
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकाको सैन्य रणनीति नै भएको दाबी गरेका छन्।
प्रतिनिधिसभामा भइरहेको एमसीसीबारे छलफलमा उनले सत्तारुढ गठबन्धनबिच भएको सहमति विपरित एमसीसीको आलोचना गरे। एकीकृत समाजवादीका अध्यक्ष संलग्न गठबन्धनको बैठकले 'व्याख्यात्मख टिप्पणी' गरेर एमसीसी पारित गर्ने निर्णय गरिसकेको छ।
मेटमणिले संसदमा भने, 'यो आर्थिक परियोजना मात्रै होइन सैन्य रणनीति पनि हो भनेर अमेरिकी अधिकारीले पनि भनेका छन्.'
उनले एमसीसी पास गरेपछि नेपालको परराष्ट्र नीतिमा समेत फेरबदल आउने दाबी गरे। उनले भने,'एमसीसी पास गरेपछि हामी असंलग्न राष्ट्रका नागरिक हुनसक्छौ? यो सामान्य पनि लाग्न सक्छ।'
महाकाली सन्धि गर्दा पनि ठुला ठुला सपना देखाइएको भन्दै चौधरीले एमसीसीका पक्षमा सांसदलाई नलाग्न आग्रह गरेका छन्।
उनले एमसीसीका सबै सूचांकमा पास नभएरै नेपालमा ल्याइएको बताए। '२३ वटामै नेपाल उत्कृष्ट हुनुपर्थ्यो नेपाल भएन। घर घरमा देउसी भैलोको स्टाइलमा आयो,'चौधरीको भनाइ छ।
उनी अघि संसदमा एमसीसीको छलफलमा भाग लिएका एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि एमसीसीको विरोध गरेका थिए।
सम्बन्धित समाचार : गठबन्धनमा भएको सहमति प्रति झलनाथको असहमति, 'व्याख्यात्मक टिप्पणी अमेरिका र एमसीसीले स्वीकार गर्छ?'