PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ठाउँ ठाउँमा बर्डफ्लू देखिए पनि किन बढ्दैछ कुखुराको मासुमा भाउ?



सरला सुवेदी

ठाउँ ठाउँमा बर्डफ्लू देखिए पनि किन बढ्दैछ कुखुराको मासुमा भाउ?

काठमाडौं : कुनै समय थियो, देशको एक स्थानमा बर्डफ्लु देखिँदा देशभर कुखुराको मासु किनबेच प्रभावित हुन्थ्यो। उपभोक्ता डराउँदा बजारमा कुखुराको मासुको माग ह्वात्तै घट्थ्यो। जसले गर्दा मासुको भाउ घटाउन बाध्य हुन्थे बिक्रेता।

यसपटक भने बर्डफ्लु देखिँदा पनि कुखुराको मासुको भाउ बढेको छ। कारोबार पनि घटेको छैन। मासु महँगिदै खुद्रामा प्रतिकेजी ३ सय ६० रुपैयाँ पुगेको छ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अनुसार मागमा वृद्धिका तुलनामा उत्पादन लागत वृद्धि र परिमाण भने घटेका कारण मूल्य बढाउनु परेको संघले जनाएको छ। संघका अनुसार जिउँदो कुखुरा प्रतिकेजी १० रुपैयाँ र तयारी मासुको मूल्यमा प्रतिकेजी १५ रुपैयाँ बढाइएको छ।

नयाँ मूल्य अनुसार जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकेजी २ सय ६० कायम भएको छ भने तयारी मासु प्रतिकेजी ३ सय ६० रुपैयाँ तोकिएको छ। यसअघि जिउँदो कुखुरा प्रतिकेजी २ सय ५० रुपैयाँ थियो भने मासु प्रतिकेजी ३ सय ४५ रुपैयाँ थियो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा विभागले गत साता काठमाडौं र चितवनमा किसानले पालेका कुखुरामा बर्ड फ्लूको संक्रमण देखिएको सूचना जारी गर्‍यो। काठमाडौंको गोकर्णेश्वर-३ बालुवाखानी र चितवनको राप्ती-६ मा अनिता कृषि पशुपन्छी फर्मका कुखुरामा बर्ड फ्लूको संक्रमण फैलिएको पुष्टि भएको थियो।

बर्ड फ्लू देखिएपछि गोकर्णेश्वरमा २० वटा रैथाने कुखुरा, ५ परेवा र ३ लौकाट नष्ट गरिएको विभागले जनाएको छ। त्यस्तै, चितवनमा १ हजार ९ सय १३ वटा लेयर्स कुखुरा, १४ वटा हाँस, २० गोटा हाँसको अन्डा, १ हजार केजी दाना र ३ सय ५० वटा अन्डाको क्रेट नष्ट गरिएको सूचनामा उल्लेख छ।

फागुन ५ गतेको मन्त्रिपरिषद्ले यी क्षेत्रलाई केन्द्र मानी यस क्षेत्र वरपरका १०० मिटर सम्मको क्षेत्रमा पंक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिन अवधिसम्मका लागि बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णयसमेत गर्‍यो।

बर्डफ्लु पाइएका क्षेत्रबाट उत्पादित कुखुरा बिक्रीको मुख्य बजार काठमाडौं हो। तर बर्डफ्लुको खबर बाहरिए पनि यसपटक बजार भाउ घटेन, बरु खपतसँगै दाना महँगिएको भन्दै व्यवसायीले बढाए।

केही समयदेखि दानाको मूल्य बढ्दै गएको पोल्ट्री व्यवसायीको भनाइ छ। हिउँदमा खोरको तापक्रम व्यवस्थापनमा समस्या हुँदा व्यवसायीले खोरमा हाल्ने चल्ला संख्या घटाउने गरेका छन्। यसपटक पनि घटाएका व्यवसायी गत महिना स्वास्थानी व्रतको समय सम्झेर खपत कम हुने ठानिरहेका थिए। बितेका वर्ष यस्तो बेला बिक्री घट्ने भएकाले मूल्य घट्ने गरेको थियो।

'यो पटक उत्पादन कम हुनु नौलो भएन, खपत घटेन, लागत बढ्यो, त्यसैले मूल्य बढेको हो,' संघका सचिव देव गिरिले भने। यसअघि उत्पादन बढी हुँदा जिउँदो कुखुराको मूल्य घटेर प्रतिकेजी २ सय १० रुपैयाँमा आइपुगेको थियो भने तयारी मासु प्रतिकेजी ३ सय ५ रुपैयाँ भएको थियो।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले प्रभावित जनजीवन सामान्य हुन थालेसँगै यतिबेला कुखुराको मासुको खपत बढ्न थालेको छ। व्यवसायीका अनुसार कलेज, स्कुलका होस्टल, खाजा पसलहरु, होटल-रेष्टुरेन्ट लगायत सबै खुल्न थालेपछि खपत बढेको हो। दाना र चल्लाको मूल्य बढ्दा किसान तथा पोल्ट्री फर्महरुले लागतका तुलनामा जाडोमा कारोबारबाट फाइदा नहुने आँकलन गर्दै कुखुरा उत्पादन  घटाएका थिए।

कात्तिकपछि चिसो मौसमले कुखुरा उत्पादन बढाउन गाह्रो हुन्थ्यो। खोरमा हालेका चल्ला बिक्रीका लागि तयार हुन ४० देखि ४५ दिन लाग्छ।तयार भएका कुखुरा खोरबाट झिक्न ढिला हुँदा पनि घाटा लाग्छ।

दानाको मूल्य बोरामा ५ सयदेखि एक हजार रुपैयाँसम्‍म बढेको सचिव देव गिरिले बताए। 'गतवर्ष प्रतिबोरा ३ हजार/३२ सय पर्ने दानाको बोरा अहिले ४ हजार रुपैयाँसम्म पर्न थालेको छ,' उनले भने, 'दानाको मूल्य बढ्दाको असर कुखुरा उत्पादनमा सोझै पर्छ।'

अहिले बजारमा लुकीछिपी भारतीय कुखुरा बढी आइरहेको व्यवसायीहरुले बताएका छन्। स्वदेशी उत्पादनले बजारलाई नपुग्ने देखिएपछि सीमा क्षेत्रबाट लुकिछिपी अवैधरूपमा भित्र्याउने सक्रिय भएका छन्। भारतबाट कुखुरा नआए बजारमा मासु अभाव हुने व्यवसायीहरुको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell