PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

नारा डिजिटल कांग्रेस : वेबसाइटमा छैन 'अपडेट', प्रधानमन्त्री सचिवालयको हालत पनि उस्तै



नेत्र तामाङ

नारा डिजिटल कांग्रेस : वेबसाइटमा छैन 'अपडेट', प्रधानमन्त्री सचिवालयको हालत पनि उस्तै

काठमाडौं : नेपाली कांग्रेसले आफूलाई ‘डिजिटल पार्टी’ भएको घोषणा गरेको धेरै भयो। झन्डै तीन वर्षअघि पार्टीका तत्कालीन प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई ‘डिजिटलाइज’ गर्ने घोषणा नै गरेका थिए।

महाधिवेशनअघि त कांग्रेसले आफूलाई थप डिजिटल भनेर चिनाउन 'वार रुम' नै गठन गरेको थियो। ‘वाइड्ली इन्फर्मेसन नेटवर्क’(एनसी विन) संगठन खडा गरी कांग्रेसले पार्टीको प्रचार गर्ने जनाएको थियो। 'स्थानीय, प्रदेश र संघको आगामी महानिर्वाचनमा प्रविधि र आन्तरिक रणनीति मार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद (‘वार रुम’ को संगठित अवधारणा बमोजिम) को कार्यमा महाधिवेशन पछिको पार्टीको प्रचार विभागलाई सहज बनाउने,' एनसी विन गठनबारे जारी विज्ञप्तिमा भनिएको थियो।

'जे बोल्छ, त्यो गर्छ' भन्ने नारा मञ्चैपिच्छे दोहोर्‍याउने कांग्रेस व्यवहारमा ‘डिजिटल’ छैन भन्ने उदाहरण त १४ औं महाधिवेशनमा पनि देखिएको थियो। भुइँभरि पर्चा छरेर उम्मेदवार प्रचारमा उत्रिँदा कांग्रेसको आलोचना भएको थियो।

उक्त घटनाबाट पाठ सिक्नु त परको कुरा कांग्रेसले जानकारी दिनुपर्ने सामान्य सूचनासमेत आफ्नो वेबसाइटमा ‘अपडेट’ गरेको छैन।

सहमहामन्त्री एक जनामात्रै!
मंसिरमा महाधिवशेन सकाएको कांग्रेसले तीन महिना बित्दा पनि आफ्नो वेबसाइटमा कार्यसमितिको नाम अपडेट गराएको छैन।

‘नेपाली कांग्रेस डट ओआरजी’मा अहिले सहमहामन्त्री एक जनामात्र छन्। ८ जना सहमहामन्त्री निर्वाचित गरिसकेको कांग्रेसको वेबसाइटमा फरमुल्लाह मन्सुरको नाम मात्र राखिएको छ।

सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा वेबसाइटमा अटेका छन्।

कांग्रेसमा हाल १३४ सदस्यीय निर्वाचित केन्द्रीय समिति र १३ जना मनोनित केन्द्रीय सदस्य छन्। तर, उनीहरुबारेको जानकारी ‘अपडेट’ गरिएको छैन। त्यसैगरी प्रदेश समितिको बारेमा पनि कुनै जानकारी छैन। वेबसाइट बन्ने क्रममा रहेकोले सबै जानकारी राख्न बाँकी रहेको प्रविधि पक्ष हेरिरहेको टिमको दाबी छ।

प्रधानमन्त्रीको सचिवालयको हालत उस्तै
सर्वोच्च अदालतको परमादेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने। देउवा प्रधानमन्त्री बनेको लामो समयसम्म बालुवाटारमा सचिवालय त बनेन। आलोचना बढ्न थालेपछि देउवाले आफ्नो स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गरे भने प्रेस प्रमुखमा गोविन्द परियारलाई। योसँगै देउवाको सचिवालयमा प्रेस विज्ञदेखि मन्तव्य विज्ञसम्म नियुक्त भएको खबर आए।

यम विरही सञ्चार विज्ञ, विजयराज अधिकारी मिडिया विज्ञ र किरण गजुरेल भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ भनेर समाचारसमेत सम्प्रेषण भए। आइटी विज्ञको जिम्मेवारी दीपेश विष्टलाई दिइएको बताइएको छ।

मिडिया विज्ञ र सञ्चारविज्ञ एकै विधा भएको भन्दै प्रधानमन्त्रीको सचिवालयमाथि व्यंग्यसमेत हुन थालेको छ। उनीहरु नियुक्त दिएको विषय प्रधानमन्त्रीलाई नै थाहा नभएको बालुवाटार स्रोतको दाबी रह्यो।

यसैगरी सरकारले प्रधानमन्त्रीको चिकित्सकमा डाक्टर शैल रुपाखेतीलाई नियुक्त गरेको खबर पनि सार्वजनिक भयो। मन्त्रिपरिषद्को माघ २४ गतेको निर्णयअनुसार डाक्टर रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवासहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको भनिएको छ।

तर, उक्त दिनको मन्त्रिपरिषद्को निर्णयमा यसबारे केही लेखिएको छैन।

प्रधानमन्त्री देउवाले हालसम्म सचिवालयमा नियुक्त गरेका कसैको नाम वेबसाइटमा राखिएको छैन।

मन्त्रिपरिषद् र मन्त्रिषरिद्को निर्णय ‘अपडेट’ हुने ‘ओपिएमसिएम डट गभ डट एनपी’मा यसबारे केही उल्लेख छैन। नारामा डिजिटल कांग्रेस भन्ने तर आफ्नै निर्णय र केन्द्रीय कार्यसमितिलाई अपडेट गर्न नसक्ने पार्टीलाई आफ्नै घोषणाले गिज्याइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell