हेटौंडा : गृह जिल्ला आएर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा गरेका कमल थापाले नयाँ पार्टी खोल्ने तयारी गरेका छन्। आज हेटौंडामा राप्रपा परित्याग गरेको घोषणा गर्दै थापाले अब नयाँ ढंगबाट अगाडि बढ्ने बताए।
पार्टीभित्र निरीह, लाचार र अपमानित भएर बस्न नसक्ने भन्दै उनले नयाँ यात्राका लागि सबै कार्यकर्ताहरुलाई साथ सहयोग गर्न आग्रह समेत गरे।यसलाई एउटा अवसरका रुपमा लिएको समेत थापाले बताए। उनले केही समय कठिन र चुनौतिपूर्ण अवस्था रहे पनि आफ्नो यात्राले चाँडो गन्तव्यमा पुर्याउने आत्मविश्वासहित नयाँ यात्रामा लाग्ने बताए।
उनले सहयोगका लागि आग्रह गर्दै कार्यकर्ताहरुलाई निराश नबनाउने प्रतिवद्धता पनि व्यक्त गरे।
‘यस यात्रा साधारण होइन। यो राप्रपाको विभाजन होइन। यो यात्रा नितान्त नवीन विचारको आधारमा हुन्छ। यसैले यो नवीन विचारधारामा जानका निमित्त जो मन बचनले प्रतिवद्ध हुनुहुन्छ, यस्ता साथीहरुलाई म आग्रह गर्न चाहन्छु,' थापाले भने।
उनले जसलाई आफूमाथि भरोसा छैन, उनीहरुलाई करकाप नगर्ने समेत बताएका छन्।
'आफ्नो अन्तरआत्मलाई सोध्नुस्’, थापाले भनेका छन्, ‘कमल थापाको इमान र विवेकलाई दाँज्नुहोस्। तपाईँहरुलाई ठीक लाग्यो भने मलाई साथ दिनुहोस्। ठीक लाग्दैन भने मेरो कसैसँग गुनासो छैन।'
साथ दिए पनि नदिए पनि आफ्नो सम्बन्ध यथावत रहने बताए।
उनले अबको नयाँ यात्रामा विगतका कमी कमजोरीहरुलाई सच्याएर अगाडि बढ्ने प्रतिवद्धता पनि जनाए। स्थानीय तहको चुनाव समेत नजिक आइसकेकोले अब सोच्ने समय धेरै नभएको स्वीकार्दै उनले सोचेर निर्णय दिन कार्यकर्ताहरुलाई आग्रह गरे। गृह जिल्लामा कार्यकर्ताहरुसँग भेटे लगत्तै थापा काठमाडौंतिर लागेका छन्।
पार्टी छाड्दा राजाको आलोचना
पार्टी छाड्दै गर्दा थापाले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्धको तुष पुन: छरपष्ट पारेका छन्। हेटौंडाको होटल प्रकाशमा पार्टी छाड्ने घोषणा गर्दा थापाले पूर्वराजा, राजाको सचिवालय र निर्मल निवासविरुद्ध आगो ओकले।
'महाधिवेशनको क्रममा राजा, राजाको सचिवालय र निर्मल निवासबाट जुन नांगो हस्ताक्षेप भयो। त्यो मेरो र समग्र पार्टीको निमित्त चिन्ताको विषय थियो,' कलम थापाले भने, 'निर्वाचनको क्रममा निर्मल निवासका सचिवहरुले पार्टीका शीर्ष नेताहरुले जिल्ला तहसम्मका नेताहरुलाई महाराजधिराजको चाहना यसपटक कमल थापालाई हराउने छ भन्दै प्रचारप्रसार र लोभलालच देखाउने काम भयो।'
उनले नियोजित ढंगबाट पार्टीको केन्द्रीय महाधिवेशनमा ४ सयभन्दा धेरै मत बदर भएको सन्दर्भ उठाउँदै चुनावमा यसबारे सजग हुन नसकेको स्वीकारे।
गत मंसिर १९ गते अध्यक्षमा पराजित भएपछि सामाजिक सञ्जालमा थापाले पूर्व राजाविरुद्ध रोष प्रकट गरेका थिए। त्यतिबेला उनले भनेका थिए, 'सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना। '
यसैगरी महाधिवेशनको उद्घाटन सत्रमा राजालाई नारायणहिटी फर्काउने उद्घोष गरेका थिए कमल थापाले।
'राजा आउ देश बचाउ होइन, अब जनता आउ राजा ल्याउ' हाम्रो नारा हुनेछ भन्दै घोषणा गरेका थापाले अध्यक्षमा लिङ्देनले शपथ लिँदै गर्दा दु:खी हुँदै ट्वीटरमा चर्चित गीत 'पोहोर साल खुशी फाट्दा' सेयर गरेका थिए।
निर्मल निवासलाई आफूले चुनावभन्दा माथि उठेको संस्थाको रुपमा हेर्दै आएकोमा अहिले त्यो सोच परिवर्तन भएको थापाको तर्क रह्यो।
'तर निर्मल निवासको पार्टीमा हस्ताक्षेप साधारण कुरा हैन। निर्मल निवास केवल एक नागरिकको बसोवास गर्ने घर हैन। त्यसलाई हामीले राजसंस्थाको सचिवालयको रुपमा हेरेका थियौँ,' उनले भने, 'हामीले परिकल्पना गरेको राजसंस्था अभिभावक चुनावीभन्दा माथि उठेको माओवादीसम्मलाई चित्त बुझ्ने सेरेमोनियल राजा हुनुपर्छ भनेर हामीले वकालत गर्यौँ। यो विपरीत निर्मल निवास सक्रिय भएर राजसंस्थाको प्रतिनिधिहरुको हस्ताक्षेप साधारण हैन।'
'हामीले परिकल्पना गरेको राजा त्यस्तो हैन,' थापाले भने, 'भोलि राजसंस्था स्थापना भयो भने कुनै पार्टीमाथि हस्ताक्षेप हुँदैन भनेर कसरी विश्वाश गर्ने?'
निर्मल निवासको हस्ताक्षेप आफूलाई हराउनमात्र नभई राप्रपालाई राजाको भजन मण्डली बनाउन प्रयास गरिएको उनको दाबी रह्यो। राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने मुद्दा लिएर चुनावहरुमा होमिने थापाले भने, 'यो हस्ताक्षेप व्यक्तिगत रुपमा कमल थापालाई हराउनमात्र हैन। राप्रपालाई कमजोर बनाउन राप्रपालाई भजनमण्डलीका रुपमामात्र परिणत गराउन खोजिएको छ।'
राप्रपाको ३१ वर्षे इतिहासमा पछिल्लोपटक निर्मल निवासले पटकपटक पार्टीमा हस्ताक्षेप गरेको उनको दाबी रह्यो। 'राप्रपा निर्मल निवासको रिमोट कन्ट्रोलबाट चलोस् भन्ने चाहन्छ?' प्रश्न गर्दै थापाले भने, '३१ वर्षे इतिहासमा आन्तरिक मामिलामा राजा वीरेन्द्र र ज्ञानेन्द्रले हस्ताक्षेप भएको थिएन। ७३ सालबाट पटकपटक हस्तक्षेप शुरु भयो। हामीले पार्टी मिलाउँदा २०७३ सालमा ६ महिनामै पार्टी फुट्यो।'