। योसँगै कास्कीमा सक्रिय संक्रमितको संख्या ४ सय ९ पुगेको छ।

कास्कीमा कोरोना संक्रमितको ग्राफ उकालो लागेसँगै जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसी)को मंगलबार बसेको बैठकले मेला महोत्सव र भिडभाड हुने कार्यक्रम स्थगन गर्न निर्णय गरेको थियो। प्रशासन कार्यालयले माघ १ गतेदेखि सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भिडभाड नगर्न पनि सुचना निकालेको छ।

गण्डकीका अर्थमन्त्री बराल र पोखराका मेयर जिसिलाई कोरोना संक्रमण

यता जिल्लामा कोरोना संक्रमितको ग्राफ उकालो लागेपनि पोखरामा भने खेल प्रतियोगिता जारी छ। भिडभाड नगर्ने प्रशासनको आग्रहलाई लत्याउँदै पोखरामा जारी भएका दुई प्रतियोगिता हुन टाइगर कप र बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता। पूर्वनिधारित कार्यक्रम भएकाले प्रशासन पनि लचिलो देखियो। तर स्वास्थ्य मापदण्डबिनै दर्शकको उपस्तिथिले कोरोना संक्रमण फैलने डर उत्तिकै छ।

बिना कुनै स्वास्थ्य मापदण्ड दर्शकले प्रतियोगितामा उपस्थिति जनाइरहेका  छन्। आयोजकले पनि यसविषयलाई गम्भिरतापुर्वक लिइरहेको छैन। समयसमयमा माइकिङ गर्दै भौतिक दुरी कायम गर्न र मास्क सेनिटाइजरको प्रयोग गर्न अनुरोध गर्छ। तर त्यसको कार्यनयन न दर्शकले गर्छन् न आयोजकले ख्याल। स्वास्थ्य मापदण्ड पालना गरेर प्रतियोगिता सम्पन्न गर्न अनुमति दिएको प्रशासन कार्यालय यसको मतलब नै छैन।

दुबै प्रतियोगिताको फाइनल माघ १ गते हुँदै छ। सेमिफाइनल र फाइनल दर्शकको भिड हुने पक्का छ। मापदण्ड पालना गर्दै भिड नियन्त्रणमा आयोजक गम्भीर देखिन्न। ‘भोलि र पर्सि सेमिफाइनल र फाइनल छ दर्शकको भिड हुन्छ हामीले माइकिङ गरेर स्वास्थ्य मापदण्ड पालना गर्न भन्छौं,’ बगर भाइ खलकका प्रतियोगिता संयोजक खगेन्द्र गुरुङले बिहीवार प्रतिक्रिया दिए।

यता टाइगर कपले आयोजना गरेको टाइगर कप आमन्त्रित महिला पुरुष भलिबल प्रतियोगितामा स्वास्थ्य मापदण्डमा हेल्चेक्रयाइ गरेको देखिन्छ। टाइगर कपका सचिव प्रकाश बरालले प्रतियोगितामा सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य मापदण्ड अबलम्बन भएको दाबी गरे। तर प्रतियोगिताको मैदानमा मापदण्ड पालना गरेको देखिन्न। ‘भिड देखिरहनु भएको छ दर्शक आइरहनुभएको छ हामी सकेभन्दा बढी मापदण्ड पालना गरेका छौँ,’ बरालले भने।

जारी प्रतियोगिता बाहेकपनि पोखरामा माघ ६ गतेदेखि सहारा क्लबले आयोजना गर्ने चर्चित प्रतियोगिता आहा रारा गोल्डकपको हुँदै छ। यता लेखनाथ उद्योग वाणिज्य संघले भने माघ १३ गतेबाट तय गरेको लेखनाथ महोत्सव स्थगित गरेको छ। बिहीवार एक विज्ञप्ति जारी गर्दै संघले महोत्सव अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो। पोखराको युनाइटेड क्लबले गर्दै आइरहेको पोखरा महोत्सव पनि अनिश्चित समयका लागि स्थगन भइसकेको छ। यहीँ बुधबारदेखि आयोजना हुने भनिएको महोत्सव कोरोनाकै कारण आयोजकले स्थगित गरेका हुन्।

आहा राराका आयोजक महामारीको कठिन परिस्थितिका बिचपनि स्वास्थ्य मापदण्ड पालना गरेर प्रतियोगिता संचालन गर्न कस्सिएका छन्। प्रतियोगिता तयारी अन्तिम चरणमा पुगिसकेको छ। आहा रारा पूर्ण मापदण्डका साथ पालना गरिने प्रतियोगिता संयोजक केशव बरालले बताए। स्वास्थ्य मापदण्डलाई पालना गर्दै सिट क्षमताभन्दा कम दर्शकलाई प्रवेश दिइने भएको छ। ‘पूर्वनिधारित प्रतियोगिता भएकाले प्रशासनले हामीलाई स्वास्थ्य मापदण्ड पालना गरेर आयोजना गर्न भनेको छ। हामीले त्यसलाई पालना गर्दै प्रतियोगिता संचालन गर्दै छौँ। सिट क्षमताभन्दा आधा ३० वा ४० प्रतिशतमा दर्शक भित्र्याउछौं,’ बरालले भने।

यता प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले स्वास्थ्य सुरक्षा पालना नगरी कुनैपनि कार्यक्रम आयोजना गर्न नपाइने दावा गर्छन्। ‘भेला सम्मेलन रोकि सकेको अवस्था छ। आग्रह मानेर जिम्मेवार हुनपर्‍यो, आहा रारामा पोखराको लागि मात्र नभई अन्तरास्ट्रिय स्तरमै रेपुटेसन छ, बाहिरबाट खेलाडी आइपुगेका कारण रोक्न मिलेन,’ जिल्ला अधिकारीले भने। उनले कोरोना संक्रमितको संख्या बढ्दै गए आहा रारा बिना दर्शक वा २५ प्रतिशत दर्शक राखेर मात्र खेलाइने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell