PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अधुरै रह्यो लतासँगै गीत गाउने शम्भुजितको सपना



लक्ष्मी बलायर

अधुरै रह्यो लतासँगै गीत गाउने शम्भुजितको सपना

काठमाडौं : चर्चित भारतीय गायिका लता मंगेशकरको आज निधन भएको छ। उनको निधनसँगै पुरै सांगीतिक क्षेत्र नै शोकमा डुबेको छ।

लताको भारतसँग मात्रै नभएर नेपालसँग पनि साइनो छ। उनले ‘जुन माटोमा मेरो’, ‘बाँचुन्जेलीलाई’, ‘आकाशमा तिरमिरे तारा’लगायतका गीत गाएकी छिन्। लताको नेपाली सांगीतिक क्षेत्रका व्यक्तिहरुसँग पनि राम्रो सम्बन्ध थियो। गायक तथा संगीतकार शम्भुजित बास्कोटा लता मंगेशकरको निधनले संगीतको तारा गुमाएको बताउँछन्।

शम्भुजित आफ्नो सांगीतिक करियरको सुरुवातमा थिए। त्यसबखत नेपालमा रेडियो नेपाल बाहेक अरु स्टुडियो थिएनन्। जसकारण नेपाली गीतहरुको बम्बईमा (हाल मुम्बई)मा रेकर्डिङ हुन्थ्यो।

शम्भुजित पनि गीत रेकर्डिङ गर्न मुम्बई गएका थिए। सोही बेला हो उनको पहिलो भेट भएको लतासँग। लतासँगको १ घन्टाको भेट निकै अविस्मरणिय रहेको बताउँछन् उनी।

‘दिदीसँग मेरो पहिलो भेट बम्बई ल्याब रेकर्डिङ स्टुडियोमा भएको हो। म गीत रेकर्डिङ गरिरहेको थिएँ। गीत गाउँदा माइक्रोफोन लिक भएर उहाँले मेरो गीत हेडफोनबाटै सुन्नुभएछ। म नेपालबाट आएको कुरा थाहा पाउनुभएछ,’ उनी सम्झन्छन्।

गीत सुनेपछि लताले शम्भुजितलाई भेट्न बोलाइन्। उनले भेट्न बोलाएपछि शम्भुजितमा खुसीको सीमा नै थिएन। उनी खुसी हुँदै लता भएतिर पुगे। शम्भुजित र लताबीच कुराकानी शुरु भयो।

सोही क्रममा शम्भुजितले लतासँग गीत गाउन ठूलो इच्छा रहेको बताएछन्। उनको कुरा सुनेपछि लताले पनि तपाईहरुसँग काम गर्ने भन्दै पछि गीत गाउने आश्वासन दिएकी थिइन्।

लतालाई नेपालको मठमन्दिर र राजाहरुको बारेमा राम्रो ज्ञान रहेको उनको भनाइ छ। नेपालको गीतसंगीतसँग जोडिएका पुराना कुराहरु याद गरेको समेत उनी सम्झन्छन्। शम्भुजितका अनुसार राजा महेन्द्रको गीत ‘आकाशैमा तिरमिरे तारा’ र फिल्म ‘माइतीघर’ ‘जुन माटोमा मेरो’ गीत गाएको लताले भनेकी थिइन्।

कुराकानीकै क्रममा लतालाई भेट्न पुणेबाट भतिजीहरू आएछन्। छुट्टिँदै गर्दा लताले शम्भुजितलाई ‘फोटो खिच्ने हो भाई’ भनिन्। त्यो सुन्दा उनी निकै मख्ख परे। किनकी सानैदेखि मन पर्ने गायिकासँग फोटो खिच्न पाउनु सौभाग्यको कुरा थियो।

लताका भतिजीको क्यामेराबाट उनीहरुले एकसाथ फोटो खिचे। छिट्टै भेट्ने वाचासहित शम्भुजित पनि बिदा भए। पछि लताका भतिजीहरुले ती फोटोहरु मेलमा पठाएको समेत उनले बताए।

शम्भुजितले लताका लागि भनेर दुईवटा गीत 'कम्पोज' गरेका थिए। फिल्म ‘प्रेमपिण्ड’ रेकर्डिङको लागि शम्भुजित फेरि मुम्बई गएका थिए। उनी गीतको अफर लिएर लतालाई भेट्न पेडर रोड पुगे। जहाँ लता बहिनीहरु उषा मंगेशकर र आशा भोसलेसँग बस्थिन्। तर, दुई दिनपछि लताको लण्डन जाने योजना रहेछ। जसकारण लताले गीत गाउन भ्याइनन्। अर्को गीत गाउने वाचा गरिन्। उक्त गीत फिल्म ‘प्रेमपिण्ड’ को ‘सपना हो यो भनेदेखि सपनीमै मरुँ’ थियो।

साथै, फिल्म ‘चेलीबेटी’को ‘तिम्रो आँखाको सागरमा’ पनि उनको लागि तयार पारिएको थियो। पछि लताले समय दिन नसकेपछि यी गीतहरु अरुलाई गाउन लगाएको बास्कोटाले बताए।

लताका लागि उनले गीत त बनाए नै आफू पनि उनीसँगै गीत गाउने सपना बुनेर बसे। त्यसका लागि उनले प्रयन्त पनि गरे। तर सफल भएनन्।

‘उहाँसँग गीत गाउने साइतै नै जुरेन। कहिले बाहिर, कहिले बिरामी भएर उहाँको स्वरमा गीत रेकर्ड गर्न पाइएन्। २ चोटी भेट्ने मौका पाएतापनि पछि भेटघाट पनि भएन। उहाँसँग गीत गाउने मेरो इच्छा अधुरो रह्यो।’

सम्बन्धित समाचार : कथा 'नाइटिन्गेल अफ इन्डिया' को : जब लता मंगेशकरको गीत सुनेर जवाहरलाल नेहरु रोए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell