PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

उद्योगीले नै उत्पादन गर्दैनन् सिटामोल, निजीलाई दोष दिँदै पन्छिँदै सरकारी कम्पनी पनि



खेमराज श्रेष्ठ

उद्योगीले नै उत्पादन गर्दैनन् सिटामोल, निजीलाई दोष दिँदै पन्छिँदै सरकारी कम्पनी पनि

काठमाडौं : कोरोनाको पहिलो लहर उच्च बिन्दुमा पुग्दा अस्पतालहरुमा अक्सिजनको चरम अभाव सिर्जना भएको थियो। तर तेस्रो लहर सुरु हुँदा भने बजारमा सिटामोल अभाव सुरु भयो। सामान्तय सजिलै पाइने औषधि हो सिटामोल। तर पछिल्लो समय छिटपुट पाइने बजारबाट पनि स्टक लुकाइएको छ।

अभाव देखियो भन्ने खबर बाहिरिएपछि किन्न खोज्नेको लर्को लाग्दा झनै अभाव चुलियो। यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन नै जारी गर्नुपर्‍यो। गत बुधवार बिहान देउवाले प्रधानमन्त्री निवासमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर बजारमा सिटामोल अभाव हुन निर्देशन दिएका थिए

सिटामोल उत्पादन नै नभएर अभाव भएको हो लुकाएर?

औषधि व्यवसायीहरु उत्पादक कमी भएकै कारण सिटामोल अभाव भएको दाबी गर्छन्। उनीहरुका अनुसार निजी कम्पनीले उत्पादन नगर्दा बजारमा सिटामोल अभाव भएको हो। हाल औषधि व्यवस्था विभागबाट २६ उद्योगले सिटामोल बनाउने अनुमति (लाइसेन्स) लिएका छन्। तर प्रति ट्याबलेट ३० पैसा घाटा लाग्ने भन्दै व्यवसायीहरुले उत्पादन गरेका छैनन्।

निजीले त नाफा मात्रै हेरे, सरकारी कम्पनी पनि कम छैन। उसले पनि पर्याप्त उत्पादन गरेको छैन। धेरै घाटा बहन गर्न नसक्ने भएकाले नै कम उत्पादन गरेको नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले बताए।

'सरकारले २०६४ सालमा तोकेको सिटामोलको मूल्य १४ वर्ष पुरा हुँदा पनि समायोजन गरेको छैन,' उनले भने, 'त्यतिबेला सिटामोल बनाउने कच्चा पदार्थ २ देखि ३ डलरमा पाइन्थ्यो अहिले यो बढेर ११ डलरसम्म पुगेको छ। सरकारी लगानी भएको उद्योगले समेत घाटामा उत्पादन गरिरहेकोले निजी क्षेत्रले धेरै घाटा खाएर उत्पादन गर्न नसकेको हो।'

सरकारी लगानी रहेको नेपाल औषधि लिमिटेडमा अहिले २ करोड ट्याब्लेटको माग छ। दैनिक साढे ३ लाख ट्याब्लेट उत्पादन गरिरहेको प्रबन्ध निर्देशक मोहम्मद साइफुल्लाले बताए। उनका अनुसार उद्योगसँग अहिले ३५ लाख ट्याब्लेट उत्पादन गर्ने कच्चा पदार्थ मौज्दात छ।

उनले भने, 'निजी क्षेत्रका उद्योगले सामाजिक जिम्मेवारी बहन नगर्दा बजारमा सिटामोलको अभाव देखिएको हो, सिटामोलको सट्टामा प्रयोग हुने फ्लोर एक्जाजोन, कोडिन, ब्रुफिन चाहिँ बनाउन मिल्ने सिटामोल बनाउन नमिल्ने भन्ने हुन्छ? निजी क्षेत्रका साथीहरुले बेइमानी गर्नु भयो।'

हाल देशको वार्षिक सिटामोलको माग ७ करोड ट्याब्लेट भएको अनुमान गरिएको छ। नेपालमा भन्दा भारतमा सिटामोल महँगो भएकोले विदेशबाट आयात हुँदैन। प्रति ट्याब्लेट ४५ पैसासम्म महँगो हुने भएकाले नेपालबाट भारत सिटामोल जाने व्यावसायीको तर्क छ।     

मूल्य बढाउन नपाएपछि उत्पादन हुँदैन सिटामोल

सरकारले २० औं हजार प्रकारका औषधिमध्ये १ सय १७ प्रकारका मात्रै औषधिमा मात्रै मूल्य तोक्न गरेको छ। जसमा २०६३ सालमा सिटामोलको मूल्य १ रुपैयाँ तोकिएको थियो।

उक्त समयमा पारासिटामोल बनाउने कच्चा पदार्थको मूल्य प्रतिकेजी भारु २ सय ६० (४१४ नेरु) थियो। यतिबेला नेपाली कम्पनीहरुले उत्पादन र बिक्रीमा नाफामै पारासिटामोलको कारोबार गरिरहेका थिए। अहिले यसको कच्चा पदार्थको मूल्य बढेर प्रतिकेजी भारु ९ सय (१४ सय ३६ रुपैयाँ) पुगेको छ।

यो मूल्य अलि अघि १२ सय भारुसम्म पुगेको थियो। नेपाली व्यवसायीहरुले भारतीय बजारबाट यो कच्चा पदार्थ आयात गर्ने गर्छन्। नेपालले धेरै औषधि उत्पादन नगर्ने भएकाले थोरै थोरै कच्चा पदार्थ भारतीय व्यवसायीबाटै आयात गर्छन्। भारत विश्वकै चौथो धेरै औषधि उत्पादन गर्ने राष्ट्र हो। यसैले उसले चिनियाँ बजारबाट ठूलो परिमाणमा औषधिको कच्चा पदार्थ आयात गर्ने गर्छ।

कोभिड संक्रमण बढेसँगै यसको रोकथाममा प्रयोग हुने पारासिटामोलको माग विश्व बजारमै बढ्दै गइरहेको छ। यसले गर्दा यसको कच्चा पदार्थको मूल्य पनि वृद्धि हुँदै गएको छ। प्रतिकेजी कच्चा पदार्थबाट २ हजार वटासम्म ट्याबलेट बन्छ।

यसको बजार मूल्य २ हजार हुन आउँछ। यस्तै यसमा डिलर कमिसनसमेत छुट्याउनुपर्ने हुन्छ। मुख्य कच्चा पदार्थबाहेक सिटामोल उत्पादन गर्दा ५ प्रकारका अन्य वस्तुहरु पनि मिसाउनु पर्छ। जसमा विद्युत चार्ज, श्रमिक खर्च मेसिनरी खर्च छुट्याउँदा प्रतिट्याबलेट खर्च नै १ रुपैयाँ ५० पैसासम्म पर्न जान्छ। यसकारण निजी क्षेत्रका कम्पनीहरुले सिटामोल उत्पादनमा ध्यान दिएका छैनन्।

स्रोतका अनुसार अहिले निजी क्षेत्रका व्यवसायीहरुले उद्योगका लागि सिटामोलको लाइसेन्स जोगाउनका लागि मात्रै काम गरिरहेका छन्। घाटा खाएर काम गर्न नसक्ने भन्दै नेपाल औषधि उत्पादक संघले सिटामोलको मूल्य बढाउन लबिङ गरेको थियो।

संघले तत्कालिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट समक्ष प्रस्ताव लगेको थियो। तर भट्टले चासो दिएनन्।

हाल बजारमा सिटामोलको अभाव देखिनु घर घरमा स्टक गरेर राख्दा पनि भएको व्यवसायीहरुको भनाइ छ। टाउको दुख्ने, जीउ दुख्ने वा ज्वरो आउँदा सेवन गरिने सिटामोल आधारभूत औषधिमध्येको हो, जसलाई सर्वसाधारणले स्वास्थ्यकर्मीको सल्लाह नै नलिइ पनि प्रयोग गर्छन्। उद्योगले गर्ने उत्पादनको सीमितता नौलो नभए पनि सर्वसाधारणले चाहिनेभन्दा धेरै किनेर घरमा राख्दा बजारमा एकाएक अभाव भएको औषधि व्यवसायी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell