PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'छुच्चा' पूर्व प्रधानमन्त्री : वरिष्ठ नेताहरुले कस्तो राजनीतिक संस्कार सिकाउँदै छन् कार्यकर्तालाई?



प्रकाश भण्डारी

'छुच्चा' पूर्व प्रधानमन्त्री : वरिष्ठ नेताहरुले कस्तो राजनीतिक संस्कार सिकाउँदै छन् कार्यकर्तालाई?

काठमाडौं : ‘विचारा गर्नुहोस् त कति साह्रो लाज नभएका? एमालेको बाकस खाली गर्छु भन्ने? बाकस कसको खाली हुन्छ, आउँदो ३० गते  थाहा हुन्छ,' पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री झलनाथ खनालको जिल्ला इलाम पुगेर चैत ६ गते शाब्दिक आक्रमण गरे।

खनालले अघिल्लो दिन काठमाडौंमा ओलीबारे टिप्पणी गरेका  थिए, ‘आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो साजय पाउनुपर्छ। र, उनको बाकसमा जिरो मत आउनुपर्छ।’ इलाममा पुगेर ओलीले खनालमाथि शब्दवाण छेड्नुको कारण यही थियो।

त्यसो त यस्तैखाले आरोप प्रत्यारोपको पछिल्लो श्रृङ्खला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेलादेखि सुरु भएको हो। नेकपा विभाजन हुँदै एमाले फुटेका बेला चर्किएका पूर्व प्रधानमन्त्रीहरु बिचमा केही शान्त थिए। महाधिवेशनमा अलमलिएका उनीहरु आसन्न स्थानीय तहको निर्वाचन अघि भने पुरानै शैलीमा उत्रिन थालेका छन्। ओली-खनालसँगै पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई चुनाव केन्द्रित भएर तल्लोस्तरको गालीगलौजमा उत्रिएका छन्।

त्यसमा सबैभन्दा बढी प्रतिस्पर्धा छ नेकपा विभाजित हुनुअघि एकै पार्टीमा रहेका नेता ओली, प्रचण्ड, नेपाल र खनालबिच।

पुस १० मा ओलीलाई सर्पसँग तुलना गरेका थिए खनालले। ‘ओली गोमन सर्प जस्ता रहेछन्, जहाँ देख्यो त्यही ठुङ्ने,’ खनालको आरोप थियो। पूर्व प्रधानमन्त्री नेपाल पनि आरोप प्रत्यारोपमा कम छैनन्। उनको पनि आलोचनाको तारो बन्ने गरेका छन्, ओली।

'केपीको बारेमा चर्चा गर्दाखेरी ठ्याक्क रावणमा केके प्रवृत्ति देखिए? पौराणिक साहित्यको अध्यन गर्ने मान्छे हुनुहुन्छ भने गरे हुन्छ। कंसमा केके प्रवृत्ति देखिए? हिटलरले केके गरे? हिटलर हिटलर त भनिरहेका छौँ तर हिटलरले कतिवटा कुकृत्य गरे? ठ्याकै त्यसलाई तुलनात्मक अध्यन गरेर केपी ओलीलाई देखाउनुस्,’ समाजवादी प्रेस संगठनको केन्द्रीय कमिटिको बिस्तारित बैठकमा चैत १३ गते नेपालको ओलीमाथिको आक्रोश थियो।

आरोप प्रत्यारोपमा उत्रिएका पूर्व प्रधानमन्त्रीहरु चुनावी बहसमा भन्दा विरोधीलाई खुइल्याउन तल्लिन छन्।  प्रचण्ड त आरोप प्रत्यारोपमा मात्र सीमित छैनन्, बरु उनी १० वर्षे जनयुद्धको तोडमा अझै प्रस्तुत भइरहेका छन्।

चुनावमा गुण्डागर्दी गर्न परे पनि गर्न र त्यसका लागि माओवादी केन्द्रको हेडक्वाटर सहयोग गर्न तयार रहेको प्रचण्डले वाईसीएललाई निर्देशन दिएका थिए। ‘गुण्डा आउँछन् भने इँटको जवाफ पत्थरले दिने गरी युवाहरुको तयारी गरौं। गुण्डागर्दी र धाँधली गरेर चुनाव जित्नेलाई परास्त गर्नुछ हामीले,' चैत ५ मा सिन्धुली पुगेका  प्रचण्डले आक्रामक रुपमा भनेका थिए।

चुनावको मुखमा आफ्ना पूर्व समकक्षीलाई खुइल्याउन उनीहरु सक्रिय छन् भने नेपालले ओलीलाई चैत ११ मा लगाएको आरोपबाट पुष्टि हुन्छ। ‘यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागि परेका छन्। तर उनी पनि गठबन्धन गर्दैछन, कोसँग थाहा छ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्। राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन,’ नेपालको ओलीमाथि रोष यसैगरी प्रकट भयो।

पूर्व प्रधानमन्त्री मध्ये ओली आफ्ना समकक्षीलाई प्रहार गर्नमा सबैभन्दा अघि देखिन्छन्। उनले प्रचण्ड-नेपाललाई खान जन्मिएको, नक्कली मुला, लाज पचाएको, पढ्न नजान्ने लगायतका शब्द प्रयोग गरेर आलोचना गर्ने गरेका छन्।

भट्टराईले तुलनात्मक रुपमा चुनाव लक्षित समकक्षी माथि कम प्रहार गरेका छन्। यद्यपि, दुई पटकको प्रतिनिधिसभाको विघटनका बेला भने उनी ओलीमाथि जाइलागेका थिए। उनले ओलीलाई ‘भष्मासुर’सँग तुलना गर्दै २०७७ वैशाख १२ मा भनेका थिए, 'ओली भष्मासुर हुन्, असारमै ठेगाउन लगाउनुस् भन्यौँ तर उहाँहरुले मान्नुभएन। अहिले उहाँहरु सडकमा बस्न आइपुग्नुभएको छ।’

प्रचण्ड-नेपाल आन्दोलनका क्रममा बानेश्वरको सडकमा बसेको विषयलाई जोडेर भट्टराईले कडा टिप्पणी गरेका थिए। त्यतिबेला ओलीमाथि तिखो प्रहार गर्ने मध्येका एक थिए भट्टराई।

गाली गलौजमा उत्रिनुका तीन कारण

राजनीतिक दलको प्रमुख र कार्यकारी पदमा पुगिसकेको व्यक्तिबाट तल्लोस्तरमा झरेर यस्ता अभिव्यक्ति आउनुमा तीन कारण देख्छन् राजनीतिक विश्लेषक डा. इन्द्र अधिकारी।

पहिलो -  हामीले जे बोल्यो त्यो गर्न सकेनौँ र त्यो कुरा जनताले राम्रोसँग थाहा पाएका छन् भन्ने छ। त्यसैले नेताहरु चुनावी मुद्दामा भन्दा अरु कुरामा केन्द्रित छन्।

दोस्रो - राजनीतिक हिसाबले समाज असाध्यै ध्रुविकृत छ। हाम्रो पक्षले भनेर पनि नभनेर पनि हामीलाई भोट हाल्छन् अर्को पक्षकाले हामीलाई  भोट हाल्दैनन् भन्ने मानसिकता देखिन्छ। त्यसैले अर्को पक्षकालाई होच्याएर मात्रै आफू ठुलो हुने भन्ने मनोविज्ञानले काम गरेको हो।

तेस्रो - हरेक स्थानीय तहमा फरकफरक खालको चरित्रहरु छन्। सबै स्थानीय तहको चरित्रलाई समेट्ने गरी बहस गर्ने त्यो खालको तयारी राष्ट्रियस्तरका नेतामा छैन।

अहिलेका नेताहरुको पृष्ठभूमि विद्रोह भएकाले पनि एजेन्डामा बहस गर्ने संस्कार नबसेको अधिकारीको मत छ। 'चुनावी बहसका लागि उनीहरुले एजेण्डामा बहस गर्ने हैसियत नै बनाएका छैनन्। आफूलाई ढाल्ने प्रयास नै गरेका छैनन्। एजेण्डाका हिसाबले पनि यी सधै विद्रोहको राजनीति गरेर आएका हुन्। सत्तासीनलाई गाली गरेरै आएको हुनाले अहिले पनि आफैँ सत्तामा हुँदा पनि त्यो चरित्र गएको छैन। उनीहरुले एउटा न एउटा गाली गर्ने व्यक्ति खोजिरहेका हुन्छन्,' अधिकारीले भनिन्।

बिग्रिँदो राजनीतिक संस्कार

आरोप प्रत्यारोप पछिल्लो समय केही बढेको देखिएको भए पनि संविधान निर्माण गर्नुअघिको राजनीतिक खिचातानीका बेला पनि त्यस्तै देखिन्थ्यो। २०७१ माघमा राजनीति संविधान निर्माणको खिचातानीमा चेपिएको थियो। माओवादी सहित २२ दलीय मोर्चा आन्दोलनमा थियो। उक्त आन्दोलनमाथि टिप्पणी गर्दै एमालेका अध्यक्ष ओलीले १० अर्ब रुपैयाँ दिए आन्दोलन स्थगित हुने दाबी गरेका थिए। ओलीको टिप्पणीलाई लिएर आक्रामक बनेको मोर्चाले ओली मानसिक रुपमा बिरामी भएको निर्णय गरेको थियो।

'नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २२ दलीय मोर्चामा आवद्ध राजनीतिक दलहरूलाई दश अर्ब दिएमा आन्दोलन रोकिन्छ भन्ने जस्ता अराजनीतिक, भ्रामक, निराधार र गैरजिम्मेवार आरोपको निन्दा एवं भर्त्सना गर्दै उहाँको अभिव्यक्तिले उहाँ शारीरिक रूपमामात्र नभई मानसिक रूपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहाँको शीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दछ,' मोर्चाको निर्णयमा भनिएको थियो

गालीगलौजको संस्कार पहिला पनि प्रतिपक्षी दलमा भए पनि अहिलेजस्तो हुन्थेन। संस्थागत रुपमा आक्रामक रुपमा अभिव्यक्ति आउँथ्यो तर पछिल्लो समय भने व्यक्तिगत तहमै आक्रमण हुनेगरेको बुझाइ छ अधिकारीको।

'यो प्रवृत्ति चाहिँ सुरु देखि नै अपोजिसनको राजनीति गरेर आएका हुनाले कसै न कसैलाई गाली गर्ने चरित्र विकास भएको थियो। तर अहिले बढिरहेको देखिन्छ। किन बढिरहेको भने पहिला एकवद्ध भएर गाली गर्ने हुन्थ्यो। अलिकति संस्थागत हिसाबले र अलि भद्र हुन्थ्यो। तर, अहिले असाध्यै तल्लो स्तरमा झरेर गालीगलौज गरेको देखिन्छ,' उनले भनिन्। बिग्रिँदो राजनीतिक संस्कारले समाजलाई अस्थिरतातर्फ लैजाने अधिकारीले बताइन। संस्कारहीन राजनीतिले नेताहरुको मान प्रतिष्ठा समाजमा घट्दै गएको उनको बुझाइ छ।

कम्युनिस्ट नेता गाली गलौजमा अगाडि

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला २०७७ कात्तिक २८ मा ओलीमाथि विभिन्न आरोप लगाएर प्रचण्डले तत्कालीन नेकपाको सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरे। जवाफमा ओलीले मंसिर १३ गते प्रचण्डमाथि नै काउन्टर आरोप पेश गरे। आरोप प्रत्यारोपको दस्तावेजिकरणले तत्कालीन नेकपा त अस्तित्वमा रहेन नै २०७७ फागुन २३ गते अदालतले गरेको एमाले माओवादी एकता बदरको फैसलापछि एमाले समेत एक रहेन। एमालेभित्र आरोप प्रत्यारोपको क्रम चलेपछि पार्टी विभाजन गरेर तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे। कम्युनिस्ट पार्टी भित्र मौलाएको किचलो र गालीगलौजलाई विश्लेषक अधिकारी अरु पार्टीमा भन्दा तीब्र रुपमा बढिरहेको बताउँछिन्।

'यस्तो कम्युनिस्ट नेताहरुमा धेरै देखिन्छ। गाली गर्ने नेताहरुको आइडियोलोजीदेखि सबै कुरा समानता छ। कम्युनिस्ट नेता भए पनि आचरणका हिसाबले कम्युनिस्ट देखिँदैनन्। फिलोसोफिकल हिसाबले बहस गर्ने पनि नैतिक आधार उनीहरुले गुमाइसके,' उनले भनिन्।

व्यक्ति केन्द्रित आलोचनाले बढ्दो विचलन

तत्कालीन नेकपा हुँदै एमाले विभाजन भएको वर्ष दिनभित्रै एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले चैत ७ गतेको पोलिटब्युरो बैठकमा पुन: पार्टी एकताको प्रस्ताव गरेका थिए। तर, ओलीले नेपालको प्रवृत्तिको आलोचना गर्दै आफू बाहेक अरु कम्युनिस्ट नै नभएको बताए। वाम एकताको ढोका तत्कालका लागि बन्द भएको ओलीको जवाफ थियो भुसालको प्रस्तावमाथि। वाम एकताका विषयमा भुसालले पत्रकार सम्मेलनमा भनेका थिए, 'एकीकृत समाजवादी, माओवादी र एमाले सबै एकै विषय बोकेर जाने भए यो के राम रमिता?'

कम्युनिस्ट नेताहरुको किचलो सैद्धान्तिक हिसाबमा नभएर व्यक्तिगत तहमा हुँदा उनीहरुलाई चुनावका बेलामा तालमेल गर्न समेत कठिन छ। तर, एकीकृत समाजवादीका नेता खनाल भने ओली र आफूमा सैद्धान्तिक रुपमै भिन्नता भएको र ओलीको प्रवृतिमा समस्या देखिएको उनी बताउँछन्।

'एमालेको १० औं महाधिवेशनमा ओलीले कस्तो दस्तावेज बनाउँदारहेछन् भनेर मैले पनि पढे। ६२/६३ को जनक्रान्ति हो/होइन। यस्तो पनि अलमल? यो पुँजीवादी समाज हो ओलीले भन्नै सकेका छैनन्। उनीहरु अमेरिकी लोकतन्त्रलाई नमुना लोकतन्त्र भन्न थालेका छन्। दुई दलीय प्रणालीको कुरा गरिरहेका छन्। हामी वैज्ञानिक समाजवाद भनिरहेका छौं। यहीँ भिन्नता छ हाम्रो,' खनालले ओलीसँगको मतभेदबारे भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell