PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

एमसीसीको बालुवाटार टु बालकोट एक्सप्रेस : संसद् अवरोध एमालेलाई पनि घाँडो बन्दै



नेत्र तामाङ

एमसीसीको बालुवाटार टु बालकोट एक्सप्रेस : संसद् अवरोध एमालेलाई पनि घाँडो बन्दै

काठमाडौं : अमेरिकी सहायता परियोजना एमसीसीसँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्नैपर्ने दिन नजिकिएको छ। तर सत्ता सहयात्री दल माओवादी केन्द्र नै एमसीसीको बाधक बनेपछि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका लागि यो निकै पेचिलो बन्दै छ।

५०० मिलियन अमेरिकी डलर सहयता फागुन १६ गतेसम्ममा अनुमोदन नभए समय नथप्ने एमसीसीले चेतावनी दिइसकेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट यो विषयमा पार लाग्ने नदेखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलको साथ खोजेका छन्। कांग्रेस सभापतिसमेत रहेका देउवाले एमसीसी संसदबाट अनुमोदन गराउन एमालेको साथ खोज्दै अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट नै पुगे।

फागुन ५ गते राति पत्नी आरजु हित बालकोट पुगेका प्रधानमन्त्री देउवाले झन्डै डेढ घण्टा ओलीसँग कुराकानी गरे।

भोलिपल्टका लागि संसद् बैठक डाकिएको थियो। एमालेले संसद् बैठक अवरोध जारी राखेकाले उक्त भेटमा सदन खुलाउन देउवाले आग्रह गरेका थिए।

'संसदलाई खुलाउनु प्रधानमन्त्रीजीको जति दायित्व हो। संसदलाई जीवन्त बनाउन प्रमुख प्रतिपक्षी दलका नेताको पनि त्यतिकै दायित्व र भूमिका रहन्छ। यसै विषयमा छलफल गर्न प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट्नुभएको थियो,' सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भेटबारे भोलिपल्ट भनेका थिए।

तर उक्त भेटमा ओलीले माधव नेपालको दल एकीकृत समाजवादीमा गएका १४ जनालाई कारबाही गर्न र सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन माग गरेका थिए। यसबारे कुरा नमिलेपछि प्रधानमन्त्री बालुवाटार फर्के।

त्यसको ५ दिनपछि ओली बालुवाटार पुगे यही विषयमा छलफल गर्न। अमेरिकी राजदूत र्‍यान्डी बेरीसँगको भेटपछि मंगलबार साँझ ओली प्रधानमन्त्री देउवासँग भेट गर्न बालुवाटार पुगेका थिए

प्रधानमन्त्रीको सचिवालयले दुई नेताबीच समसामयिक विषयमा छलफल भएको जनायो। यसअघि ओली माघ २३ गते बालुवाटार पुगेका थिए। उक्त समयमा प्रचण्डसँगै देउवा र ओलीको त्रिपक्षीय छलफल भएको थियो।

बानेश्वरमा ब्रेकैब्रेक
सदनमा बिहीबार एमसीसीमाथि सामान्य छलफल हुने कार्यतालिका थियो। तर सदन सुरु हुनै लाग्दा एकाएक बैठक स्थगित भयो। प्रधानमन्त्री देउवाको आग्रहमा बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको बताइयो।

लगत्तै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल थाले। नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको भेट सकारात्मक भएको कांग्रेस महामन्त्री गगन थापाले बताएका थिए।

'यो गठबन्धन अघि बढ्ने विषयमा त अब समस्या आयो आयो, सदन खोलौँ भन्ने विषयमा हामी एक ठाउँमा आयौँ,' प्रधानमन्त्री देउवा र ओलीबीचको भेटपछि महामन्त्री थापाले भनेका थिए।

थप छलफलका लागि बालुवाटारमा ओली नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेलसहित पुगे। झन्डै दुई घण्टा छलफल भयो। भेट सकिएपछि सरकारका प्रवक्ता कार्कीले कुरा खासै अगाडि नबढेको सञ्चारकर्मीलाई बताए।

'केपी शर्मा ओलीजीले अहिलेको बैठकमा पनि पुरानै कुरा राख्नुभयो। प्रधानमन्त्रीले करिब ६ महिनादेखि संसद् अवरुद्ध छ यो संसदलाई व्यवस्थित ढंगले चलाऔँ भनेर प्रमुख प्रतिपक्षी दलका नेतासँग पनि संसद् भवनमा पनि लामो छलफल भएको थियो। प्रधानमन्त्रीले सबैको सहयोगमा संसदबाट एमसीसी अनुमोदन गरौँ भन्ने प्रस्ताव गर्नुभयो,' दुई दलको बैठकपछि प्रवक्ता कार्कीले भने, 'ओलीले पुरानै कुरा राख्नुभयो। हामीले जुन कारणले संसदमा प्रवेश गर्न सकेको छैन। त्यो कारण तपाईंलाई पनि थाहा छ। त्यो कारणको निराकरण नभएसम्म संसदमा हामीले हाम्रो विचार राख्न कठिनाइ छ भन्नुभयो।'

कांग्रेस महामन्त्री थापाले भनेझैं सदन खुलाउने विषयमा पनि निष्कर्षमा नपुगेको कार्कीको दाबी रह्यो।

'तर निष्कर्णमा नपुगिसकेको अवस्था छ। संसदमा अवरोध हटाउन उहाँहरुले प्रतिबद्धता अझै जनाउनुभएको छैन,' प्रवक्ता कार्कीले भने।

यद्यपि संसदलाई प्रभावकारी बनाउन यो छलफल जारी रहने उनले बताए। 'यो वार्ता खास गरेर संसद बैठकलाई प्रभावकारी बनाउन जारी रहन्छ। र संसद हामीले व्यवस्थित बनाउन सकेनौँ भने संसदको भूमिकाप्रति नै जनतामा नैराश्य आउन सक्छ,' उनको भनाइ थियो।

बैठकमा सहभागी एक एमाले नेताले विभिन्न विषयमा छलफल भए पनि सहमति नभएको बताए। उनका अनुसार एमसीसी, संसद् अवरोध, एमालेले कारबाहीका लागि पठाएका सांसदको बहिर्गमन वा सभामुखको राजीनामा लगायतका विषयमा छलफल भएको थियो।

‘प्रधानमन्त्रीले एमसीसीमा सहयोग गर्न भन्नुभयो। हामीले १४ सांसदको कारबाही के हुन्छ भन्ने प्रश्न गर्‍यौँ। सभामुख हटाउने विषयमा हामीले उहाँहरुका धारणा सुन्यौँ। तर, ठोस जवाफ आएन। आज कुनै पनि विषयमा सहमति भएन। तर, कुराहरु सकारात्मक छन्,’ एमालेका शीर्ष नेताले भने।

संसद् अवरोध एमालेलाई घाँडो
एमसीसीलाई अनुमोदन गराउनुपर्छ भन्ने मध्येका एक हुन् एमाले अध्यक्ष ओली। सत्तामा रहँदा ओली पक्षधर नेताहरुले एमसीसी सिधै पास गर्दा हुने परियोजना भएको धारणा राख्थे। तर पारित गर्ने अन्तिम दिन आइपुग्दा पनि एमालेले सदन अवरोध जारी राखेको छ।

आफ्नो पार्टीबाट उछिट्टिएका १४ सांसदलाई कारबाही एमालेको मूल मुद्दा हो। अर्को मुद्दा - सभामुख सापकोटालाई पदच्यूत गर्ने। यही मुद्दाको अडान नछोडी एमालेले सदन अवरोध जारी राखेको छ।

अन्तिम दिनमा आइपुगेर एमालेलाई यही विषय अहिले घाँडो बनेको छ। एमसीसीका लागि सदन खुल्ला गरौँ ६-६ महिनाको अडान खेर जाने, नछाडौँ एमसीसीका कारण छिमेकीसँगको सम्बन्धमा दरार आउने। यही चेपुवाले गर्दा ओली पछिल्लो समय देउवासँग बालकोट बालुवाटार गर्न बाध्य भएका हुन्।

अहिलेको पाँच दलीय गठबन्धन टुट्ने अर्को आशा हो ओलीको दौडधुप पनि। कांग्रेस नेताहरुको भनाइलाई सत्य मान्ने हो भने १४ सांसदको कुरा छाडेर सभामुमलाई पदबाट हटाउन कांग्रेस तयार छ। तर दुवै अडान एमालेले नछाडेका कारण बिहीबारको एमाले कांग्रेस बैठकमा ठोस निर्णय आउन सकेन।

यद्यपि दुई दलबीच आज बिहानैदेखि पुनः छलफलमा जुट्दै छन्। यसले एमसीसीबारे निकास र आगामी राजनीतिक परिदृश्य तय हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell