PahiloPost

Oct 30, 2024 | १४ कात्तिक २०८१

दाइ पत्रकारहरुलाई प्रश्न : मेरो कपडालाई हेरेर मलाई 'जज' गर्ने कहिलेसम्म?



रिना थापा

दाइ पत्रकारहरुलाई प्रश्न : मेरो कपडालाई हेरेर मलाई 'जज' गर्ने कहिलेसम्म?

क्रियाको प्रतिक्रिया हुन्छ, कुनै सकरात्मक त कुनै नकरात्मक। अभिव्यक्ति दिन थालेपछि मान्छेका अनेकौं टीका टिप्पणी। कसैले प्रोत्साहन गर्छन् त कसैले कुरा काट्छन्। गाली वा तालीको वास्ता नगरी अघि बढ्नुको विकल्प हुँदैन। तर, वास्ता कुन हदसम्म नगर्ने त? हिंसाविरुद्ध आवाज उठाएपछि पीडितलाई नै प्रश्न गरिरहने कि समाज र पीडकको प्रवृत्तिलाई? अरुलाई प्रश्न गर्ने 'कथित बौद्धिक' तप्कालाई प्रतिप्रश्न हो मेरो।

केही समयअघि मिलेका प्रतिक्रिया र मानसिक तनावका भारीले प्रश्न गर्न बाध्य भएँ। असोज २ गते पहिलोपोस्टमार्फत् ‘ब्रा साइज सोध्ने पत्रकार’ शीर्षकमा ब्लग लेखेँ। मिडिया क्षेत्रमा भोग्नुपरेको हिंसाको अनुभव सेयर गरेँ। लेखेपछि प्रश्न र प्रतिक्रिया आउँछन् भन्नेमा निश्चिन्त थिएँ। मानसिक रुपमा तयार पनि। तर, ब्लग छापिएलगत्तै प्रश्न सोध्ने भन्दा हौसला र साथ दिनेहरु धेरै भए।


पढ्नुस् ब्लग : ब्राको साइज सोध्‍ने पत्रकार [ब्लग]


लाग्छ त्यस समय मैले उठाएको विषय र हिंसालाई कतिले विश्वास पनि गरेनन्। तीतो यर्थाथ पोख्दैछु तर सत्य। हिंसा कसले भोगेको छ त्यसले महत्व राख्छ भन्ने बुझिसकेकी छु। मेरो ब्लग आएपछि पोखराका पुरुष पत्रकारले हप्ता दिनसम्म 'चिया गफ'को विषय नबनाएको होइन यसलाई। पत्रकारिता सिक्दै गरेकी र भर्खरै यो पेशामा आएको भन्दै कतिपयले त कपोलकल्पित पनि ठाने। दुर्व्यवहार गर्नेलाई आत्मलोचना गराउने त परको विषय, मानौं पत्रकारिता क्षेत्रमा महिलाले दुव्यर्वहार भोगेकै छैनन् जस्तो गरियो। केहीमा पीडकको नाम थाहा पाउने रहर! नाम नदिँदा पत्रकारिता क्षेत्रको राष्ट्रियस्तरमै बेइज्जत गरिस् पनि भन्न भ्याए केहीले। यद्यपि, यस्ता कुराले मलाई छोएन। दुव्यर्वहार विरुद्ध बोलेर ठूलो राहत महसूस गरेकी थिएँ, त्यो पर्याप्त थियो। मानसिक रुपमा तयार पारेर भएको अन्यायबारे खुल्नु नै ठूलो विषय थियो, मेरा लागि।

ब्लग लेख्दा एउटा कुरामा प्रष्ट थिएँ - महिला हरेक क्षेत्रमा हिंसा सहन वाध्य छन्। मिडिया क्षेत्रमा मैले झै हिंसा भोग्ने धेरैजना हुनुहुन्छ। 'आवाज विहीनको आवाज' कहलिएको पत्रकारितामा म मेरो आवाजलाई दबाएर आफूमाथि नै अन्याय गर्न चाहन्नथेँ। मैले बोलेँ, मेरो आवाज। ममाथि भएको हिंसा विरुद्ध चलाएँ, कलम। प्रष्ट भए हुन्छ - मैले चलाएको कलम अमूक व्यक्ति विरुद्ध नभई प्रवृत्ति विरुद्ध हो। कथित बुद्धिजीवीले बुझे हुन्छ - व्यक्तिलाई प्रहार गरेर प्रवृत्तिको अन्त्य हुँदैन।

प्रष्ट लेखेको छु, अबका महिलाले कार्य क्षेत्रमा पुरुषको गिद्धे नजर सहँदैनन्। गएको पुस २८ गते शिलापत्रमा पत्रकार सुमन थापा मगरको ब्लगले यही विषयलाई थप प्रस्ट्यायो। ‘जब वरिष्ठ पत्रकारले छातीको साइज सोधे’ हेडलाइनमा आएको सुमनको ब्लगले फेरि धक्का दियो। मेरो ब्लगबाट परकम्प महसुस गरेको पोखराको पत्रकारिता क्षेत्रलाई सुमनको लेखले झट्का दिनु स्वभाविक थियो।

सुमनको ब्लगसँगै फेरि बहसमा आयो मैले तीन महिना अघि लेखेको विषय। त्यसपछि सुरु भयो आक्षेप र मानसिक दवावका श्रृङ्खला। मलाईभन्दा धेरै सुमनलाई मानसिक दबाब दिने थिए - 'को हो त्यो पत्रकार?' भन्दै। दवाव दिनेमात्र थिएनन्, सामाजिक सञ्जालमा हाम्रो आवाजमा बल पुर्‍याउनेहरु पनि बढ्दै थिए। फोनमा पत्रकारहरुको घण्टी बजिरह्यो। सोसल मिडियामा कहिल्यै नबोल्ने बाहिरी जिल्लाका पत्रकारले समेत नाम सोध्दै म्यासेज गर्न थाले। काठमाडौंबाट फोन गरेर प्रोत्साहन गर्नेहरु पनि थपिए।

त्यतिखेर नै पत्रकार महासंघ कास्कीबाट छलफल गर्नका लागि तारन्तार फोनको घण्टी बजेको थियो। पत्रकारको ग्रुप च्याटमा आक्षेप लगाउनेको म्यासेज आइसकेको थियो। महासंघले प्रवृत्तिगत छलफल भन्दा व्यक्तिको पहिचानका लागि बल गरिरहेको थियो। महासंघ पुगेँ। बाहिरको वातावरण भन्दा अलग पाएँ। अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतकै सामुन्ने सुरुवातमै मैले प्रष्टसँग आफ्ना कुरा राखेँ - व्यक्ति होइन, प्रवृत्ति विरुद्ध लेखेको हुँ। नाम बताउँदिन। महासंघका पदाधिकारीले विना कुनै दवाव मेरा कुरा सुने। र, उनीहरुकै हिसाबले विज्ञप्ति जारी पनि गरे। खासमा त्यतिखेरसम्म महासंघले औपचारिक रुपमा नाम भन्न दवाव दिएन। भलै, महासंघका केही पदाधिकारी 'राजनीतिक दाउपेच'का लागि नामकै पछाडि दगुरिरहेका किन नहुन्।

पत्रकारहरुले नै अनेक प्रश्नबाट दिन थालेको मानसिक दबाब चरम विन्दुमा पुगिसकेको थियो। हरेक प्रश्नको उत्तर दिनु पर्दैन। प्रश्न कस्ता छन्, सोध्नेको चेतनास्तर कति छ? त्यसले पनि तय गर्छ - जवाफ दिने वा नदिने भन्ने। केहीको आक्षेपपूर्ण प्रश्न उत्तर लायक थिएनन्। तिनलाई टाउको दुखाईको विषय पनि मानिनँ। तर, राम्रै मानिएका पत्रकारले समेत तिनै प्रश्नमा समर्थन गर्दै आक्षेप लगाउन थाले। म्यासेन्जरमा सीमित आक्षेप कमेन्ट बक्ससम्मै आउन थाल्यो।

स्टन्ट र बार्गेनिङका आक्षेपले पीडितको मानसिक स्वास्थ्यमा कति असर पुग्यो? आक्षेप लगाउने पत्रकार दाइहरुले अन्दाज गर्न सक्छन्? हिंसा विरुद्ध आवाज उठाउँदा पोखरेली पत्रकारहरुको बेइज्जत भन्ने उनीहरुको दावी हो भने के उनीहरु हिंसाको मतियार होइनन्? इज्जत भएका पोखरेली पत्रकारले हामीमाथि आक्षेप लगाउँदा आफ्नो साख कहाँ पुर्‍याए? अरु बेला संहितामा चल्न आदर्शका गफ दिने तर पत्रकारमाथिको हिंसाजस्तो संवेदनशील विषयमा पीडितलाई गरेको व्यवहार! याद गर्नुस् र सोध्नुस् आफैँलाई।

कार्यक्रममा पुग्दा, फिल्डमा हिँड्दा, सामाजिक सञ्जाल कमेन्टमा, फेसबुकको च्याट ग्रुप र म्यासेज बक्समा र फोन कलमा एकै प्रश्न तारन्तार। ‘नाम के हो? सबै पत्रकारलाई एकै घानमा किन हाल्ने?’

लुकाउन खोजेका, मिलाएका, दबाएका हिंसाका अनेकौं केस छन् पोखरेली पत्रकारितामा। दाइ पत्रकारहरुलाई मलाई भन्दा बढी थाहा छ यसबारे। मैले सम्झाइरहन आवश्यक नपर्ला।

यस बिच केही कुरा जायज पनि आए। हिंसा गर्ने व्यक्तिलाई चेतावनी दिनुपर्छ। त्यसमा म सहमत। तर सुरुवाती दिनदेखि मलाई राजनितिक फन्डाका रुपमा प्रयोग नगरियोस् भन्नेमा सचेत पनि। नाम भन्न पनि तयार भएँ - शर्त सहित। महासंघ अध्यक्षका पदाधिकारी र पत्रकार अर्जुन गिरीलाई सँगै राखेर नाम बताउने र छलफल गर्ने। तर पत्रकार अर्जुन गिरीलाई मेरो अभिभावकका रुपमा छलफलमा राख्‍न महासंघले चाहेन। उनलाई संगठनसँग जोडेर छलफलमा बस्न दिइएन। पीडितले अभिभावक राख्‍न चाहन्छ भने त्यसमा किन असहयोग? यहाँ त कुनै संगठनमा नभएको पत्रकारलाई सांगठनिक रुपमा झोस्ने प्रयास गरियो। म शर्त राखेर नाम बताउन तयार भएँ, महासंघ अध्यक्ष शर्त मानेर नाम थाहा पाउन। मैले प्रष्टसँग भनेकी थिएँ - गोपनीयता कायम हुनुपर्ने। दोषीलाई महासंघ अध्यक्षले गोप्य रुपमै सजग गराउने, अनावश्यक टिप्पणी गर्दै ममाथि नै आक्षेप लगाउने पत्रकारले माफी माग्नुपर्ने र यस्तो अवस्था आउन्जेलसम्म मौनता साँधेकोमा महासंघले स्पष्टिकरण दिनुपर्ने मेरा शर्त।

मैले ब्लग लेखेको तीन महिनापछि नाममात्र खोज्दै उनीहरु मलाई र्‍याखर्‍याख्ती पार्न खोज्छन् भने म किन प्रश्न नगरौं? हाम्रो सम्मानित संस्था यतिन्जेल के गर्दै थियो? केही उत्तर त बडो गजबको पाएँ। मसँग पत्रकार महासंघको सदस्यता नभएका कारण मेरो विषयमा महासंघको ध्यान दिन आवश्यक नभएको आशय पनि प्रकट भयो - सिधा रुपमा।

‘तिमीभन्दा धेरै प्राथमिकतामा महासंघको सदस्यता लिएका ३ सय बढी पत्रकार छन्,’ पत्रकारको अभिभावक संस्थाको जिम्मेवार पदाधिकारीको अभिव्यक्ति मेरा लागि अनपेक्षित थियो। म पत्रकार महासंघको सदस्य छैन तर कास्कीमा पत्रकारिता गर्दैछु।

लागेको थियो महासंघ जिल्ला अध्यक्षले घटनालाई राम्रैरुपमा सुल्झाउन लागेको हो। महिला भएर पनि हुनुपर्छ उनले सोधिन् - लेखेको भन्दा थप केही छ कि खुलाउन नसकेको? प्रश्न सही थियो। लेखमा प्रष्ट नखुलाएका केही कुरा उनी महिला भएकै कारण भन्न सकेँ।

उनले शर्त अनुसार दोषीलाई माफी माग्न बोलाइन्। सुरुमा दोषीले गरेको 'डिफेन्स'ले नाम भनेर सही गरेँ भन्ने महसुस भयो। मलाई लागेको थियो ब्लग लेखिसकेपछि उनले आत्मलोचना गरे होलान्, अव सचेत होलान्। सुध्रिएलान्। तर, म गलत रहेछु। डिफेन्स गरिसकेपछि मात्र बल्ल उनले गल्ती स्वीकारे। अब यस्ता हर्कत नदोहोर्‍याउने प्रतिवद्धता दिए। त्यस क्षण महसुस गरेँ - मेरो कलमले ठीक गर्‍यो।

दोषीले गल्ती स्वीकारे। राम्रै भयो। त्यसबिच मानसिक रुपमा ममाथि निकै आघात पुग्यो। मानसिक दवाव, आफूमाथि भएको हिंसाको बारम्बार स्पष्टिकरण। कहाँ, कतिबेला, कुन कार्यक्रम, को हुँदा कसरी? प्रश्न होइनन् ती चोट थिए। मानिसक रुपमा कमजोर हुन लागिसकेकी थिएँ। परिस्थितिसँग त्यस समय थप लड्न सक्ने क्षमता गुमाउँदै थिएँ। त्यहीँ समय अध्यक्षले गरेको व्यवहारले मलाई ठूलो झट्का दियो - उनले हामी बसेको गोप्य वार्ताको भिडियो खिचिन्।

के म राजनीतिक फन्डा हो? के मैले भोगेको हिंसा रमाइलो हो? तपाईंका लागि मसला हो?

होइन। तब किन भिडियो खिचियो?

भिडियो तत्काल डिलिट गर्न लगाएँ। डिलिट भयो। तर, नियत डिलिट होस् कसरी। प्रष्टिकरण पाएकी थिएँ - प्रमाणको लागि भन्दै। मभन्दा ठूलो प्रमाण के हुन सक्छ? कस्तो प्रमाण चाहिएको थियो गोपनीयता कायम गर्नु भनिसकेपछि? माफी मागेको लिखित सम्झौता गर्नुपर्नेमा जोड पनि थियो अध्यक्षको। तर, नमानेपछि अध्यक्षले केही भनिनन्।

त्यस्तो संवेदनशील विषयमा परिपक्व मान्छेले देखाएको अपरिपक्व व्यवहार उदाङ्गियो। स्पष्टिकरण त जे भनेर दिए भयो। तर, त्यस भिडियाले पछिसम्म मेरै निजी जीवनमा समेत असर पुग्ने सम्भावनामाथि खोई आँकलन गरेको? दोषीको करिअर र परिवारको त कुरै छोडौं।

'बच्चाको दिमाग बच्चै हो' भन्दै मप्रति हाँसो गुञ्जिएको पनि सुनेँ। बच्चा नै सहि ममा पनि संवेदनशीलता छ। फेरि दोहर्‍याउँ - व्यक्ति होइन, प्रवृत्तिको विरोध हो। मेरो आशय प्रष्ट भएपछि त्यही अनुसार अघि बढ्नुपर्थ्यो। उल्टै, प्रश्न तेर्सियो - ‘तिमीलाई त्यसको भविष्य र परिवारको चिन्ता कि आफ्नो?’

तेर्सिएको प्रश्नले कतिसम्म असर पुगेको छ देखाउन सक्दिनँ।

न कसैप्रति हार्दिकता देखाएकी हुँ। न कसैको भविष्यको चिन्ता। मानवता बोकेर विद्रोहको आवाज बोक्नुपर्छ भन्ने लाग्छ। न्यायालयले त घटनाको प्रवृत्ति हेर्छ। अरुको व्यक्तिगत जीवनलाई प्रहार गर्न खोज्ने यी पत्रकार को हुन्? यसो भनिरहँदा हिंसा सानो र ठूलो भनेर मापन गर्न खोजेकी होइनँ। तर, एकपल्ट गल्तीमा औंला उठाएर पश्चताप गर्न दिनुपर्छ। त्यसरी व्यक्तिलाई नै प्रहार गर्ने भए, फेसबुकमा उसकै नाम ट्याग गरेर स्ट्टायस पोष्ट गर्न सक्थेँ - महासंघको साहरा चाहिन्थेन। देशमा न्यायालय छ, कानुन छ। न्यायका लागि कानुनी बाटा छन्। कुन समयमा कानुनी उपचार अपनाउनुपर्छ त्यसमा पनि जानकार छु।

त्यसै बिच दाइ पत्रकारहरुले मेरा कपडा र पहिरनमा औला तेर्स्याए। 'त्यसका कपडा र प्रोफाइल पिक्चर देख्नुभएको छ?' उनीहरुको प्रश्न।

कसैको कपडा र आवरणले हिंसाको निमन्त्रणा दिँदैन। मेरो चरित्र होइन, त्यसले प्रश्न गर्ने तपाईँको सोचको स्तर देखाउँछ। घटनालाई राजनीतिक रङ लेपन गर्न खोजेको देखेपछि हिंसा विरुद्ध बोल्नु नै गलत त थिएन भन्ने पनि बनाइदिए। एक मनले लाग्यो सब छोडेर हिडौं र घीनलाग्दो क्षेत्रमा कहिल्यै प्रवेश नगरौं। केही नभनी कामको ग्रुप लिभ गरौँ, फेसबुक बन्द गरेर मिडिया क्षेत्र छोडेर बसौं।

यतिसम्म कि फिल्डमा हिँड्न आँट मर्ला जस्तो भइसकेको थियो। यहीँ मान्छेको भिडमा आफूलाई उपस्थित गराउने कि नगराउनेमा मानसिक द्वन्द्व चलेको थियो। कसैसँग फोन गरेर बोल्ने तागतसम्म थिएन कामको विषयलाई लिएर। मानसिक रुपमा परेको जे बेहोरे शब्दमा उतार्न सकिरहेको छैन मैले।

आखिर अप्ठ्यारो समय कटाउनुको विकल्प छैन। भाग्न मिल्दैन, हुँदैन। समय एकनास हुँदैन पनि। कट्छ। यस्तै भोगाइबाट सशक्त भइन्छ। दुव्यर्वहार गर्नेलाई माफी माग्न लगाउन सक्नु नैतिक जित थियो। आखिर कलम चलाएर त भएको हो त्यो पनि। अनि म किन नलेखौं? अझै लेख्‍ने र बोल्ने - सशक्त रुपमा।

यस बिचमा अर्को कुरा पनि ख्याल गरेँ - अझै पनि यहाँ हिंसा विरुद्ध खुलेरै बोल्न समय लाग्छ। आवाज विहीनको आवाज कहलिएको क्षेत्रको भित्री दृश्य त यस्तो छ, म अन्य क्षेत्रको हिंसाबारे अनुमानसम्म लगाउन सक्दिनँ।

कार्यक्षेत्रमा महिलाको नगन्य उपस्थितिबारे चिन्ता गर्ने दाइ पत्रकारहरुले थोरै सहयोग गर्नुपर्छ - काम गर्ने वातावरण बनाइदिएर। न कि पानी माथिको ओभानो बन्न खोज्दै पीडितलाई नै हिंसा थपेर। सबैले आफ्नो प्रवृत्ति सच्च्याउनुपर्छ। बाँकी, हाम्रो पेशा एकै हो। अब चिया र चुरोट गफबाट दाइ पत्रकारलाई फुर्सद भए फिल्डमा पनि सँगै भेटिएला। याद गर्नुहोला - म मान्छे उही हो। मैले लगाउने कपडा उस्तै हो। तर, अब पनि कपडालाई 'जज' गर्ने तल्लो स्तरको सोच सधैंका लागि फ्याँकेर आउनुस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell