
काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडीमाथिको कारबाही फिर्ता लिएको छ। क्यानको बिहीबारको बैठकले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल लगायत चार जना खेलाडीमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो।
'अनुशासन उल्लंघन सम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिनाका लागि सहभागी नगराउने संघको अघिल्लो वैठकको निर्णय फिर्ता लिने निर्णय गरिएको छ,' कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बैठकले ओमन भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरु विक्रम सोब, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्तास्वरुप जनही एक लाख र महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरेको छ।
सोमपाल कामीको ग्रेडलाई लिएर यसअघि सुरु भएको विवादले गर्दा क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको थियो। उनीहरु लगायत चार खेलाडीमाथि अनुशासनको कारबाही गर्ने निर्णय षरेको थियो।
यसैक्रममा सन्दीप लामिछानेले राष्ट्रिय टोलीको कप्तानी पाएका थिए। पछिल्लो पटक क्यान र खेलाडीको असन्तुष्ट पक्षबीचको छलफलपछि सन्दीपकै कप्तानीमा खेल्ने तर चार खेलाडीमाथिको कारबाही फुकुवा गर्ने सहमति बनेको थियो। त्यस्तै ग्रेडिङको विवाद सुल्झाउने सहमति भएको थियो।
बैठकले स्वास्थ्य उपचार गराइरहेका खेलाडी ललितनारायण राजबंशीलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। त्यस्तै संघको वार्षिक साधारणसभा फागुन १३ र १४ गते धनगढीमा गर्ने निर्णय पनि गरेको छ।
संघका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदमहबहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय पनि बोर्ड बैठकले गरेको छ। आर्थिक समितिको संयोजकमा रोशनकुमार सिंह, छनोट समितिको संयोजकमा दिपेन्द्र चौधरी, प्राविधिक समितिको संयोजकमा वीरेन्द्रबहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा कैलाश विष्टलाई मनोनयन गर्ने निर्णय बैठकले गरेको छ।
२०२२ को केन्द्रीय सम्झौतामा पुरुष र महिलातर्फ खेलाडी अनुबन्धनका लागि नाम सार्वजनिक गरेको छ।
पुरुषतर्फका खेलाडी
ए ग्रेड : सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी
बी ग्रेड: कुशल भुर्तेल, आशिफ शेख, शरद भेषवाकर, आरिफ शेख, अविनास बोहोरा, बिनोद भण्डारी
सी ग्रेड: कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, बिक्रम सोब, शाहब आलम, शुसन भारी, पवन सर्राफ
महिलातर्फका खेलाडी
ए ग्रेड: रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी
बी ग्रेड: सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई, ज्योति पाण्डे
सी ग्रेड: डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी, बिन्दु रावल