काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले वसन्तपुर दरबार क्षेत्रमा रहेको खुल्ला डबलीमा राष्ट्रिय झण्डा राख्ने विषयमा नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले दोहोरो भूमिका देखाएको आरोप लगाएका छन्।
महानगरले पुनर्निर्माण गरेका सम्पदाहरुको बारेमा जानकारी दिँदै उनले वसन्तपुरमा देखिएको विवाद कांग्रेसको निर्वाचन लक्षित विरोध भएको आक्षेप लगाए।
केही दिन अघि डबलीमा कंक्रिटको ढलान गरेर आठवटा झण्डा राखिने भएपछि शाक्यको आलोचना भएको थियो। उनले वसन्तपुरमा झण्डा राखिने निर्णय महानगरपालिकाको कार्यपालिका बैठकबाट नै भएको बताए। अहिले स्थानीय तहको निर्वाचन आउँदै गर्दा कांग्रेसका जनप्रतिनिधिहरु विरोधमा उत्रिएको उनको दाबी छ।
‘यो निर्णय कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा भएको थियो। अहिले उपमेयर, वडा अध्यक्ष गएर विरोध गर्नुभएछ। निलकाजी शाक्यले आफू कांग्रेसको महानगर सभापतिको हैसियतमा विरोधमा गएको बताउनु भयो,’ शाक्यले प्रश्न गरे।
उनले महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कार्यपालिकामा सहमति जनाउने र बाहिर गए विरोध गर्ने गरेकोमा असन्तुष्टि जनाए। वसन्तपुर डबलीमा बनाइएको कंक्रिटको संरचना उपप्रमुख खड्गीकै उपस्थितिमा भत्काइएको थियो। खड्गीले वसन्तपुरमा झण्डा राख्ने बारेमा आफूलाई थाहा नभएको र उक्त योजना मेयरको भएको बताएकी थिइन्।
यो पनि पढ्नुस : झन्डा राख्ने बहानामा सिमेन्टले छोपिँदै चैत्यको जग, दिउँसो विरोधको डरले रातिराति कंक्रिट ठड्याउँदै महानगर
‘उहाँहरुले छलफल नै गर्नु भएन। उहाँहरु निर्णय प्रक्रियामा सहभागी हुनुहुन्छ। झण्डा चित्त नबुझेको हो कि? कंक्रिट चित्त नबुझेको हो? छलफल गरौं,’ उनले भने।
कांग्रेसी जनप्रतिनिधिहरु अहिले झण्डा राख्ने कार्य स्थानीय तहको निर्वाचनपछि गरौं भनिरहेको उनको दाबी छ। झण्डामा सूर्य भएको र मेयरले एमालेको चुनाव चिह्नको प्रसार गर्न लाग्यो भनेर अहिले विपक्षी लागेको उनको तर्क छ।
‘झण्डामा सूर्य भएकोले कांग्रेसका साथीहरुले काठमाडौंको मेयरले होइन, एमालेको मेयरले झण्डाको सूर्य प्रचार प्रसार गर्न खोजिरहेको भन्दै गरेका छन्। निर्णय गर्दा सहमत हुने तर रातो किताबमा आएर काम अघि बढे पछि भने संस्थागत निर्णय ग्रहण गर्न पछि हट्ने?,’ शाक्यले भने।
उनले कंक्रिटको ढलान गरिएको बारेमा छलफल गर्न तयार रहेको समेत बताएका छन्।
मेयर शाक्यले मिडियामा आएका हेडलाइनहरुले आफूविरुद्ध माहोल बनेको समेत बताएका छन्। तर, मिडियाका कन्टेन्ट भने राम्रै भएको उनको तर्क थियो।
‘हेडिङले बिगार्यो। भित्र कन्टेन्ट चाहिँ ठिक हुन्छ। मानिसहरु हेडिङ मात्र पढेर प्रतिक्रिया दिन्छन्। त्यो तपाईंहरुको व्यवसायिकताको कुरा होला। तर हेडलाइन मात्रै पढ्नेहरुबिच भ्रम फैलियो,’ शाक्यले भने।
उनले घोषणा पत्रमा भनेझै सबै कार्य पूरा गर्न नसकेको तर आफ्नो कार्यकालमा भएका कुराहरुले काठमाडौं महानगरवासी खुशी रहेको दाबी गरे। त्यसैले आगामी स्थानीय तहमा पार्टीले फेरि टिकट दिनेमा आफू विश्वस्त रहेको उनले बताए। तर, पार्टीको अन्तिम निर्णय आफ्नो लागि मान्य हुने उनले बताए।
‘महानगरवासी खुशी छन्। त्यसैले म पनि खुशी छु,’ उनले भने, ‘पार्टीले निर्णय गर्ने कुरा हो। वैशाखसम्म थाहा भइहाल्छ।’