PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'रात रंगीन' बनाउनेगरी २४ सै घन्टा 'बार' खुल्दा कसलाई काइदा कसलाई सकस?



सविन ढकाल

'रात रंगीन' बनाउनेगरी २४ सै घन्टा 'बार' खुल्दा कसलाई काइदा कसलाई सकस?

काठमाडौं : बुधवार देशभरका जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै रात्रिकालीन व्यवसायहरू सञ्चालन गर्ने वातावरण बनाउन गृहले पत्राचार गर्‍यो। गृहको निर्णय अनुसार अब चौबीसै घण्टा रात्रिकालीन व्यवसायहरू सञ्चालन हुनेछन्।

रात्रिकालीन व्यवसायमा होटेल, रेष्टुरेष्ट, बार, लाउन्च, डान्स क्लब, दोहोरी साँझ लगायतका सेवामुलक व्यवसाय पर्छन्। यसअघि स्थानीय प्रशासनले राति १० यस्ता क्षेत्रलाई बन्द गराउँदै आएको थियो। १० बजेअघि नै व्यवसाय बन्द गर्नुपर्दा आर्थिक क्रियाकलापमा असर पर्ने भन्दै रात्रिकालीन व्यवसायीहरूले २४ घण्टा नै सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका थिए। कोरोना सङ्क्रमणले यस्ता व्यवसायीले थप क्षति बेहोरे। कतिपय त व्यवसायबाटै पलायन हुन पुगे।

तर, अब भने यस्ता व्यवसाय रातभर सञ्चालन हुन पाउने भएका छन्। जसको लागि सरकारले केही सर्तहरू अगाडि सारेको छ। यस्ता व्यवसाय रातभर सञ्चालनमा आउँदा प्रहरीलाई थप सुरक्षा चुनौती थपिएको छ। रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा त्यहाँ हुने झै झगडादेखि अन्य अपराधका गतिविधिले प्रहरीलाई चुनौती थप्ने निश्चित छ। अहिले देशभर भइरहेको प्रहरी जनशक्तिले रात्रिकालीन व्यवसाय सञ्चालन भएपछि थेग्न नसक्ने नेपाल प्रहरीका पूर्व डीआईइजी रमेश खरेल बताउँछन्।

'काठमाडौंमा अहिले नै प्रहरीले दैनिक १८ घण्टा ड्युटी गर्नुपर्ने अवस्था छ। अहिलेकै प्रहरी जनशक्तिले भने रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा असर पर्छ। नेपाल प्रहरीको जनशक्तिदेखि अन्य प्राविधिक सुरक्षामा पनि ध्यान दिनुपर्ने हुन्छ,' पूर्व डीआईजी खरेलले भने।

व्यवसायीहरु भने पर्यटन क्षेत्रको लामो समयदेखिको मागलाई सरकारले सम्बोधन गरेको बताउँछन्। 'यसले आर्थिक गतिविधि बढाउँछ। खराब अवस्थामा पुगेका व्यवसायी टिक्न सक्छन्,' पर्यटन व्यवसायी सुमन पाण्डेले भने, 'अर्थतन्त्र चलायमान हुनका लागि निश्चित पनि यसले भूमिका खेल्छ।' उनका अनुसार पहिले पोखराको लेकसाइड, चितवनको सौराह र काठमाडौंको ठमेलमा रात्रिकालीन व्यवसाय २४ घन्टा नै चल्नु पर्ने माग थियो।

खुलापनमाथि निर्णय त्यस्तो अवस्थामा भएको छ जतिखेर आर्थिक इन्डिकेटरहरु खराब अवस्थामा गुज्रिरहेका छन्। बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव श्रृङ्खला लामो भइसकेको छ। यतिसम्म कि घरजग्गा मात्र होइन, अटो लोन समेत दिने पैसा बैंकहरुसँग छैन। 'मानिससँग रहेका पैसा सक्रिय होस् भन्ने हिसाबले पनि सरकारले सोचेको होला। बजारमा रुपैयाँको चरम अभाव छ त्यसलाई सम्बोधन गर्न खोजिएको हुनुपर्छ। तर अहिलेको स्थितिले यसै भन्न चाहिँ सकिन्न,' एक अर्का पर्यटन व्यवसायीले भने, 'खुला गरेको भन्दा पनि यतिखेर नै किन भन्ने विषय महत्वपूर्ण छ।'

त्यसो त पहिलो पटक रात्रिकालीन सेवा सुरु हुन लागेको भने होइन। वामदेव गृहमन्त्री हुँदा २०७४ सालमा ठमेल क्षेत्रमा व्यवसायीको माग अनुसार यसैगरी २४ घन्टा खुला गर्ने निर्णय भएको थियो। प्रहरीलाई गृह मन्त्रालयले अहिलेको जस्तै परिपत्र पनि पठाएको थियो। यसपाला फरक यति हो कि ठमेलमा सीमित खुलालाई सबैतिर लागू गरिँदैछ।

खरेल काठमाडौं प्रहरी प्रमुख हुँदा केही पर्यटकीय क्षेत्र रातभर सञ्चालन गर्नुपर्ने निर्देशन आएको थियो। ठमेल, न्यूरोड, दरबारमार्ग जस्ता क्षेत्रलाई सुरक्षित बनाएर संचानल गर्न दिनुपर्ने मागअनसार त्यतिखेर यस्तो निर्देशन जारी भएको थियो।

यस्तो निर्देशन आउनुअघि पूर्वाधारको तयारी पहिलो शर्त हुनुपर्ने खरेलको बुझाई छ। खुला गरिने स्थानमा चारैतिर सीसी क्यामरादेखि अन्य प्रविधि पनि जडान गर्नुपर्ने खरेलको भनाई छ।

'न्यूरोडदेखि दरबारमार्गसम्मका सबै क्षेत्रमा सीसीक्यामरा र त्यसको निगरानी गर्ने प्रहरीदेखि अन्य प्रविधिलाई ध्यानमा नदिई यस्ता क्षेत्रमा रात्रिकालीन व्यवासयहरु भने सञ्चालन गर्नु हुँदैन,' खरेलले भने, 'सबै कुरा व्यवस्थित गरेर भने सञ्चालनमा ल्याउँदा कुनै पनि चुनौती हुँदैन।'

गृह मन्त्रालयले यसरी खुला गर्नका लागि भौतिक पूर्वाधार तयार पार्नुपर्ने जनाएको छ। सीसी क्यामरा अनिवार्य राख्नुपर्ने प्रावधान गृहको निर्देशनमा छ। कम्तीमा ३० दिनको रेकर्ड क्षमता सहित क्यामरा राख्नुपर्ने गृहको निर्देशनमा उल्लेख छ। साथै साउन्ड कन्ट्रोल नगराई यस्ता सेवा चलाउन पाइने छैन।

शक्तिबहादुर बस्नेत गृहमन्त्री हुँदा समाजमा हुने अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतीय उपकरणको प्रभावकारिता बढाउन गृह मन्त्रालयले 'सीसी टिभी क्यामरा जडान तथा सञ्चालन कार्यविधि २०७२' प्रयोगमा ल्याएको थियो। कार्यविधिमा सीसी टिभीबाट खिचेका दृश्य कम्तीमा ३ महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्ने उल्लेख छ। तर, मापदण्डअनुसार प्रायः होटेलमा सीसी टिभी क्यामरा भेटिँदैन। भेटिएकामा पनि मापदण्डमा भनिएजस्तो तीन महिनासम्मको फुटेज सुरक्षित राखेको पाइँदैन। रात्रिकालीन व्यवसाय सञ्चालन भएपछि व्यवसायीले सरकारको शर्त नमान्ने र सरकारले पनि अनुगमन नगर्ने भए यसले सुरक्षा चुनौती झनै थपिने निश्चित छ।

रात्रिकालीन व्यवसायहरू मात्र होइन पछिल्लो पटक होटेल तथा वारमा हुने अपराधको सङ्ख्या बढी नै छ।

अहिले नेपाल प्रहरीको कूल जनशक्ति ७५ हजार ४ सय ६३ रहेको छ। अपराध अनुसन्धान र अपराध नियन्त्रण गर्नु नै प्रहरीको प्रमुख काम हो। त्यसको अलवा प्रहरीलाई सार्वजनिक सम्पत्तिको सुरक्षादेखि प्राकृतिक प्रकोपको उद्धार सम्म खटिनुपरेको छ। अब रात्रिकालीन व्यवसाय सञ्चालनमा आएपछि त्यसमा आइपर्ने सुरक्षादेखि अपराध नियन्त्रण गर्नुपर्ने देखिन्छ। रात्रिकालीन व्यवसाय २४ घण्टा सञ्चालन गर्ने सुरक्षा चुनौतीमा सबैभन्दा धेरै काठमाडौं नै पर्छ। अहिले काठमाडौं उपत्यकाको जनसङ्ख्या, रात्रिकालीन व्यवसायहरूको सङ्ख्या र नेपाल प्रहरीको सङ्ख्यामा तालमेल नहुनु नै सुरक्षा चुनौतीको कारण बनेको छ। अहिले काठमाडौं उपत्यकाभित्र ३१ सय प्रहरी दैनिक सुरक्षामा खटिरहेका छन्।

यस्ता रात्रिकालीन व्यवासहरुमा १८ वर्षभन्दाका उमेरका बालबालिकालाई काम गर्न लगाउन पाइने छैन। त्यस्तै १८ वर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य र मदिरा बिक्रीवितरण गर्न समेत नपाइने गृहले जारी गरेको शर्तमा उल्लेख छ।

गृहको निर्देशनमा कुनै समस्या छैन तर त्यसको अनुगमन कसले गर्छ? प्रहरीले नै अनुगमन गर्नुपर्ने भए थप जनशक्तिको व्यवस्थापन कसरी हुन्छ? सँगै रात्रिकालीन व्यवसायसँग प्रहरी संगठन जोडिँदाको जोखिम उत्तिकै रहन्छ। यस्ता क्षेत्रमा खटिने प्रहरी भ्रष्टाचारमा संलग्न हुने सम्भावनालाई कसरी नियन्त्रण गर्न सकिन्छ? यसको पनि जवाफ गृहको पत्राचार दिँदैन।

साथै, स्थानीय तहको चुनाव नजिकिँदो छ। साथै अहिलेको अवस्थालाई हेर्दा रात्रिकालिन व्यवसाय २४ सै घण्टा संचालन गर्न नहुने पूर्व गृहसचिव गोविन्द कुसुम बताउँछन्। चौवीसै घण्टा नभएर पहिलेको समयमा केही घण्टा थप गरेर संचालन गर्न दिनु राम्रो हुने उनको बुझाइ छ।

'व्यक्तिको भौतिक सुरक्षादेखि सामाजिक र सास्कृतिक पक्षलाई नै हेरेर सरकारले बन्देज गरेक थियो। अहिले नै हाम्रो देशमा रात्रिकालीन व्यवासय २४ सै घण्टा संचालन गर्न दिनु हतारको काम हुनसक्छ,' पूर्व गृह सचिव गोविन्द कुसुमले भने।

अहिले पनि प्रमुख राजमार्गमा रात्रिकालीन व्यवासाय निर्वाध संचालन भइरहेको पाइन्छ। खाजादेखि खानाका होटलहरु रातभर खुल्छन्। औधोगिक, आवसीय, व्यवसायिक क्षेत्रको वर्गीकरण नभएको हाम्रो जस्तो अव्यवस्थित शहरीकरणमा रात्रिकालीन सेवा सहज देखिन्न। रातिसम्म व्यवसाय संचालन गर्दा हुने होहल्लाले भएर सामाजिक स्तरबाट नै विरोध हुने सम्भावना पनि देखिन्छ। रात्रिकालीन व्यवसाय संचालन गर्न दिनु सुरक्षाको हिसाबले चुनौती थपिएको पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्। सरकारले कुनै निश्चित क्षेत्रलाई मात्र २४ घण्टा संचालन गर्न दिनुपर्ने उनको पनि सुझाव छ।

'एकैचोटी सबैतिर खुल्ला गर्दा धेरै पक्षबाट चुनौती देखिन्छ। सुरुमा केही पर्यटकीय क्षेत्रमा केही निश्चित रात्रिकालीन व्यावसयलाई कोटा अनुसार संचालन गर्न दिएर विस्तारै सुरक्षा देखि अन्य पक्षालाई मिलाएर खुल्ला गर्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा सुरक्षा चुनौती धेरै देखिन्छ,' पूर्व डीआईजी मल्लले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell