PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

पल शाहको बयान सकियो, जोशीको भने जारी : अदालतमा पनि स्वीकारेनन् करणीको आरोप



पहिलोपोस्ट

पल शाहको बयान सकियो, जोशीको भने जारी : अदालतमा पनि स्वीकारेनन् करणीको आरोप

काठमाडौं : अभिनेता पूर्णविक्रम (पल) शाह को अदालती बयान सकिएको छ। मंगलवार दिउँसो शाहसँग अदालतमा बयान लिएको हो। त्यस्तै, अर्का प्रतिवादी शाहका म्यानेजर कृष्णप्रसाद जोशीसँग भने अहिले जिल्ला अदालत तनुहँमा बयान भइरहेको स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

'अहिले उनका म्यानेजरको बयान भइरहेको छ। आज नै बयान सकिने अनुमान छ,' श्रेस्तेदार कुँवरले भने।

सरकारी वकिल कार्यालय तनहुँले मंगलबार अदालतमा दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको छ। आरोपी शाहले किशोरीसँग प्रेम सम्बन्ध रहेको बताए पनि करणी भने नगरेको बताउँदै आएका छन्। त्यस्तै, मंगलवार अदालतमा भएको बयानमा पनि उनले करणी गरेको स्वीकार गरेनन्। अदालत स्रोतले भन्यो, 'बयानमा करणी गरेको स्वीकारेका छैनन्।'

त्यस्तै, शाहले प्रहरीको अनुसन्धानमा पनि करणी गरेको स्वीकार गरेका छैनन्। घटना भएको दिन किशोरीसँग एउटै घरमा बसेको र राति १२ बजेतिर किशोरीको कोठामा बियरको बोतल लिएर पुगे पनि करणी नगरी फर्किएको दावी गर्दै आएका छन्। तर पीडित किशोरीले भने सोही समयमा करणी भएको बताएकी छिन्।

२०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित प्रदीप थापाको घरमा बास बसेको समयमा किशोरीलाई करणी गरेको उजुरी परेको थियो। घरधनी थापाले भने बास बसेको बताएका छन्। घटनास्थल, घटना मिति, घटनासम्बन्धी व्यक्तिको उपस्थिति देखिनुले परिस्थितिजन्य प्रमाणलाई बलियो बनाएको देखिएको छ। दुई प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ। प्रतिवादीको तर्फबाट बहस गर्न अहिलेसम्म ५ जना भन्दा बढी वकिलले नाम टिपाइसकेका छन्।

पल प्रकरणमा उनका म्यानेजर कृष्णप्रसाद जोशी पनि घटना लुकाउने भूमिकामा देखिएका छन्। उनीविरुद्ध पनि शाहको आधा सजाय माग गर्दै मंगलवार अदालतमा मुद्दा दर्ता गरेको छ। शाहलाई खोजी गर्दै गर्दा सामाजिक सञ्जालमा जथाभाबी बोल्न थालेपछि उनी पनि प्रहरीको अनुसन्धानमा तानिएका थिए। त्यसो त जोशी विरुद्ध पनि जाहेरी परेको थियो। म्यानेजर जोशीले घटना लुकाउने काम गरेको देखिन्छ।

घटना लुकाउन किशोरीलाई फकाउनेदेखि दुर्गा अधिकारी भन्नेलाई किशोरीको 'रेक्की' गर्न समेत प्रलोभनमा पारेको देखिएको छ। पीडित भनिएकी किशोरीको रेक्की गरेबापत शाहले ५० लाख रुपैयाँ दिने भन्दै जोशीले अधिकारीलाई प्रलोभनमा पारेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

प्रमाणले घेरिएका पलः उनैले सार्वजनिक गरेको अडिओलाई प्रहरीले बनायो अचुक अस्त्र



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell