PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पैसासँग जोडिएका अपराधको डरलाग्दो ग्राफ : छिटो कमाउन समात्दैछन् गैर कानुनी बाटो



सविन ढकाल

पैसासँग जोडिएका अपराधको डरलाग्दो ग्राफ : छिटो कमाउन समात्दैछन् गैर कानुनी बाटो

काठमाडौं : पछिल्ला दिन प्रहरीका लागि चुनौती बन्न थालेको छ - पैसासँग जोडिएका अपराधका नयाँ नयाँ शैली। अपत्यारिलो उमेरका युवकको बैंक खातामा करोडौंको कारोबार होस् या अनलाइनबाट खेलाउने जुवा। एउटा व्यवसायको आवरणमा राजश्व छल्दै गर्ने धन्दा नै किन नहोस् लगातार ग्राफ बढिरहेको छ।

नपत्याए, २५ वर्षीय युवकको बैंक खातामा ३७ करोड रुपैयाँको कारोबारको समाचारले कसलाई आश्चर्यमा पारेन? चर्चित फ्रेन्चाइज 'बिइङ ह्युमन क्लोदिङ स्टोर'का संचालकले गरेको रक्सीदेखि ड्रग्स सम्मको कारोबार अनुमानभन्दा फरक होइन? एकै रेस्टुरेन्टमा ७४ जना युवालाई जुटाएर अनलाइन जुवा खेलाइने खुलासा चुनौतीको विषय होइन? कानुनले बर्जित गरे पनि 'ओपन सेक्रेट' रहँदै आएको क्रिप्टो करेन्सीको कारोबारले वित्तीय अपराध फैलाएको देखाउँदैन? अनि लाखौ लाख स्रोत नखुलेका नगद भेटिनुको जोखिम?

तपाईँले याद गरेको हुनुपर्छ, विगत तीन सातामा अपराधको समाचारका विषय यस्तै विषयहरुमा मात्र रुमलिए। आर्थिक अपराधका यी दृश्यले मुलुक कुन दिशातिर गइरहेको छ, सहजै अनुमान गर्न सकिन्छ। कुनै समय आर्थिक पाटोसँग जोडिएर हुने अपहरण, फिरौती, हत्या, लुटपाट, चोरीजस्ता घटना कमी हुँदै जाँदा थपिँदै गएका हुन् यस्ता अपराधका श्रृङ्खलाहरु।

पछिल्लो अवधिमा भएका अपराधको तथ्याङ्ले बैंकिङ कसुर र पैसासँग जोडिएका ठगीका धन्दालाई सतहमा ल्याएको छ। प्रहरीको सक्रियतालाई आधार मान्ने हो भने सुनदेखि सारीसम्म राजश्व छलेर ल्याउने अपराध ह्वात्तै बढेको छ।

सुरक्षाविद्हरु पनि देशभित्र अपराधको शैली परिवर्तन भएको स्वीकार्छन्। नयाँ प्रविधि र आर्थिक प्रणालीलाई प्रयोग गरेर हुने अपराधको पाटो फेरिएको उनीहरुको बुझाई छ। अहिलेको समयमा अपराध गर्न भौतिक रुपमा उपस्थित नभए पनि हुने स्थिति आएको पूर्व एआईजी विज्ञानराज शर्मा बताउँछन्। 'योङ्स्टारमा इजी मनीको आकाङ्क्षा देखिन्छ। शहरको बसाई महँगो भइसकेको छ। त्यसको व्यवस्थापन गर्न पनि चाँडो पैसा कमाउन आर्थिक अपराध हुने गरेको देखिन्छ,' एआईजी शर्माले भने।

प्रहरीले अपराधका आधार मान्ने 'तीन म' - मदिरा, महिला र मनीमध्ये अहिले तेस्रोको बोलवाला देखिन्छ। यद्यपि, बाँकी दुई अपराधका आधार पनि कमजोर नै हुन् भन्ने ठाउँ चाहिँ छैन।

चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनाको तथ्याङ्क हेर्दा मुख्य अपराधमध्ये कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, जवर्जस्ती करणी, लागू औषध, हातहतियार खरखजनाको शीर्षक घटेको छ। सँगै आर्थिक लेनदेनसँग सरोकार राख्‍ने ठगी, बैङ्किङ कसुर, राजश्व छली, अवैध मुद्राको कारोबारको ग्राफ भने उकालो लागेको छ।

चालु आर्थिक वर्षको पाँच महिनालाई अघिल्लो आर्थिक वर्षसम्म तुलना गर्दा दृश्य फरक देखिन्छ।

गएको आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा देशभर २ सय ९० जनाको हत्या भयो। चालु आर्थिक वर्षको पाँच महिनामा तुलना गर्दा हत्याको दर १५ प्रतिशतले घट्यो। आर्थिक वर्ष २०७८/७९ मा देशभर २ सय ४६ वटा हत्याका घटना भए।

यही दुई अवधिको बिचमा आर्थिक लाभ लिने प्रकारका ठगी भने १६ प्रतिशतले बढ्यो।

गएको चालु आर्थिक वर्षको पाँच महिनामा बैङ्किङ कसुरका घटना १ सय ५ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७७/७८को पाँच महिनामा ८ सय ८० वटा मुद्दा दर्ता भएका थिए। तर, चालु आर्थिक वर्षको पाँच महिनामा आइपुग्दा बैङ्किङ कसुरका घटना १ हजार ८ सय ७ पुग्यो। बैंकबाट ऋण लिँदा पेस भएका नक्कली कागजपत्र, कमसल धितो राखेर ऋण, चेक बाउन्सलगायत सबै केस बैंकिङ कसुरको वर्गीकरणभित्र अटाउँछन्। प्रत्येक वर्ष बैङ्किङ कसुरका घटना चाहिँ बढ्दै गएको देखिन्छ। प्रत्येक वर्ष ३ हजारभन्दा धेरै बैङ्किङ कसुरमा मुद्दा दर्ता हुन्छ। गएको आर्थिक वर्षमा नेपाल प्रहरीले देशभर दुई हजार ३ सय ७३ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरेको थियो। प्रत्येक वर्ष दर्ता हुने मुद्दाको संख्या अघिल्लो वर्षको तुलनामा शत् प्रतिशतभन्दा माथि देखिन्छ।

गत पुसको दोस्रो साता सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेल स्रोत नखुलेको रकम प्रकरणमा  राजश्व अनुसन्धान विभागको अनुसन्धानमा तानिए। पछिल्लो पटक स्रोत नै नखुलेको रकम भेटिएपछि अनुसन्धानमा तानिने उनी हाइप्रोफाइल मध्येका एक हुन्।

उनी अनुसन्धानमा तानिनुअघि उनकै कर्मचारी पक्राउ परेकी थिइन्।

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट ३३ वर्षीया रेशा शाक्य पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो - स्रोत नखुलेको रकमसहित। सौर्य एयरलाइन्सको उडान नम्बर एसएयु ७२४ बाट रकम आएको ५० लाख प्रहरीले बरामद गरेको थियो। गोप्य सूचनाको आधारमा प्रहरीले विमानबाट आएको भद्रपुर लेखिएको रातो रङ्गको ब्यागभित्र करेन्ट चाउचाउको कार्टुन फेला पार्‍यो जसभित्र लुकाइएको थियो ५० लाख। सौर्य एयरलाइन्सको विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौडेल पनि समातिए यसै प्रकरणमा।

विमानको टिकटबापत जम्मा भएको रकम भन्दै पोखरेलले बचाउका लागि प्रयास गरेका छन्। अहिले यस प्रकरणमा अनुसन्धान चलिरहेको छ। विमानस्थलमात्र होइन बसबाट यात्रा गर्नेसँग पनि यस्तैखाले स्रोत नखुलेको रकम फेला पर्दै आएको छ। अहिले दिन बिराएर देशभर थोरधेर जति भए पनि स्रोत नखुलेको रकम भेटिनेक्रम जारी छ।

चालु आर्थिक वर्षको पाँच महिनामा प्रहरीले देशभरबाट स्रोत नखुलेको ५ करोड ८७ लाख ५५ हजार ५ सय ६७ रुपैयाँ बरामद गरेको छ। अघिल्लो आर्थिक वर्षको पाँच महिनासँग तुलना गर्दा २ सय ९२ प्रतिशतको वृद्धि हो यो।

नेपाल प्रहरीले मात्र आर्थिक वर्ष २०७७/७८ मा अवैध अर्थात् स्रोत नखुलेको ७ करोड १ लाख ३५ हजार ९ सय ४४ रुपैयाँ बरामद गरेको थियो। यो अघिल्लो वर्ष (२०७६/७७) को तुलनामा झन्डै ७ सय ६ प्रतिशतले बढेको थियो।

यसरी बरामद भएको मुद्रासहित प्रहरीले पक्राउ परेका व्यक्तिलाई राजश्व अनुसन्धान विभाग वा सम्पत्ति शुद्धिकरण विभागमा पठाइन्छ। व्यक्ति सम्बन्धित केसहरु प्रायजसो सम्पत्ति शुद्धिकरण विभागले हेर्छ भने संस्था वा फर्मको केस राजश्व अनुसन्धान विभागले।

आर्थिक अपराधको पछिल्लो हाइ प्रोफाइल उदाहरण सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पनि हुन्। जिल्ला अदालत काठमाडौंले ठगी तथा सङ्गठित अपराध कसुरमा पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पूर्पक्षको लागि थुनामा पठाएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। उनले सिभिल सहकारीको  निक्षेपकर्ताको रकम ठगी गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो।

आर्थिक अपराधमा प्रविधि बुझेका र पढेलेखेका मानिसकै धेरै संलग्नता देखिने गरेको पूर्व एआईजी शर्मा बताउँछन्।

'पहिले अरुखाले अपराध गर्न समुह चाहिन्थ्यो। अहिले एक्लैले अपराध गर्छ। फेरि पढेलेखेका विद्वान नै यस्तोमा संलग्न देखिन्छ। त्यस्ताले आफ्नो विद्वताको गतल प्रयोग गरेको देखिन्छ,' उनले भने।

चर्चित गायक योगेश्वर अमात्यको जग्गामा भएको ठगी प्रकरण आर्थिक अपराधको नमुना नै सावित भएको छ। अमात्यको जग्गाको कागजात कीर्ते गरेर ऋण निकालिएको विषयमा - बैंकिङ कसुरको मुद्दा चल्ने वा नचल्ने निर्णय अझै हुन सकेको छैन। उच्च सरकारी वकिल कार्यालयले मुद्दा चल्ने वा नचल्नेमा महान्यायाधीवक्ता कार्यालयको समेत राय माग गरेको छ।

जग्गा प्रकरणमा कीर्ते मुद्दा भने अदालतमा दायर भइसकेको छ। यस प्रकरणमा तानिएका 'आर्थिक अपराध'का अभियुक्तमध्ये केही धरौटी बुझाएर मुद्दा खेपिरहेका छन् त केही पुर्पक्षका लागि थुनामा नै।

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक अपराधसँग जोडिएका अवैध सुन बरामद, अवैध मालसमान लगायतका अपराध पहिलेको तुलनामा ३० प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै, पछिल्ला दुई सातामा मात्र अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबारमा ८० जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीको तथ्याङ्क, पछिल्ला अपराधका घटनाको 'ट्रेन्ड' केलाउँदा आर्थिक अपराध बढेसँग प्रहरीसामु पनि यस्ता फरक शैलीका अपराध नियन्त्रण गर्ने क्षमता विकास टड्कारो देखिएको छ। कतिपय आर्थिक अपराधका केसलाई परिभाषित गर्न नसक्दा कानुनी अभाव पनि सुरक्षा निकायले महसुस गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell