PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

एमसीसीको व्याख्यात्मक टिप्पणी : प्रतिनिधिसभामा कसले के भने ?



पहिलोपोस्ट

एमसीसीको व्याख्यात्मक टिप्पणी : प्रतिनिधिसभामा कसले के भने ?

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट पारित भएको छ। परियोजनालाई लिएर लामो विवादपछि आज व्याख्यात्मक टिप्पणी सहित परियोजना पारित भएको हो।

सम्झौता पारित हुनु अघि प्रतिनिधिसभामा प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणामा सांसदहरू आफ्नो मत राखेका थिए।    

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा भएको उक्त सम्झौतामाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले एमसीसीले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन र पूर्वाधारको विकासका लागि सहयोग गर्ने बताइन्। उनले एमसीसीले विश्वका ४६ वटा देशहरूसँग पनि भएको र सम्झौतामा सैन्य गठनसँग नजोडिएको बताइन्। व्याख्यात्मक घोषणा सकारात्मक भएको उनको टिप्पणी छ ।

नेपाल मजदुर किसान पार्टीका   सांसद प्रेम सुवालले भने सम्झौताको विरोध गरे। उनले एमसीसी खारेज गर्नुपर्ने माग गरेका थिए। व्याख्यात्मक टिप्पणी देखावती भएको उनको टिप्पणी थियो।

सम्बन्धित समाचार : एमसीसी पारितका लागि तयार १२ बुँदे व्याख्यात्मक घोषणामा के छ?

यस्तै नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले व्याख्यात्मक घोषणा अन्तर्राष्ट्रिय रूपमै एमसीसीको अङ्ग बनेको बताए।

कांग्रेस सांसद डा मीनेन्द्र रिजालले एमसीसीका बारेमा गलत भ्रम चिर्नका लागि व्याख्यात्मक घोषणाले सहयोग गर्ने विश्वास व्यक्त गरे।

 

नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणा सकारात्मक भएको बताउँदै सो घोषणालाई अमेरिकी पक्षले पनि अनिवार्य पालना गर्नुपर्ने बताए।

नेकपा माओवादी केन्द्रका सांसद गिरीराजमणि पोखरेलले  भने एमसीसीबारे अझै स्पष्ट गर्नुपर्नेमा जोड दिएका थिए। उनले व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाएका थिए।

कांग्रेसका सांसद गगन थापाले भने अहिले एमसीसीबारे विरोध गर्ने दलका नेताहरूले एमसीसीबारे सम्झौतामा सहभागी भएको भन्दै नक्कली राष्ट्रवादी नहुन आग्रह गरेका थिए।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बिच भएको अनुदान सहायता सम्झौताका प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव बैठकको बहुमतले स्वीकृत गरेको थियो। संसद्को आजको पहिलो बैठकमा एमसिसी सम्झौताको सैद्धान्तिक पक्षमाथि छलफल भएको थियो। अर्थमन्त्री शर्माले सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell