14.jpg)
काठमाडौं : मोरङ र ललितपुरमा भएको तीन जनाको श्रृङ्खलावद्ध हत्याको घटनामा संलग्न थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या अभियोगमा मुख्य अभियुक्त अनिल मण्डल र उनलाई सघाउने अन्य दुई जनालाई यसअघि नै प्रहरीले पक्रिसकेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरङ रंगेली नगरपालिका वडा नम्बर ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नम्बर ६ बस्ने जिरोगौवाका मोहमद हकिमलाई नियन्त्रणमा लिएको हो।
माघ १२ र १३ गते मोरङ धनपालथान गाउँपालिका वडा नम्बर ७ स्थित उखुबारीमा खाल्डो खनेर पुरिएको अवस्थामा दुई जनाको शव भेटिएको थियो। सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय शम्भु कुमार चौधरी र भक्तपुर लोकन्थली बस्ने ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ थियो। पुस ५ गते राजेन्द्र श्रेष्ठ र त्यसको दुई दिनपछि पुस ७ गते शम्भुको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।
हत्या गरेको अभियोगमा शुक्रवार जिल्ला प्रहरी कार्यालय मोरङले तीन जनालाई सार्वजनिक गरेको थियो। सिराहा नगरपालिका घर भएका ३१ वर्षीय अनिल मण्डल, मोरङको धनपाल थान गाउँपालिका ७ घर भएका ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका घर भएका अमित साह भनिने दीनानाथ सोनार रहेका थिए। अनिलको योजनामा जग्गाको कमिसन पाउने लोभमा तीन जनाको हत्या भएको खुलेको थियो।
मंसीर २८ गते अनिलको समुहले ललितपुरको थेचोमा ६२ वर्षीय मोहनप्रसाद लिम्बुको पनि हत्या गरेको थियो। अनिल पक्राउ परेपछि लिम्बु पनि मारिएको घटना बाहिरिएको थियो।
सम्बन्धित समाचार