PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

एनएसएलको तयारी बढ्दै गर्दा किन असन्तुष्ट छन् लिगका क्लबहरू?



मुकुन्द घिमिरे

एनएसएलको तयारी बढ्दै गर्दा किन असन्तुष्ट छन् लिगका क्लबहरू?

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग सकिएपछि नेपाल सुपर लिग (एनएसएल) ले तयारी तीब्र गतिमा अगाडि बढाएको छ। एनएसएलका फ्रेन्चाइजीले धमाधम खेलाडी अनुबन्धन गरिरहँदा ए डिभिजन लिगका क्लबहरू भने सन्तुष्ट छैनन्। त्यसैले ब्याक टू ब्याक विज्ञप्ति निकालेर बसेका छन्।

धमाधम एनएसएलले मार्की खेलाडी र प्रशिक्षकहरू नियुक्त गर्दैगर्दा गोल्डकप खेल्ने तयारीमा रहेका ए डिभिजन क्लबहरू दोधारमा परेका छन्।

ए डिभिजन क्लबहरूले आफूसँग खेलाडी अनुबन्ध रहँदारहँदैको अवस्थामा सुपर लिगका क्लबमा दर्ता नगर्न/नगराउन भनेर सूचना निकाले पनि उचित सम्बोधन नभएको भन्दै एन्फा अध्यक्षलाई हिजो पत्र लेखेका थिए। जसमा एन्फालाई यस विषयमा क्लबहरूसँग सल्लाह गरी उचित सम्बोधन गर्न अनुरोध गर्दा पनि वेवास्था गरेको गुनासो गरेका छन्। देशको फुटबल विकासमा महत्वपूर्ण लगानी गर्दै आएका क्लबहरूको भविष्यलाई नै कुठाराघात पार्ने खालको कार्य भइरहेको उनीहरुको आरोप छ।

'क्लबहरूको अनुमतिबिना नै क्लबमा कानुनी रुपमा अनुबन्धित भएका खेलाडीको बोलकबोल गर्ने समाचार बाहिर आएको विषयप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ,' ए डिभिजन लिगका ८ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यस्तो कृयाकलापबाट देशको फुटबल खेलमा नकारात्मक असर पर्न जाने देखिएकाले यस्तो कार्य नगर्न हुन एन्फा र अन्य सरोकारवालामा जानकारी गराउँदछौं।'

उनीहरूले खेलाडीको बोलकबोल (अक्सन) क्लबहरूको जानकारी बिना नगराउन समेत चेतावनी दिएका छन्।

अर्कोतर्फ सुपर लिगको आधिकारिक फेसबुक पेजमा शुक्रवार अक्सन हुने जनाइएको छ।

असन्तुष्ट ए डिभिजन लिगका क्लबमध्ये च्याम्पियन समेत बनेको मछिन्द्र क्लबका उपाध्यक्ष र म्यानेजरसमेत रहेका अनिल श्रेष्ठ आफूहरू फुटबल विरोधि नरहेको तर क्लबलाई नसोधी कानुनी रुपमै अनुबन्धित भएका खेलाडी लैजानु गलत भएको तर्क गर्छन्। सुपर लिगको क्लब विराटनगर सिटी एफसीले आज बिहानमात्र मछिन्द्र क्लबका डिफेन्डर रञ्जित धिमाललाई मार्की खेलाडी र विष्णु गुरुङलाई प्रशिक्षकमा नियुक्त गरेको थियो।

'यसबारे बैठक बोलाउनु भनेर बारम्बार भनिरहेका थियौं। तर एन्फाले टेर्दै टेरेन,' श्रेष्ठ भन्छन्, 'हाम्रो त चैतसम्म एग्रिमेन्ट छ। कसैको दुई वर्षै एग्रिमेन्ट छ। क्लबलाई नै नसोधी खेलाडीसँग एग्रिमेन्ट भइरहेको छ। यो क्लबलाई हेपेजस्तो लागेको छ हामीलाई।'

एन्फाले सहजिकरण गरेर मिटिङ गरेर सुपरलिग हुने वातावरण बन्ने र क्लब कसरी जाने भन्ने पनि मिल्ने तर्क गर्छन् श्रेष्ठ।

'मछिन्द्र कै कुरा गर्दा भर्खर भर्खर लगानी गरेर दुई वर्ष यहाँसम्म भएको छ, हाम्रो पनि योजना हुन्छ। स्पोन्सर, एन्फाबाट यति आउँछ, गोल्डकप कतिवटा खेल्ने भन्ने योजना हुन्छ,' उनी भन्छन्, 'बिचमा एनएसएल राख्दिँदा कतिवटा गोल्डकप त नहुने भयो नि त। यसले कति असर परिरहेको छ क्लबहरूलाई।'

यसमा पनि समन्वयकारी भूमिकामा एन्फा देखिनुपर्ने भएको भए पनि त्यो भूमिका नदेखिँदा गञ्जागोल बनेको उनी बताउँछन्।

'हामीलाई चिठी पनि आएको छैन। सब चुपचाप छन्। एन्फामा भन्दा एनएसएललाई हामीले मिति दिएको होइन भन्छ। के भइरहेको छ भन्ने हामीलाई नै थाहा छैन,' उनले भने, 'प्लेयर त चिठी पठाएर माग्न परो। हामीसँग एउटा सल्लाह त हुनुपर्‍यो नि। नेपाली फुटबल नै के हो के हो?'

एनएसएलको मितिको सन्दर्भमा एन्फासँग औपचारिक निर्णय भएको छैन।

'अध्यक्षसँग उहाँको कुरा भएजस्तो लाग्छ। आधिकारिक पत्राचार चाहिँ भएको छैन,' एन्फा महासचिव इन्द्रमान तुलाधरले भने।

विवादको सन्दर्भमा एन्फाको तर्क भने फरक छ। समन्वयको प्रयास गरिरहेको बताउँदै एन्फा महासचिव इन्द्रमान तुलाधरले आजको बैठकले धेरै समस्या हल गर्ने विश्वास ब्यक्त गरे।

'यस विषयमा आज हामी बैठक बस्छौं होला। एनएसएलसँग बस्छौं। क्लबसँग बसेपछि टुंगिएला कि,' उनले भने।

एनएसएलको समयमा गोल्डकप नराखेको तुलाधरले बताए।

'क्लबहरू गोल्डकप खेल्ने नै तयारीमा छन्। त्यसैले हामीले एनएसएललाई असर गर्नेगरी गोल्डकपको स्वीकृति दिएको छैन। चैतको १९ गतेसम्ममात्र अनुमति दिएका छौं,' उनले भने।

त्यसो त यस सन्दर्भ गोल्डकप र ए डिभिजन लिगका क्लबसँगको स्वीकृतिमै मात्र टुंगिँदैन। सुपर लिग ९ अप्रिलदेखि २१ मे सम्म आयोजना गर्ने तयारी आयोजकको छ। एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय टोलीले ८, ११ र १४ जुनमा प्रतिस्पर्धा गर्दैछ। र, त्यसअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पनि प्रयास एन्फाले गरिरहेको जनाएको छ। यस्तोमा पर्याप्त तयारीको समय जुटाउन कठिन हुने देखिन्छ।

सबैभन्दा महत्वपूर्ण त अप्रिल ५ तारिख ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले एएफसी कप छनोट अन्तर्गत श्रीलंकाको ब्लुस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित निकालेको खण्डमा १२ अप्रिलमा भारतीय टोली एटीके मोहन बगानसँग खेल्नेछ। उक्त खेलमा पनि जित निकालेको खण्डमा समूह चरणमा प्रवेश गर्नेछ। र, अगाडिका खेल तालिकाहरू निश्चित हुनेछ। मछिन्द्रले ब्लु स्टारलाई जितेर मोहन बगानसँग १२ अप्रिलमा खेल्नुपरेको खण्डमा ९ तारिखबाट सुरु हुने नेपाल सुपर लिग के हुन्छ? टुंगो छैन। त्यसमा पनि प्रतियोगिता अघि टिम अभ्यास महत्वपूर्ण हुन्छ। यसले सुपर लिगका क्लब र मछिन्द्र दुवै संकटमा पर्ने देखिन्छ।

यसरी हेर्दा क्लब त दोधारमा छन् नै सुपर लिग र आयोजनाको तयारीमा रहेको गोल्डकप पनि दोधारमै रहने देखिन्छ।

अघिल्लो वर्ष मध्य लकडाउनमा एनएसएलको पहिलो संस्करण सँगै नेपाली फुटबलमा पहिलो पटक फ्रेन्चाइज लिग सम्पन्न भयो। अक्सनमा अक्सर क्रिकेटरहरू देखिने गरेकोमा पहिलो पटक फुटबलका खेलाडीहरू देखिएका थिए। अक्सनमा २० हजारदेखि २ लाख हुँदै खेलाडीहरूले राम्रै पैसा पनि पाए। त्यस्तै, विदेशी खेलाडीका रुपमा अफ्रिकाभन्दा बाहिरबाट पनि खेलाडीहरू नेपाल आए। अर्थात् युरोपका खेलाडीको खेल कौशल पनि दशरथ रंगशालामा देख्‍ने अवसर मिल्यो। भलै कोरोनाका कारण दशरथ रंगशालामा दर्शकहरूको उपस्थिति निषेध थियो। दर्शक निषेध गरिए पनि पहिलो संस्करणमै सुपर लिगले नेपाली फुटबल वृत्तमा राम्रै चर्चा कमाएको थियो।

अघिल्लो सिजन विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गरेका थिए। यसपाला तीन टोली थपिएका छन्। थपिएका नयाँ टोलीहरूमा विक्रम थापाको स्वामित्वमा रहेको झापा एफसी, शुहाङ नेम्बाङ र पियुश न्यौपानेको स्वामित्वमा रहेको स्पोर्टिङ इलाम डी मेची तथा अरबिन्द अमात्य, अनिल गुप्ता र अरबिन्द बरालको स्वामित्वमा वीरगंज युनाइटेड एफसी रहेका छन्।

सम्बन्धित समाचार

क्रिकेटप्रेमीको देशमा फुटबलको लफडा : आई लिग र आइएसएलको द्वन्द्वबीच बन्यो यस्तो 'रोडम्याप'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell