हेटौंडा : पार्टी महाधिवेनमा राजेन्द्र लिङ्देनसँग पराजित बनेका कमल थापाले अन्ततः पार्टी नै छाडेका छन्। मंगलवार गृहजिल्ला मकवानपुर पुगेर थापाले पत्रकार सम्मेलन गर्दै पार्टी छाडेका हुन्।
पार्टी छाड्दै गर्दा थापाले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्धको तुष पुन छरपष्ट पारेका छन्। हेटौंडाको होटल प्रकाशमा पार्टी छाड्दै गर्दा थापाले पूर्वराजा, राजाको सचिवालय र निर्मल निवासविरुद्ध रोष प्रकट गरेका हुन्।
'महाधिवेशनको क्रममा राजा, राजाको सचिवालय र निर्मल निवासबाट जुन नांगो हस्ताक्षेप भयो। त्यो मेरो र समग्र पार्टीको निमित्त चिन्ताको विषय थियो। निर्वाचनको क्रममा निर्मल निवासका सचिवहरुले पार्टीका शीर्ष नेताहरुले जिल्ला तहसम्मका नेताहरुलाई महाराजधिराजको चाहना यसपटक कमल थापालाई हराउने छ भन्दै प्रचारप्रसार र लोभलालच देखाउने काम भयो। यसले हारजितलाई कति प्रभाव पर्यो थाह छैन,' पार्टी छाड्दै गर्दा थापाले भने, 'नियोजित ढंगबाट पार्टीको केन्द्रीय महाधिवेशनमा ४०० भन्दा बढी मतहरु बदर भए। चुनावमा यसबारे हामी सजग हुन सकेनौ।'
गत मंसिर १९ गते अध्यक्षमा पराजित भएपछि सामाजिक सञ्जालमा थापाले पूर्वराजाविरुद्ध रोष प्रकट गरेका थिए। त्यतिबेला उनले भनेका थिए, 'सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना। '
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
— Kamal Thapa (@KTnepal) December 5, 2021
हार्दिक शुभ-कामना।
यसैगरी महाधिवेशनको उद्घाटन सत्रमा राजालाई नारायणहिटी फर्काउने उद्घोष गरेका थिए कमल थापाले।
'राजा आउ देश बचाउ होइन, अब जनता आउ राजा ल्याउ' हाम्रो नारा हुनेछ भन्दै घोषणा गरेका थापाले अध्यक्षमा लिङ्देनले शपथ लिँदै गर्दा दु:खी हुँदै ट्वीटरमा चर्चित गीत 'पोहोर साल खुशी फाट्दा' सेयर गरेका थिए।
निर्मल निवासलाई आफूले चुनावभन्दा माथि उठेको संस्थाको रुपमा हेर्दै आएकोमा अहिले त्यो सोच परिवर्तन भएको थापाको तर्क रह्यो।
'तर निर्मल निवासको पार्टीमा हस्ताक्षेप साधारण कुरा हैन। निर्मल निवास केवल एक नागरिकको बसोवास गर्ने घर हैन। त्यसलाई हामीले राजसंस्थाको सचिवालयको रुपमा हेरेका थियौँ,' उनले भने, 'हामीले परिकल्पना गरेको राजसंस्था अभिभावक चुनावीभन्दा माथि उठेको माओवादीसम्मलाई चित्त बुझ्ने सेरेमोनियल राजा हुनुपर्छ भनेर हामीले वकालत गर्यौँ। यो विपरीत निर्मल निवास सक्रिय भएर राजसंस्थाको प्रतिनिधिहरुको हस्ताक्षेप साधारण हैन।'
'हामीले परिकल्पना गरेको राजा त्यस्तो हैन,' थापाले भने, 'भोलि राजसंस्था स्थापना भयो भने कुनै पार्टीमाथि हस्ताक्षेप हुँदैन भनेर कसरी विश्वाश गर्ने?'
निर्मल निवासको हस्ताक्षेप आफूलाई हराउनमात्र नभई राप्रपालाई राजाको भजन मण्डली बनाउन प्रयास गरिएको उनको दाबी रह्यो। राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने मुद्दा लिएर चुनावहरुमा होमिने थापाले भने, 'यो हस्ताक्षेप व्यक्तिगत रुपमा कमल थापालाई हराउनमात्र हैन। राप्रपालाई कमजोर बनाउन राप्रपालाई भजनमण्डलीका रुपमामात्र परिणत गराउन खोजिएको छ।'
राप्रपाको ३१ वर्षे इतिहासमा पछिल्लोपटक निर्मल निवासले पटकपटक पार्टीमा हस्ताक्षेप गरेको उनको दाबी रह्यो। 'राप्रपा निर्मल निवासको रिमोट कन्ट्रोलबाट चलोस् भन्ने चाहन्छ?' प्रश्न गर्दै थापाले भने, '३१ वर्षे इतिहासमा आन्तरिक मामिलामा राजा वीरेन्द्र र ज्ञानेन्द्रले हस्ताक्षेप भएको थिएन। ७३ सालबाट पटकपटक हस्तक्षेप शुरु भयो। हामीले पार्टी मिलाउँदा २०७३ सालमा ६ महिनामै पार्टी फुट्यो।'