
काठमाडौं : नेपाली क्रिकेट टोली अहिले विश्वकप क्वालिफायर्सको पूर्वसन्ध्यामा छ। शुक्रवार नेपालले ओमनसँग खेल्दै विश्वकप क्वालिफायर्समा आफ्नो दाबेदारी दिँदैछ।
प्रतियोगिताका लागि ओमन पुगेको नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले टोलीको तयारी राम्रो भएको बताए।
'टिमको राम्रो सेप बनेको छ। यद्यपि केही महत्वपूर्ण खेलाडीहरु चोटका कारण टिम बाहिर छन्,'उनले अगाडि भने, 'ब्याटिङमा पनि राम्रो सेपिङ भएको छ। फास्ट बलिङ र स्पिनरहरुले राम्रो गरिरहेका छन्। समग्रमा राम्रो भइरहेको छ, म खुशी छु।'
सम्बन्धित समाचार : विश्वकप छनोटका लागि हामी सक्षम छौं : सन्दीप लामिछाने
नेपालले विश्वकप क्वालिफायर्स अघि ओमन, यूएई र आयरल्याण्डसँग सिरिज खेलेको थियो जसमा ओमनलाई हराएको थियो भने यूएई र आयरल्याण्डसँग पराजित भएको थियो। यी तीनवटै खेलहरुले खेलाडीलाई धेरै कुरा सिकाएको प्रशिक्षक दासानायकेले बताए।
'तयारी एकदमै राम्रो भएको छ। सिरिजलाई लिएर मलाई गुनासो छैन। खेलाडीहरुले एकदमै राम्रो खेल खेले। नतिजा जे भए पनि हामी एकदमै नजिक थियौं। यी खेलपछि सबै टीम कन्फिडेन्ट छ,' उनले भने।
नेपालले भोलि ओमनसँग खेल्नेछ भने शनिवार फिलिपिन्ससँग र सोमवार क्यानडासँग खेल्नेछ।