PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सबसे बडा रुपैयाँ : आर्थिक लोभमा साथीकै हत्या, हरेक वर्ष चढ्दैछ ग्राफ



सविन ढकाल

सबसे बडा रुपैयाँ : आर्थिक लोभमा साथीकै हत्या, हरेक वर्ष चढ्दैछ ग्राफ

काठमाडौं : ललितपुरको हरिसिद्धि ईँटा तथा टायल कारखानको जग्गा मिलाए वापत राम्रो कमिसन आउन लागेको थियो। कारखानाको २५ रोपनी ७ आना जग्गाको कारोबार हुँदै थियो। मुखैमा आउँदै गरेको कमिसनमध्ये मोहनप्रसाद लिम्बु आधा आफ्नो भागमा राख्‍न चाहन्थे।

बाँकी रहेको ५० प्रतिशत हिससा दुई जनामा बाँड्ने उनको तयारी। अनिल मण्डललाई भने हिस्साबाट 'आउट' गरिँदै थियो। मण्डलले थाहा पाए - जग्गाको कमिसनको खेलमा मोहनप्रसाद, राजेन्द्र श्रेष्ठ र शम्भु चौधरीले बिच साँठगाँठ हुँदैछ।

त्यसपछि उनले रणनीति बनाए - तीनै जनालाई सिध्याएर जग्गाको कमिसन एकलौटी पार्ने। त्यतिमात्र होइन, मोहनप्रसादलाई संसारबाट नै उठाएपछि बाँकी कारोबारको हरहिसाब पनि गरिरहन नपर्ने!

असोजको ३ गते अनिल मण्डल र मोहनप्रसाद लिम्बु बिच साढे २ अर्ब रुपैयाँको विषयमा लिखित सहमति भएको थियो लगानीका लागि। कपिलवस्तुको गणपति सिमेन्ट र सुपर सुनकोसी जलविद्युत आयोजना रकम हाल्ने तयारी। जम्मा पारिएको रकम मोहनप्रसादलाई दिने भनिएको थियो।

३ वर्ष अघिदेखि राजेन्द्र श्रेष्ठसँगको चिनजानपछि चार जना एक ठाउँमा जोडिएका थिए। जग्गाको किनबेचमा उनीहरु सँगै हुन्थे। त्यतिमात्र होइन, हाइड्रो पावरदेखि सिमेन्ट कम्पनीसम्म लगानीको योजना। प्रत्यक्ष पैसा र लेनदेन नै जोडियो चार जना बिच। यता अनिलले भने तीन जनलाई नै सिध्याएर एकलौटी कमिसन र अन्य आर्थिक पाटो हत्याउने योजना बुन्न थालिसकेका थिए।

योजनाअनुसार नै मंसिर २८ गते मोहनप्रसादलाई ललितपुरको ठेचोमा बोलाएर भाडामा लिएको घरभित्र हत्या गरे। हत्या गरेपछि जग्गाको कारोबार गर्ने भन्दै विराटनगर पुगे। उनीसँगै रहेका शम्भु चौधरी र राजेन्द्रलाई पनि त्यही मारे। पुस ५ गते शम्भुको र ७ गते चौधरीको हत्या गरे। मोहनप्रसादलाई जस्तै गरी उखुबारीभित्र खाल्डो खनेर गाडिदिए।

हत्यापछि अनिललाई लाग्यो कमिसनका भागिदारबाट अब शम्भु, राजेन्द्र र मोहनप्रसाद अलग भए। ३१ वर्षीय अनिलले पैसा एकलौटी गराउने उद्देश्यमा तीन जनाको हत्यालाई नै आधार बनाए। हत्या जसरी गरे त्यसलाई सहजै लुकाउन भने सकेनन्। गत बिहीवार तीन जनाको हत्या अभियोगमा प्रहरीले अनिललाई समात्यो। शुक्रवार उनी सहित अन्य तीन जनालाई सार्वजनिक पनि गर्‍यो। शनिवार थप २ जना सार्वजनिक भए उनीलाई सघाउनेहरु।

प्रहरीको अनुसन्धानमा तीन जनाको हत्याको कारण जग्गाको कमिसन रकम नै देखियो। छोटो समयमा मोटो रकम हत्याउने योजनमा अनिलले अपराध गरेको प्रहरीको दावी छ।

अनिलमात्र होइन, पछिल्लो समय देशभित्र भएका हत्याका धेरैजसो घटनामा आर्थिक पाटो नै जोडिने गरेको देखिन्छ। बाबुले छोराको, छोराले बाबुको, श्रीमानले श्रीमतीको, दाजुले भाइको, भाइले दाजुको र साथीले साथीको आर्थिक लेनदेनकै कारण हत्या गरेको देखिन्छ। योजनावद्ध रुपमा भएका देखिन्छन् यस्ता हत्याहरु।

पैसाकै लागि साथीको हत्या

गत साउनको पहिलो साता भरतपुर महानगरपालिका १७ सिमलडाँडा खेत नजिकै एक जनाको शव भेटियो। गोली हानेर मारिएको अवस्थामा भेटिएका उनी नेपाली सेनाको हुद्दा रहेछन्। धादिङ निलकण्ठ नगरपलिका घर भएका ३६ वर्षीय भरत गुरुङ मारिएको पुष्टि भयो।

केही दिनको अनुसन्धानपछि प्रहरीले दी फेमस महिन्द्र दल गणका सिपाही गंगाधर ढकाललाई नियन्त्रणमा लियो। गुरुङ र ढकाल साथी थिए। ढकालले भरतको चेकबाट हस्ताक्षर गरेर रकम झिक्ने गरेको पनि अनुसन्धानका क्रममा देखियो।

साउन ५ गते भरतले गंगाधरलाई फोन गरेर आफूले चितवनमा जग्गा किनेको र पास गर्न जाने बताए। चितवनमा रहेका गंगाधर भरतलाई लिन काठमाडौं नै आएका थिए। त्यही दिन चितवनमा आएर एक होटेलमा रात बिताए उनीहरुले। भरत भोलिपल्ट आफन्तकहाँ गए। साँझतिर गंगाधरले भरतलाई खाजा खान भन्दै बोलाए, रक्सी खुवाए र रातभर मोटरसाइकलमा घुमाए। साउन ७ गते बिहानै जग्गा हेर्न भन्दै लगेर ‍गोली हाने। भरत केही अघिमात्रै शान्ति सेनाबाट फर्किएका थिए। उनले चितवनमा जग्गा किन्न वैनासमेत दिएका थिए।

थाहा नदिइ बैंकबाट झिकिएको ९ लाख रुपैयाँको पोल खुल्ने डरले गंगाधरले आफ्नै साथीको हत्या गरेक स्वीकारे। सैनिक अदालतले गंगाधरलाई जन्मकैदको सजाय सुनाएको छ।

धेरैजसो हत्याका घटना चिनेजानेका र आफन्तबाट हुने गरेको पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्। 'यस्ता घटनामा आवेग र आर्थिक पाटो हत्यासँग प्रत्यक्ष जोडिएको देखिन्छ। मानिस लोभले गर्दा नै हत्यासम्मको बाटो रोज्ने गर्छ,'  मल्लले भने।

देशभरको तथ्याङ्क हेर्दा दैनिक औसत एक जनाभन्दा धेरैको हत्या हुने गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा देशभर ६ सय ९७ जनाको हत्या भएको थियो। अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा २५ प्रतिशतले बढी हो यो तथ्याङ्क। आर्थिक वर्ष २०७६/७७ मा ५ सय ५५ जना मानिस मारिएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ६ सय ५९ जना मानिस अनाहकमा मारिए। आर्थिक वर्ष २०७४/७५ मा मारिने मानिसको सङ्ख्या ६ सय २८ रहेको छ।

चालु आर्थिक वर्षको पाँच महिनामा भने हत्याको सङ्ख्या १३ प्रतिशतले घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ। पाँच महिनाको अवधिमा २ सय ४६ जनाको हत्या भएको छ।

हत्याका यस्ता धेरै केसमा आर्थिक लेनदेनको कनेक्सन पाइन्छ।

पैसाका लागि आफ्नै साथीको हत्या भएका धेरै उदाहरण छन्। गत साउनमा गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्या प्रकरण यस्तै प्रकृतिको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हत्या अभियोगमा वीरगंज महानगरपालिका वडा नम्बर ७ रामटोल बस्ने २५ वर्षीय राहुल महर्जन, २७ वर्षीय विक्की भन्ने दीप लामा तामाङ र बाराको फेटा गाउँपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय धनञ्जय रजकलाई नियन्त्रणमा लिएको थियो।

उनीहरु तीनजना सहित भारत घर भएका रवि सर्राफले मिलेर साथीलाई काठमाडौंबाट बोलाएर लुट्ने योजना बनाएका थिए। राहुल महर्जनको पुरानो चिनजानको साथी सर्लाही लालबन्दी घर भई गोंगबु बस्ने २७ वर्षीय सुजन लाई वीरगंज बोलाए। त्यही लुटपाटपछि हत्या गरे।

पाख्रिन साउन १३ गते साँझ दुई जना साथीसहित वीरगंज पुगेका थिए। उनीहरु सबै जना दीप लामाको घरमा मदिरा खाएर बसेका थिए। साउन १४ गते बिहान साढे १ बजेतिर काठमाडौंबाट आएका दुई जनालाई कोठामा मै छोडेर बियर किन्ने बहानमा ज्ञानु पाख्रिनलाई रामटोलस्थित एकान्त स्थानको खाली जग्गामा लगेर घाँटीमा लक लगाई अँठ्याई ज्यान लिएको प्रहरी अनुसन्धानमा देखिएको थियो।

त्यसपछि उनीहरु मृतकको सुनको सिक्री, सुनको औँठी, नगद १० हजार रुपैयाँ लुटेका थिए।

गत भदौमा पनि लेदेनको विषयलाई लिएर साथीले साथीकै हत्या गरेको प्रहरी अनुसन्धानमा देखियो। झापा, शिवसताक्षी नगरपालिका वडा नम्बर १९ का २९ वर्षीय गोमन सिंह मगरको हत्यामा पनि आर्थिक कारण नै जोडियो। हत्याको अभियुक्त उनकै साथी शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय मनकुमार लिम्बु थिए।

काटिएको शव भदौ १७ गते बिहान शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित जङ्गलमा फेला परेको थियो। त्यसपछि प्रहरीले अनुसन्धान गर्दै गएको थियो।

पक्राउ परेका लिम्बुले लेनदेनको विषयमा विवाद हुँदा भदौ १६ गते मगरलाई राति बोलाएर आफैँले हत्या गरेको स्वीकारेका थिए।

गोमन सिंह मगरले प्रदेश ०१-०१०१२ प ५२२५ नम्बरको मोटरसाइकल लिएर साथी भेट्न पुगेका थिए। लिम्बुले मोटरसाइकल चलाइरहेकै अवस्थामा पछाडिबाट धारिलो हतियार (कर्द)ले लिम्बुको घाँटीमा रेटेका थिए।

'आर्थिक कारोबार साथीभाइ र आफन्तसँग नै जोडिएको हुन्छ। उनीहरुको अवस्था मुभमेन्ट समेत सबै जानकार हुन्छन्,' पूर्व डीआईजी ठकुरीले भने, 'साथीसँग मात्र होइन, सम्पत्तिको लोभमा परिवारभित्र हत्या गर्ने गरेको पनि देखिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell