PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

२४ लाख खोप अनियमितताको आरोप लागेपछि बनेको छानविन समितिको निष्कर्ष : हराएको छैन, उल्टै साढे चार लाख थपियो कसरी?



पहिलोपोस्ट

२४ लाख खोप अनियमितताको आरोप लागेपछि बनेको छानविन समितिको निष्कर्ष : हराएको छैन, उल्टै साढे चार लाख थपियो कसरी?

काठमाडौं : नेपालमा प्राप्त खोप र स्वास्थ्य मन्त्रालयको खोपको वितरण र मौज्दात तथ्यांक केलाउँदा २४ लाख खोप हराएको भन्दै समाचार आए। यस्तो समाचार आएसँगै स्वास्थ्यमन्त्री विरोध खतिवडाको विरोधमात्र भएन्। उनी विरुद्ध प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन युवा संघले अख्तियारमा छानविनको माग गर्दै उजुरी समेत दियो।

स्वास्थ्यमन्त्री खतिवडाले खोप वितरणमा अनियमितता नभएको र नहराएको बताइरहे। उनले खोप हराएको भन्दै मिडियामा समाचार आएपछि छानविन समिति नै गठन गरे र छानविनको जिम्मा लगाए।

माघ २८  गते पत्रकार सम्मेलन गरी १०० दिनको उपलब्धी सुनाउँदै गर्दा पनि उनले ‘खोप हराएको’ विषयलाई उठाए। पत्रकारहरुले खोप हराएको विषयमा प्रश्न नगरेको भन्दै उनी आफैले प्रश्न गरे, आफैले उत्तर दिए-

‘तपाईँले गर्नुपर्ने प्रश्न छैन भने तपाईँले गर्नुपर्ने प्रश्न म आफैँले गर्छु। २४ लाख खोप हराएको भन्ने प्रश्न तपाईँले गर्नुपर्थ्यो। तपाईँले गर्नु भएन्। म विरोध भएकोले म नै प्रश्न गरेर विरोधीको भूमिका निर्वाह गर्छु। खोप हराएको होइन। हामी गाउँगाउँ र गाउँको पनि टोलटोलमा स्वास्थ्यकर्मी साथीहरु खोप बोकेर जानुभएको छ। त्यसको रेकर्ड संस्थागत ढंगले माथिसम्म आउन बाटामा रहेको ग्यापका कुरा। अर्को वेस्टेज जस्तो १० वटा ८ वटा पाँच वटा भ्याक्सिनका प्याकेटहरु दिनभरी लाउँदै जाँदा अन्तिममा १० वटाको प्याकेट खोलियो २ जनाले मात्र लगाउनु भयो भने त्यो ८ वटा खेर जान्छ।‘

मन्त्रालयले प्रमुख विशेषज्ञ डाक्टर गुणराज लोहनीको संयोजकत्वमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उप सचिव अनिल थापा, उप स्वास्थ्य प्रशासक डाक्टर अभियान गौतम सदस्य र वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर गुणनिधि शर्मा सदस्य सचिव रहेको छानविन समिति बनाएको थियो। छानविन समितिलाई १५ दिनको कार्यावधि दिएको छानविन समितिले प्रतिवेदन बुझाएको छ।

समाचारमा आएको समाचारको उल्टो समितिले खोप थपिएको तथ्यांकसहितको रिपोर्ट बुझाएको छ।

समितिले बुझाएको प्रतिवेदनमा साढे चार लाख भन्दा धेरै मात्रा खोप बढी देखाएको छ। समितिको प्रतिवेदनमा मे २१ सम्म कोभिड-१९ विरुद्ध प्राप्त खोप, खोपको मौज्दात र खोप लगाएको मात्राको आधारमा चार लाख ५५ हजार ३५५ मात्र खोप बढी देखिएको छ।

सो अवधिमा नेपालले अनुदान र खरिदबाट चार करोड ५७ लाख ८ हजार ६४० खोप आएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै सो अधिमा तीन करोड ३८ लाख २५ हजार ३३० मात्रा खोप लगाइएको उल्लेख छ।

यसरी हेर्दा नेपालले प्राप्त गरेको खोप भन्दा चार लाख ५५ हजार ३५५ मात्रा खोप बढी देखिएको छ।

कसरी?

प्रतिवेदनमै जवाफ छ- ‘विभिन्न स्थानहरुमा गरिएको स्थलगत अवलोकन अन्तर्क्रिया र सन्दर्भ सामाग्रीको अध्ययन गर्दा १० मात्राको भायलमा ११ जनालाई खोप लगाएको देखिन्छ।’

छानविन समितिको प्रतिवेदनमा कोभिड-१९ खोप कार्यक्रममा ५ ओटा समस्याहरु देखिएको समेत उल्लेख छ।

प्रतिवेदनमा केही जिल्ला तथा स्थानीय तहमा हस्तान्तरण फारम, मौज्दात र खोप लगाएको विवरणको अभिलेख नियमित र पूर्ण रुपमा अध्यावधिक हुन नसकेको उल्लेख छ। खोप मौज्दात पूर्ण रुपमा ई-एलएमआईएस (इलेक्ट्रोनिक लजिस्टिक म्यानेजमेन्ट इन्फरमेसन सिस्टम)मा प्रविष्ट नभएको, खोप सेसन संचालन पश्चात अभिलेखलाई डीएचआईएस-२ भित्रको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा दैनिक प्रविष्ट हुन नसकेको, खोप दिने स्वास्थ्य संस्थाले खोप कभरेजको अभिलेख राख्न रजिष्टरको पूर्ण रुपमा प्रयोग गर्न नसकेको समेत प्रतिवेदनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell