काठमाडौं : नेपाल-भारत जोड्ने गरी महाकाली नदी माथि निर्माण गर्ने पुलको लागि दुई देशबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। भारत सरकारको अनुदानमा नेपालको दार्चुला र भारतको धार्चुलालाई जोड्ने गरी महाकाली नदीमा निर्माण गर्ने पुल निर्माणका लागि दुई देशबिच आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मन्त्री रेणुकुमारी यादवको उपस्थितीमा हस्ताक्षर गरेका हुन्।
दार्चुला र धार्चुलालाई जोड्ने पुल निर्माणसँगै नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबिचको सीमापार सम्पर्कलाई सुदृढ बनाउन सहयोग पुग्ने भारतीय दूतावासले जनाएको छ। यो परियोजना दुई देशका जनताबिच वाणिज्य, सांस्कृतिक तथा जनता-जनताबिचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटिअनुरुप रहेको दूतावासले जनाएको छ।
सम्बन्धित समाचार : दार्चुला र धार्चुला जोड्ने पुल ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य
मन्त्रालयका अनुसार अहिले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको चरणमा छ। डीपीआर तयार पारेको करिब ३ वर्षमा पुल निर्माण सक्ने योजना छ। पुल बनाउन ४० देखि ४२ करोड रुपैयाँ लाग्ने अनुमान छ। पुल दार्चुला बजारबाट करिब १० किलोमिटरमा पर्ने सीमामा निर्माण हुनेछ।