PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

यूपी मे का बा ? : जब योगी र मोदीको चुनावी अभियानलाई काउन्टर दिँदै नेहाले गाइन् यस्तो गीत



पहिलोपोस्ट

यूपी मे का बा ? : जब योगी र मोदीको चुनावी अभियानलाई काउन्टर दिँदै नेहाले गाइन् यस्तो गीत

उत्तर प्रदेशमा बिहीवारबाट विधान सभा निर्वाचन सुरु भएको छ। सात चरणमा हुने निर्वाचनको पहिलो चरणमा ११ वटा जिल्लामा निर्वाचन भएको छ। धेरै जनसंख्या भएको उत्तर प्रदेशको निर्वाचन जहिले पनि भारतका राजनीतिक दलहरुका लागि अत्याधिक महत्वपूर्ण हुनेगर्छ। भारतकै सबैभन्दा बढी जनसंख्या रहेको यस प्रदेशमा बिहीवार दुई करोड भन्दा धेरैले मतदान गर्दैछन्।

उत्तर प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) आफ्नो सरकारको निरन्तरता चाहन्छ। उत्तर प्रदेशमा पराजित हुन पुगे केन्द्रमा रहेको नरेन्द्र मोदी सरकारलाई ठूलै झट्का लाग्ने भएकाले पनि मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको सरकार अहिले आफूले गरेका कामको प्रचार प्रसारमा लागेको छ। भाजपाले मोदीका विश्वासपात्र योगीलाई नै फेरि उत्तर प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रुपमा अघि सारेको छ। भाजपाको केन्द्रीय नेतृत्व र राष्ट्रिय स्वयम् सेवक संघ ‘आरएसएस’ को समर्थनमा योगी फेरि उत्तर प्रदेशमा नेतृत्व दोहर्‍याउने दाउमा छन्।

मोदी उत्तर प्रदेशमा पराजय ब्यहोर्न चाहँदैनन्। त्यसैले फेरि उनले योगीलाई नै अघि सारेका हुन्। र, यतिखेर भाजपाको पूरा शक्ति उत्तर प्रदेशमा केन्द्रित गरेका छन् उनले।

भाजपाबाट लोकसभामा प्रतिनिधित्व गर्ने कलाकार रवि किशनले जनवरी पहिलो साता उत्तर प्रदेशको चुनावी माहोललाई तताए गीतमार्फत्। उनले 'यूपीमे सब बा' गीत ल्याए जसमा योगी सरकारले उत्तर प्रदेशमा भब्य विकास गरेको उल्लेख छ। किसानको समस्या हल गरेकोदेखि विकास निर्माणका काममा योगी सरकारले उपलब्धि हासिल गरेको उनको गीतबाट झल्किन्छ।

हिन्दुवादी योगीले मुस्लिम समुदायको पनि राम्रै उपस्थिति रहेको उत्तर प्रदेशमा निर्वाचन अघि राष्ट्रवादी कार्ड खेलेका छन्। पहिलो चरणको निर्वाचन अघि उनले मतदाताहरुलाई मतदान गर्न अपील गर्दै उत्तर प्रदेशलाई कश्मीर, केरला र पश्चिम बंगाल बनाउनबाट रोक्न भनेका थिए।

निर्वाचन सुरु हुनु एक दिन अघि स्वयम् मोदीले योगी आदित्यनाथका लागि अन्तर्वार्ता दिँदै फेरि भाजपाका लागि मत मागे। उनले योगी सरकारले प्रदेशको सुरक्षा व्यवस्था सुधार गरेको र विकासका काम गरेको दाबी गरे।

मोदी आफैँ र पूरा भाजपा नै उत्तर प्रदेशमा फेरि सरकार बनाउन चुनावी मैदानमा होमिँदा एक गीत निकै चर्चामा रह्यो। गीतमा योगी सरकार र रवि किसनको गीतलाई काउन्टर दिइएको थियो।

गीतले भन्छ :

यूपी मे का बा

अरे बाबा के दरबार बा

खतम रोजगार बा

हाथ रस के निर्णय जोहत लडकी के परिवार बा

अरे का बा, यूपी मे का बा

गीतमा योगी सरकारले काम नगरेको सन्देश दिन खोजिएको छ। उत्तर प्रदेशका जनताहरुको पीडा उस्तै रहेको भाव गीतमा समेटिएको छ। गीतमार्फत् योगी सरकारको कडा आलोचना गरिएको छ। १६ जनवरीमा रिलिज भएको गीतमा स्वर छ नेहा सिंह राठौरको।

नेहाको उक्त गीतलाई लिएर सत्ताधारी भाजपाका नेताले आलोचना गरिरहेका छन्। गीत ल्याएकै कारण उनीमाथि सामाजिक सञ्जालमा ट्रोल गरिँदैछ। साथै, उनलाई धम्की समेत आइरहेको भारतीय सञ्चारमाधममा उल्लेख छ। तर, आलोचना र दबाब बिच उनले गीतको दोस्रो भर्सन समेत निकालेकी छिन्।

दोस्रो भर्सनमा उनले भनिन्, 'यूपे मे का बा, रेप अपहरण नेता जी के जाहिर मिजाज बा, का हो भैया, का हो बहनी इ हे रामराज बा,यूपी मे का बा।'

दुई गीत पछि धेरै आलोचना ब्यहोरेकी नेहाले भारतीय संचारमाध्यमसँग कुराकारी गर्दै जति नै धम्की आए पनि जनताको पक्षमा बोल्न नछाड्ने तर्क गरिन्। सरकारले आफ्नो आवाज दबाउन खोजिरहेको उनको आरोप छ।

चुनावी माहोलकै बिच उनले केही दिन अघि मात्रै गीतको तेस्रो भर्सन निकालेकी छिन्। निर्वाचन सुरु हुनुअघि उनले सार्वजनिक गरेको गीतमा उनले बेरोजगारी, असुरक्षा लगायतका विषयमा बोलेकी छिन्।

उत्तर प्रदेशको निर्वाचनमा भारतीय जनता पार्टीले मुख्यमन्त्री योगी आदित्यनाथलाई नै फेरि मुख्यमन्त्री पदका लागि अघि सार्दा समाजवादी पार्टीबाट अखिलेश यादव गठबन्धन बनाएर प्रतिस्पर्धामा छन्। भारतीय कांग्रसबाट मुख्यमन्त्रीको नाम सार्वजनिक गरिएको छैन। प्रियंका गान्धीलाई उत्तर प्रदेशको अनुहारको रुपमा ‘प्रोजेक्ट’ गर्ने गरिएको छ। तर, उनले उत्तर प्रदेशमा जहाँ पनि आफू नै देखिएको भन्दै मुख्यमन्त्री बारे निर्णय भइनसकेको बताएकी छिन्।

यस्तै, आम आदमी पार्टीबाट संजय सिंहलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरी आपले उत्तर प्रदेशमा चुनावी अभियान अघि बढाएको छ। बहुजन समाजवादी पार्टीबाट उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावती फेरि शक्तिमा फर्किने दाउमा छिन्।

भाजपा र योगीलाई रोक्न नेहाको यही गीतलाई विपक्षीहरुले प्रयोग गरिरहेका छन्। नेहाको यो गीतले पनि आम मतदातामा प्रभाव पार्नसक्ने अनुमान गरिएको छ।

चुनाव सुरु भएको दिन पनि उनले गीत सार्वजनिक गर्दै सबैलाई मत दिन जान आह्वान गरेकी छिन्। आफ्नो अधिकारको प्रयोग गर्दै बौद्धिकता देखाउन समेत उनले भनेकी छिन्।

भोजपुरी गायिका राठोरले युट्युबबाट सन् २०२० मा बिहार विधानसभाको निर्वाचनको बेलामा 'बिहारमा का बा' गीत ल्याएकी थिइन्। त्यसबेला पनि उनको गीत चर्चामा रहेको थियो। उक्त गीतमा उनले बिहारको मजदुर समस्या उजागर गरेकी थिइन्।

उनी भोजपुरी संगीतलाई लिएर धेरै ‘अश्लीलता’ फैलाउने काम भएको भन्दै ‘भोजपुरी बचाउ आन्दोलन’ सुरु गरेको बताउँछन्। उनी युटयुबबाट भोजपुरी ग्रामीण गीत संगित र लोकभाका सिकाउने समेत गर्छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell