रानीपोखरी भन्ने बित्तिकै धेरैले काठमाडौंकै रानीपोखरी सम्झन्छन्। तर, यो कथा काठमाडौंको नभइ भक्तपुरको रानीपोखरी (न्हू पुखू)को कथा हो। भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालय अन्तर्गत विज्ञान तथा व्यवस्थापन संकाय रहेको भवनको बाटो हुँदै रानीपोखरी पुग्न सकिन्छ। जसबारेमा भक्तपुरकै युवापुस्ता अन्जान हुन सक्छन्।
भक्तपुरको रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा जेठो पोखरी हो। उक्त पोखरी मल्ल राजा जगज्योति मल्लले निर्माण गर्न लगाएका थिए। काठमाडौंमा भने भक्तपुरमा पोखरी निर्माण भएको ४० वर्षपछि प्रताप मल्लले रानीपोखरी बनाउन लगाएका थिए। काठमाडौं भन्दा अघि नै पाटनका राजाले पनि रानीपोखरी बनाउन लगाएका थिए। त्यसबेला मल्ल राजाहरुका बिच भएको प्रतिस्पर्धाको ‘चिन्ह’ थियो रानीपोखरी।
आजको उद्घाटन कार्यक्रमको दृश्य : तस्विर भक्तपुर नगरपालिका
भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेको गरेका थिए। काठमाडौँको रानीपोखरी भने त्यसको ४० वर्षपछि वि.सं १७२७ मा प्रताप मल्लले बनाउन लगाएका हुन्। प्रताप मल्लले आफ्ना छोरा चक्रवतेन्द्रको मृत्युपछि आफ्नी रानीको मन बुझाउन बनाएका थिए। पाटनमा भने वि सं १७०४ मा रानीपोखरी निर्माण गरिएको थियो।
तर, यी तीनमध्ये काठमाडौंको रानीपोखरीमात्रै अस्तित्वमा रह्यो। २०७२ सालको भूकम्पले काठमाडौंको रानीपोखरीमा क्षति पुग्यो। स्थानीय सरकार आएपछि भक्तपुर र ललितपुरको रानीपोखरी पनि ब्युँताउने काम भयो। संयोग नै मान्नुपर्छ तीनवटै रानीपोखरी जिर्णोद्वारमा भक्तपुरका कालिगढले काम गरे। हाल काठमाडौं र भक्तपुरको रानीपोखरी निर्माण सम्पन्न भइसकेको छ। ललितपुरको रानीपोखरी अझै पुनर्निर्माण सम्पन्न हुने पर्खाईमा छ।
इतिहासमा भक्तपुरको रानीपोखरी
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा यहाँका पोखरी भत्काएका थिए। भक्तपुरको रानीपोखरीमा क्षति पुर्याउने पनि उनी नै थिए। उनैले भक्तपुरमा रहेको ‘भाजुपुखू’ (सिद्ध पोखरी नजिकै रहेको निर्माणधीन अर्को पोखरी) को नक्कल गर्दै काठमाडौँमा रानीपोखरी बनाएका थिए।
मल्लकालमा कान्तिपुर, भक्तपुर र पाटनका राजाहरुको सम्बन्ध राम्रो थिएन। भक्तपुरका राजा जगज्योति र कान्तिपुरका राजा प्रकाश मल्लको सम्बन्ध अझै राम्रो थिएन। तीनै देशका राजाहरु एकअर्काको राज्यलाई सुन्दर र विकसित गर्न लागिपर्थे। त्यही बेला नै जगज्योतिले बनाएका थिए रानीपोखरी। प्रताप मल्लको आँखा भक्तपुरको कला कौशलदेखि त्यही सुन्दर रानीपोखरीमा परेको थिए। फलस्वरुप पाटनका राजासँग मिलेर भक्तपुरमा आक्रमण गर्दा रानीपोखरी कान्तिपुरको सेनाको निशानामा पर्यो। प्रताप मल्लले भक्तपुर त जित्न सकेनन् तर त्यहाँको सम्पदालाई बिगार्ने काम भने गरेको श्रेष्ठ बताउँछन्।
जिर्णोद्वार अघिको रानीपोखरी
२०४० सालसम्म भक्तपुरको रानीपोखरी सबैका लागि खुला रहेको थियो। पंचायतकालीन सरकारले भने भक्तपुरको रानीपोखरीमा जनता प्रवेश गर्न रोक लगायो। रानीपोखरी क्षेत्रको करिब ३२ रोपनी क्षेत्रफल तत्कालीन सरकारले सैन्य तालिम केन्द्रको विकास गर्न अधिग्रहण गर्यो। जनताको जमिनमा सेनाको नियन्त्रणमा पुग्यो। त्यहाँ वीरेन्द्र सैनिक आवासीय महाविद्यालय (हाल सैनिक आवासीय महाविद्याल) बनाइयो, खेल मैदान बन्यो, नयाँ घर ठडिए। त्यसपछि स्थानीयहरु स्वतन्त्र रुपमा रानीपोखरी क्षेत्रमा जानबाट बञ्चित भए।
सेनाले आफ्नो सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा राखेको रानीपोखरीमा स्थानीयलाई जानुपर्ने बाध्यता थियो। किनभने त्यहाँ उनीहरुका दिगु द्य: (कुलदेवता) रहेको छ। त्यसैले वर्षको दुई दिन ‘दिगु पुजा’ गर्न स्थानीयहरुलाई सेनाले छुट दिने गरेको थियो। अरु समय जान सेनाको स्वीकृति चाहिन्थ्यो।
जिर्णोद्वार अघि रानीपोखरी छेउ कुल देवताको पूजा गर्दै भक्तपुरवासी
अब भने भक्तपुरको रानीपोखरीमा प्रवेश गर्न र कुल देवताको पुजा गर्न सेनाको स्वीकृत चाहिनेछैन। आजबाट सबैका लागि भक्तपुरको रानीपोखरी खुला भएको छ। केही समयअघिसम्म झारपातले घेरिएर ओलझेलमा परेको यो पोखरी आजबाट सर्वसाधारणका लागि खुला भएको हो। आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले रानीपोखरीको उद्घाटन गरेका हुन्।
नगरपालिकाको सफलता
आफ्नो धार्मिक र सांस्कृतिक कार्य हुने पोखरी खुला गर्नुपर्ने माग स्थानीयले गरिरहेका थिए। जनताको मागको कदर गर्दै दुई वर्ष अघि नै सेनाले रानीपोखरीलाई आफ्नो नियन्त्रणबाट मुक्त गर्दै जनताका लागि खुला गर्न सहमत भएको थियो।
भक्तपुर नगरपालिका र नेपाली सेनाबिच धेरै चरणमा भएको छलफलबाट भक्तपुरको ऐतिहासिक र सांस्कृतिक महत्वको रानीपोखरीको जिर्णोद्वार भइ पुन: सर्वसाधारणका लागि खुला भएको हो।
राजतन्त्र छँदा नै नेपाल मजदूर किसान पार्टी र स्थानीयले रानीपोखरी र अतिक्रमित जग्गा खुलाउन आवाज उठाएका थिए। तर, त्यो सफल हुन सकेको थिएन।
राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापनापछि भएको स्थानीय तहको निर्वाचनमा नेमकिपाको जितसँगै नगरपालिका प्रमुख सुनिल प्रजापति लगायतले सेनासँग वार्ता गरी रानीपोखरी पुन: खुला गराउने प्रयास गरेका थिए। अन्तत: प्रजापतिकै अग्रसरतामा भक्तपुको रानीपोखरी पुनःनिर्माण गर्दै सर्वसाधारणको लागि खुला गर्ने तथा सेनाकै अधिनमा रहेको सिद्धपोखरी उत्तरतर्फको खेल मैदान समेत स्थानीयको लागि खेलकुद प्रयोजनका लागि खुला गर्न सहमति सेनासँग भएको थियो।
आजको उद्घाटन कार्यक्रमको दृश्य : तस्विर भक्तपुर नगरपालिका
‘तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापा सँग भेटेर नगरपालिकाले रानीपोखरी पुनर्निमार्णको आवश्यक्ताबारे अवगत गराएको थियो। थापा रानीपोखरी खुला गर्ने विषयमा सहमत हुनुभयो र वार्ता टोली गठन भयो। कयौं चरणको वार्ता पछि सेनाले रानीपोखरी खुला गर्न सहमत भयो,’ प्रजापतिले उद्घाटन समारोहमा भने।
प्रजापति सबैको सहयोगमा रानीपोखरी जिर्णोद्वार सम्भव भएको बताउँछन्। विगतमा जस्तो परिस्थिति भए पनि अहिले सेना, नगरपालिका र जनता मिलेर रानीपोखरी ब्युँतिएको उनले बताए।
‘पोखरी लामो समयसम्म घाँसे मैदान र झारपातले भरियो। भक्तपुरकै नयाँ पुस्तालाई यहाँ रानीपोखरी छ भन्ने थाहा थिएन,’ प्रजापतिले थप भने, ‘देवाली पूजा हुने स्थानमा प्रवेश नपाउँदा सेना र स्थानीय बिच विवाद पनि भएको थियो। सेना र जनताबिच दुरी पनि बढेको थियो। त्यससैले पोखरी सर्वसाधारणका लागि खुला गर्नु नै थियो।’
सेनासँग भएको सहमति अनुसार रानीपोखरीको क्षेत्रफल एकिन गर्दै नगरपालिका र नेपाली सेनाले समन्वयमा नापी नक्सा बनाउने काम भएको थियो। नापी नक्सा प्राप्त भइसकेपछि त्यही आधारमा नगरपालिकाले रानीपोखरी मल्लकालीन शैलीमा नै जिर्णोद्धार गरेको हो।
नयाँ गन्तव्य ‘रानीपोखरी’
मल्लकालमा निर्माण भएका पोखरीहरु राजनीतिक र कुटनीतिक महत्वका थिए। शहरी सीमाभन्दा बाहिर नाकामा निर्माण भएका पोखरीहरुसम्म भक्तपुरका शासक गएर पाहुनालाई स्वागत गर्ने गर्थे। संस्कृतिविद् श्रेष्ठका अनुसार ललितपुर र काठमाडौंको हरिसिद्धि र नरदेवी नाच १२ वर्षमा भक्तपुर ल्याउने चलन थियो। उनीहरु आउँदा रानीपोखरीको सत्तलमा बस्ने र आपचारिक सूचनापछि शहरभित्र प्रवेश गर्ने गर्थे। सेनाले पोखरी अतिक्रमण गरेपछि भने सो सत्तल प्रयोगविहीन बन्यो र नाच गर्न आउने देवगणहरु त्यहाँ बस्ने चलन समेत लोप भयो। बिस्का: अघि काठमाडौंको हनुमानढोका राजदरबारबाट राज खड्ग ल्याएर त्यही सत्तलमा राखेर विधिवत भक्तपुर दरबार भित्राउने चलन थियो। सत्तल मासिएसँग यस्ता कयौं संस्कारहरु लोप हुँदै गए।
आजको उद्घाटन कार्यक्रमको दृश्य : तस्विर भक्तपुर नगरपालिका
संस्कृतिविद् ओम धौभडेलका अनुसार रानीपोखरीको बिचमा सुनको नागको टाउको र चारैतिर विभिन्न मूर्तिहरु रहेको थियो। रानीपोखरीमा प्रजापति, अवाल, जोन्छे, महर्जन, भुसिटु लगायत विभिन्न समुदायको कुल देवता रहेको छ। त्यसबाहेक त्यहाँ विभिन्न सांस्कृतिक पर्वहरु हुने गर्थे। सेनाले लिएपछि ती चाडपर्वहरु बिस्तारै लोप हुँदै गएको थियो। 'मल्लकालीन रानीपोखरीको दक्षिणपट्टि प्रवेश गर्ने कलात्मक द्वार थियो। ढोकाबाट प्रवेश गर्ने स्थानमा दुई सत्तल थिए, पोखरीसम्म पुग्न सिंढी थियो। चारैतिर देवीदेवताको कलात्मक मूर्ति र बगैंचा थियो,' धौभडेलले भने।
जिर्णोद्वार अघिको रानीपोखरी
आज उद्घाटन गरिएको रानीपोखरी धौभडेलले भनेझै पुरानै शैलीमा निर्माण गरिएको छ। रानीपोखरीको मध्यभागमा नागको मूर्ति राखिएको छ। नगरपालिकाले हाल जिर्णोद्वार गरेको रानीपोखरीमा कलात्मक फल्चाहरु निर्माण गरिनुका साथै मूर्तिहरु राखिएका छन्।
नगरपालिका प्रमुख प्रजापति रानीपोखरीले भक्तपुरको शोभा अझै बढाउने विश्वास गर्छन्। रानीपोखरी अब काठमाडौं उपत्यकाको नयाँ गन्तव्य बन्ने उनको भनाइ छ।
‘भक्तपुर प्रवेश गर्ने स्थानमै रहेको यो पोखरी आकर्षणको केन्द्र बन्ने छ। पर्यटनका लागि टेवा पुग्नेछ,’ उनले भने।