PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

एमसीसीको व्याख्यात्मक टिप्पणीबारे माओवादी केन्द्रमा विवाद, वर्षमानले भने : २० गतेको केन्द्रीय कमिटीले निर्णय गर्छ



पहिलोपोस्ट

एमसीसीको व्याख्यात्मक टिप्पणीबारे माओवादी केन्द्रमा विवाद, वर्षमानले भने : २० गतेको केन्द्रीय कमिटीले निर्णय गर्छ

काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधिसभाबाट पारित गर्न सत्तारुढ गठबन्धनमा मोटामोटी सहमति जुटेको बताइएको छ। यस सम्बन्धी निर्णय केन्द्रीय कमिटीबाट हुने माओवादी केन्द्रका नेता वर्षमान पुन 'अनन्त'ले पहिलोपोस्टलाई जानकारी दिए। 

'यस विषयमा मोटामोटी सहमति जुटेको छ। निर्णय चाँही भएको होइन,' उनले भने, 'यस सम्बन्धी निर्णय केन्द्रीय समितिले गर्छ। अहिले अनौपचारिक छलफलमा भएको सहमतिलाई केन्द्रीय कमिटीले अनुमोदन गर्छ।' माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फागुन २० गते बस्ने उनले बताए। एमसीसी संसदबाट पारित गर्ने 'डेडलाइन' भने फागुन १६ गतेसम्म छ।

उनले यस विषयमा केही नेताको असहमति रहेकोसमेत जानकारी दिए। 'केही साथीहरुले असहमति व्यक्त गर्नु भयो। छलफलका क्रममा असहमतिहरु दर्ज हुन्छन्। छलफल गरेर टुंगिन्छ,' उनले भने। 

आइतवार प्रतिनिधिसभाको बैठक बस्दै छ। यही बैठक मार्फत एमसीसीलाई व्याख्यात्मक पुरक प्रस्तावसहित पारित गर्ने तयारी भइरहेको बताइएको छ। 

यसै विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आइतवार बिहान पूर्व स्थायी कमिटीका सदस्यहरुसँग परामर्श गरेका थिए। 

अनौपचारिक छलफलका क्रममा व्याख्यात्मक टिप्पणीको कुरा आए पनि कुनै निर्णय नभएको नेता लिलामणि पोखरेलले पनि दाबी गरेका छन्। 

'यो औपचारिक बैठक होइन निर्णय गर्नलाई। अध्यक्षले पूर्व स्थायी कमिटीका सदस्यहरुलाई परामर्श लागि बोलाउनु भएको हो,' उनले भने, 'व्याख्यात्मक टिप्पणीको विषयमा प्रश्न उठेको थियो। केही साथीहरु यसमा सकारात्मक भए पनि निर्णय भएको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell