PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

एमालेलाई राष्ट्रिय सभा निर्वाचनको सन्देश : गठबन्धनसँग चुनावमा भिडे संकट



प्रकाश भण्डारी

एमालेलाई राष्ट्रिय सभा निर्वाचनको सन्देश : गठबन्धनसँग चुनावमा भिडे संकट

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई राष्ट्रिय सभा निर्वाचनमार्फत थप क्षति भएको छ। केन्द्र र सबै प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएर संकटमा परेको एमालेले राष्ट्रिय सभाको निर्वाचनमा पनि विभाजनको थप क्षति बेहोरेको हो।

बुधवार भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीसहित सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले जित हासिल गर्दा एमालेले ६ वटा प्रदेशमा पराजित हुनुपर्‍यो। एमालेका तर्फबाट ८ सिट रिक्त हुन लागेकोमा ७ वटामा पराजित भएको एमाले प्रदेश १ भने खाता खोल्न सफल रह्यो।

अब एमालेसँग राष्ट्रिय सभामा १६ जना सांसद छन्। २३ जना सदस्यबाट एमाले १६ मा खुम्चिएको छ। प्रमुख प्रतिपक्षी दल भए पनि एमाले राष्ट्रिय सभाको ठुलो दल कायमै रहेको छ। बुधवार १९ सदस्यका लागि भएको निर्वाचनमा १८ जना गठबन्धनका र एक जनामात्रै एमालेका निर्वाचित भए। २० जना सदस्यको फागुन २१ मा पद रिक्त हुँदैछ।

यी दुई नेता जसलाई राष्ट्रियसभा प्रवेश गर्न रोकेकी थिइन् राष्ट्रपति भण्डारीले, निर्वाचित भएरै ‘इन्ट्री’ मार्दै

जसमा एक जना विज्ञ सदस्य सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्नेछिन्। विज्ञ सदस्यका रुपमा रहेका रामनारायण बिडारीको पद रिक्त हुन लागेको हो।

एमालेलाई संकट

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा हुदा राष्ट्रिय सभामा बहुमत रहेकोमा त्यसपछि पार्टी विभाजन अघिसम्म पनि एमाले ३० सांसदसहित राष्ट्रिय सभामा बहुमतमा थियो। विभाजनपछि ७ सांसद एकीकृत समाजावदीतर्फ लागे। राष्ट्रिय सभा ५९ सदस्यीय छ।

लगातार शक्ति गुमाइरहदा यता सत्ता गठबन्धनका दलहरुले भने राष्ट्रिय सभामा थप शक्ति हासिल गरेका हुन्। कांग्रेसका ३ सिट रिक्त भएका थिए भने उसले निर्वाचन मार्फत ३ सिट अरु थपेर १० सिट कायम गरेको छ।

कम्युनिस्ट विभाजित हुँदा कांग्रेसले पाएको लाभ, राष्ट्रियसभामा थप्यो सिट

यता एकीकृत समाजवादी र माओवादीका ४/४ सिट खालि भएकोमा एक/एक सिट थपेर माओवादीले १५ सिट कायम गर्दै दोस्रो ठुलो दल बनेको छ। एकीकृत समाजवादीले आफ्नो रिक्त भएको ४ र थप एकमा जित हासिल गरेर ८ सिट कायम गरेको छ। वाग्मती प्रदेशमा अन्य समूहतर्फ रिक्त भएको एक सिटमा गत जेठ ६ गते उपचुनाव भएको थियो। उक्त चुनावमा एमालेका रामबहादुर थापा बादललाई हराउँदै नेकपा एसका डा खिमलाल देवकोटा निर्वाचित भएका थिए। बादलले दल त्याग गरेपछि रिक्त भएको उक्त पदमा उपचुनाव भएको हो। राष्ट्रिय सभामा प्रतिनिधित्व नै नभएको जनमोर्चाले समेत गठबन्धनको सहायतमा एक सिट हासिल गरेको छ।

गठबन्धनसँग चुनावमा भिडे क्षति

राष्ट्रिय सभाको निर्वाचनले दिएको एमालेलाई ठुलो सन्देश हो-गठबन्धनसँग चुनावमा जाँदा थप क्षति। उक्त क्षतिलाई कम गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई विभाजन गर्न कोसिस गरेका थिए। त्यसका लागि अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी र संसद अवरोधलाई कार्ड बनाए। तर ओली सफल भने हुन सकेनन्। एमालेका नेताहरुले पार्टी विभाजनकै बेलादेखि एमालेले थप क्षति बेहोर्ने बताइरहेका थिए। एमालेले प्रदेश नम्वर २ मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपासँग गठबन्धन गर्नबाहेक अन्त चुनावी तालमेल गर्न सकेन। प्रदेश १ भने गठबन्धनका मतदाताले फ्लोर क्रस गरेपछि एमालेलाई जित सम्भव भएको हो।

राष्ट्रिय सभाको नतिजापछि महासचिव शंकर पोखरेलले माओवादी र एकीकृत समाजवादीले राष्ट्रिय सभामार्फत अतिरिक्त शक्ति हासिल गरेको बताएका छन्। ‘बहुमतको वामपन्थी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेका छन्,’पोखरेलले फेसबुकमार्फत भनेका छन्।

अब हुने चुनावमा के हुन्छ एमाले?

राष्ट्रिय सभामा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख मात्रै मतदाता हुन्। यो प्रतक्ष्य जनमत भने होइन। प्रतक्ष्य जनमत नभए पनि राष्ट्रिय सभामा जितेका उम्मेद्वार ६ वर्षे कार्यकालका लागि सांसद हुन्। एमाले पराजित हुनुले एमाले स्थानीय तह र प्रदेशमा समेत आफ्नो शक्ति गुमाउदै गएको पुष्टि हुनु हो।

अब हुने स्थानीय तह तथा प्रदेश र प्रतिनिधि सभामा समेत अहिलेकै सत्ता गठबन्धन कायम रहे एमालेका लागि चुनौति हुने छ। संसदको सबैभन्दा ठुलो दल एमालेलाई एक्लै चुनावमा जाँदा अहिलेको शक्ति जोगाउन मुस्किल हुने छ। विभाजनको मार खेपिरहेको एमालेका लागि चुनाव अर्को संकट हुने भएकाले गठबन्धनलाई जति सक्दो विभाजन गर्नु एमलेको रणनीति हुने बताइएको छ।

त्यसका लागि पहल नभएका भने होइनन्। ओलीले माओवादी केन्द्रकै केही नेताहरुसँग समेत गठबन्धन विभाजनका लागि संवाद गरेको बताइन्छ। लामो समयसम्म संवादविहीनको अवस्थामा रहेका ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको ८ औं महाधिवेशनका बेलामा भने संवाद गरेका थिए। संवादले कतिको गति लिन्छ त्यो भने भविष्यकै गर्भमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell