PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सरकार बनेपछि नेपाललाई हेर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन भएको परराष्ट्रमन्त्रीको दाबी : असंलग्‍न नीति अनुरुप नै युक्रेनको पक्षमा मतदान



पहिलोपोस्ट

सरकार बनेपछि नेपाललाई हेर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन भएको परराष्ट्रमन्त्रीको दाबी : असंलग्‍न नीति अनुरुप नै युक्रेनको पक्षमा मतदान
फाइल फोटो।

काठमाडौं : युक्रेनबाट ५ सय ३३ जना नेपालीलाई सुरक्षित रुपमा बाहिरिएको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिएका छन्। रुसले युक्रेनमा आक्रमणपछि त्यहाँ रहेका नेपालीसँग निरन्तर रुपमा सम्पर्क स्थापित गरिरहेको मन्त्री खड्काको दावी छ।

सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीको उद्दारको प्रयास गरिरहेको बताए। नेपालीको उद्धारका लागि भारतको उद्धार टोलीको सहयोग लिइएको समेत उनले जानकारी दिए।

मन्त्री खड्काका अनुसार यसरी युक्रेनबाट बाहिरिएकामध्ये सबैभन्दा धेरै ४ सय २७ जना पोल्याण्ड पुगेका छन्। भने बाँकी अन्य युक्रेनका छिमेकी देशमा पुगेको उनले जानकारी दिए।

मन्त्री खड्काले नेपालको असंलग्ना नीतिकै आधारमा युक्रेन मामिलामा युक्रेनको पक्षमा नेपालले मानव अधिकार परिषदमा मतदान गरेको स्पष्ट पारे।

संयुक्त राष्ट्रसंघको बडापत्रको र मानवअधिकारको सम्मान गर्दै युक्रेनको पक्षमा मतदान गरेको दाबी गर्दै उनले नेपाल कुनै पनि गुटमा नगएको बताए।

नेपालमा नयाँ सरकार बनेपछि नेपाललाई हेर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन आएको पनि मन्त्री खड्काले दाबी गरे। अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको ‘समिट फर डेमोक्रेसी’मा नेपालका प्रधानमन्त्रीलाई सहभागी गराएको बताउँदै नेपालको अन्तर्राष्ट्रिय छवि सकारात्मक भएको उनको दाबी थियो।

उनले निकट भविष्यमा नेपालमा उच्चस्तरीय भ्रमण हुने समेत जानकारी गराए। 

मन्त्री खड्‍का टर्कीको अन्तालियमा आयोजना हुने अन्तालिया डिप्लोमेसी फोरममा सहभागी हुन जाँदैछन्। त्यहाँ रहँदा उनले उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, टर्कीको राजधानी अंकारामा द्वीपक्षीय वार्तामा समेत मन्त्री खड्का सहभागी हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell