PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ओली-प्रचण्ड सम्बन्ध, कहिले 'लभ' कहिले 'ब्रेकअप': 'जेट पाइलट' बीच कसरी बढ्ला सम्बन्ध?



प्रकाश भण्डारी

ओली-प्रचण्ड सम्बन्ध, कहिले 'लभ' कहिले 'ब्रेकअप': 'जेट पाइलट' बीच कसरी बढ्ला सम्बन्ध?

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि बेला-बेला कटुतापूर्ण र सुमधुर हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको सम्बन्धले राष्ट्रिय राजनीतिमा समेत तरंग ल्याउने गर्छ। पार्टी एकीकरणसम्मको निर्णयमा पुगेका यी दुईको सम्बन्ध उतारचढावपूर्ण छ। स्थायी शत्रु र मित्र नहुने राजनीतिको आख्यान ओली-प्रचण्ड सम्बन्धमा मेल खान्छ।

कहिले ढाल्ने, कहिले उचाल्ने

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७३ साउन ७ गते संसद्मा एक घण्टा लामो भाषण गरे। आक्रोशपूर्ण उनको भाषणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना थियो। उनले ओलीलाई संघीयता विरोधीको आरोप लगाए। जतिबेला प्रचण्डले २०७२ असोज २४ गते आफैँ प्रस्तावक बनेर बनाइएका प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासका प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावकै कारण ओलीले राजीनामा दिएका थिए।

त्यसको दुई दिनपछि अर्थात् २०७३ साउन ९ गते ओलीले प्रचण्डलाई जवाफ फर्काए। ओलीले प्रचण्डलाई जवाफमात्र दिएनन्, विगत सम्झाउँदै कटाक्ष पनि गरे। उल्टै प्रचण्डलाई प्रश्न गर्दै भनेका थिए, 'म राजतन्त्रसँग लडाइँ गरेर जेलमा पर्दा कापी कलम बोकेर कुन स्कुलमा कुद्दै हुनुहुन्थ्यो?'

ओलीसँग बिग्रिएको राजनीतिक सम्बन्धको दूरी प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवातिर निकट बनाए। कांग्रेस र तत्कालीन मधेसी मोर्चासँगको सहकार्यमा प्रचण्ड २०७३ साउन १९ गते दोस्रोपटक प्रधानमन्त्री भए। नौ महिनाको अवधिमा प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गरे।

देउवा २०७४ जेठ २३ मा प्रधानमन्त्री भए। यसबीचमा कांग्रेस र माओवादीबीच स्थानीय तह निर्वाचनमा तालमेल नै भयो। पत्रकार महासंघ, सामुदायिक रेडियो प्रसारक संघ लगायतदेखि साना-साना फोरममा पनि चुनावी तालमेल भए। कतिपय नेताहरूले त त्यसलाई मुलुकबाट एमालेमुक्त अभियान नै भएको अभिव्यक्ति पनि दिए।

बाँदरदेखि पागलसम्मका गाली

२०६४ चैत २८ मा सम्पन्न संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी पहिलो ठूलो दल बन्यो। माओवादी पहिलो दल हुँदा तत्कालीन एमाले तेस्रो दल भयो। प्रचण्ड दुई क्षेत्रबाट निर्वाचित भएर सत्तामा पुग्दा ओली झापाबाट पराजित भए। त्योबेला ओली माओवादी र प्रचण्डका समेत कट्टर आलोचक थिए। ओलीले आफ्नो छवि नै माओवादीलाई टकराव दिन सक्ने नेताको रूपमा राष्ट्रिय राजनीतिमा बनाएका थिए। तिखा वाण प्रहार गर्न सिपालु ओलीले वाकयुद्धमा माओवादीलाई निकै चुनौती प्रस्तुत गरिरहन्थे।

दोस्रो संविधानसभामा एमालेले आफ्नो साख फिर्ता गर्दा माओवादी चुनावी मैदानमा नराम्ररी पछारियो। ओली संविधानसभा तथा संसदीय दलको नेतामा निर्वाचित भए। संविधान जारी हुनुअघिको राजनीतिक सहमतिकै आधारमा ओली २०७२ मा पहिलोपटक प्रधानमन्त्री पनि भए। जसका प्रस्तावक प्रचण्ड नै थिए।

+++

२०७१ माघमा राष्ट्रिय राजनीति संविधान निर्माणको खिचातानीमै थियो। माओवादीसहित २२ दलीय मोर्चा आन्दोलनमा थियो। त्यही आन्दोलनलाई लक्षित गरेर ओलीले १० अर्ब रुपैयाँ दिए आन्दोलन स्थगित हुने ठोकुवा गरे।

प्रतिक्रियालाई लिएर मोर्चाले निर्णय नै गरेर ओली मानसिक बिरामी भएको आरोप लगाइदियो।

मोर्चाको निर्णयमा लेखिएको थियो ‘नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३० दलीय मोर्चामा आबद्ध राजनीतिक दलहरूलाई दश अर्ब दिएमा आन्दोलन रोकिन्छ भन्ने जस्ता अराजनीतिक, भ्रामक, निराधार र गैरजिम्मेवार आरोपको निन्दा एवं भर्त्सना गर्दै उहाँको अभिव्यक्तिले उहाँ शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहाँको शीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दछ।‘

जसरी संविधान निर्माणमा खिचातानी हुँदै थियो ओली-प्रचण्ड सम्बन्ध पनि तिक्ततापूर्ण बनिरहेको थियो। दुवै सवाल जवाफमा उत्रिएका थिए। त्योबेला ओलीले बालुवाटारको एक बैठकमा माओवादीले जातीय मुद्दा निकालेर देशलाई रुवाण्डा बनाउन लाग्यो भनेर आरोप लगाएपछि प्रचण्डले बैठक छाडेका थिए।

त्यसैको भोलिपल्टै प्रचण्डले ओलीमाथि आक्रोश पोख्दै संसद्मा आफूलाई राजा र अरूलाई रैती नठान्न चेतावनी दिए। ओलीलाई महाराजको संज्ञा पनि दिए।

ओलीले सोही दिन सर्लाहीमा जवाफ फर्काए - 'हामी त सहमतिकै पक्षमा छौँ र त्यसअनुसार नै अगाडि बढिरहेका छौँ, तर कमिलाले टोक्यो कि के हो, एमाओवादी अध्यक्ष त बुरुक्क उफ्रन थाल्नुभयो।'

आरोप प्रत्यारोपको शृङ्खला यतिमै सीमित भएन। २०७१ माघमै चलको संसद् बैठकमा ओलीले माओवादीलाई बाँदरको संज्ञा दिए र भने, 'नेवारी भाषामा एउटा शब्द छ। धेरै नचाहिने कुरा गर्‍यो भने 'माकः फूँइ' भन्छ। कुनै 'माकः फूँइ'सँग एमाले डराउनेवाला छैन।' नेपाल भाषामा बाँदरलाई 'माकः' भनिन्छ।'

त्यसको केही दिनमै माओवादीले मध्यरातमा संविधानसभामा तोडफोडसमेत गरेको थियो।

ओली र प्रचण्डको सम्बन्ध कुनै समय यस्तो विन्दुमा पुग्यो दुई नेताले एकै सार्वजनिक मञ्चसमेत सेयर गरेनन्।

भूकम्पले सुधारेको सम्बन्ध

२०७२ वैशाख १२ गतेको भूकम्पले ठुलै तहसनहस गर्‍यो। तर भत्किएको राजनीतिलाई भने एक ठाउँमा ल्यायो। संविधान जारीका सवालमा भएको १६ बुँदे सहमतिले फेरि ओली-प्रचण्डलाई निकट बनायो।

संविधान जारीपछि ओलीलाई प्रधानमन्त्री बनाउन होस् वा नाकाबन्दी, दुबैमा प्रचण्डले ओलीलाई बलियो साथ दिए। संविधान जारीपछि ओलीलाई प्रधानमन्त्री बनाउने दलीय सहमति कांग्रेसले उल्लङ्घन गरेको विषयमा ओलीभन्दा बढी आक्रामक प्रचण्ड देखिए।

संविधान जारीलगत्तै सैनिक मञ्चबाट प्रचण्डले भारतलाई लक्षित गरी 'हामी एस म्यान होइनौँ' भन्ने प्रतिक्रिया जनाए। नाकाबन्दीको विरोधमा रंगशालाबाट ओली-प्रचण्ड दुवैले सोही भाषा दोहोर्‍याए।

सत्ता साझेदार रहेकै बेला ओली प्रचण्ड सम्बन्धमा दरार ल्याउने फेरि पनि भद्र सहमति नै बन्यो। सत्ता हस्तान्तरणको विवादले दाहालले सरकारमै बसेर कांग्रेससँग सम्बन्ध अघि बढाए र, ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे। सो क्रममा उनले भनेका थिए, 'साथीहरूले खोला तर्‍यो लौरो बिर्स्यो जस्तो गर्नुभो। इतिहासमा जसले जति भूमिका खेलेको हो त्यति दिन पनि नभुलौँ।'

चुनावी तालमेलपछि गहिरो लभमा ओली प्रचण्ड

२०७३ जेठमा शेरबहादुर देउवालाई माओवादीले समर्थन गरेर प्रधानमन्त्री बनायो। जतिबेला स्थानीय तह निर्वाचनमा कांग्रेस माओवादी तालमेलमा पनि थिए।

निर्वाचन परिणाम तालमेलले अनुसार सोचेअनुसार थिएन। तत्कालीन एमाले नेतृत्व र पार्टीको राष्ट्रवादी छायाँका अघि अन्य दलका एजेन्डा बलिया बनेका थिएनन्। गठबन्धनलाई पछि पार्दै एक्लो एमालेले पहिलो चरणको निर्वाचनबाट लिड गरिरहेको थियो। राजनीतिक दशा र दिशा बुझ्न माहिर प्रचण्ड सत्ता साझेदार रहेकै बेला पुनः ओलीसँग दूरी नजिक बनाइरहेका थिए। सत्ता साझेदार दलले सुइँको समेत नपाउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमालेसँग गठबन्धनको निर्णय भयो। वाम एकताको सहमति पनि चुनावी तालमेलसँगै बन्यो।

सरकारमै बसेको पार्टीले विपक्षीसँग हात मिलाएको थाहा नपाउनु गम्भीर गल्ती भएको भन्दै कांग्रेसमा नेतृत्वको आलोचना पनि भयो।

चुनावी तालमेलसँगै ओली प्रचण्डको सम्बन्ध फेरि सुधार हुँदै गयो। २०७५ जेठ ३ गते पार्टी एकतापछि एक जेटका दुई पाइलट बने।

दुई पाइलट भए पनि प्रधानमन्त्री ओली सत्ता र पार्टी दुबैमा हाबी हुनु प्रचण्डको लामो असन्तुष्टि रह्यो। एकीकरणको केही समयपछि नै सरकार वा पार्टीमा आफूले लिड गर्न पाउनुपर्ने जिम्मेवारी प्रचण्डले सम्झाइरहे। विशेष गरी ओली विदेश गएका बेला प्रचण्डले यसमा जोड दिए। सार्वजनिक मञ्चमा स्मरण गराए।

बेला-बेलामा खटपट परे पनि कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्ड ओलीसँग केही समय चुपचाप नै रहे।

तर ओली इतरका नेताहरूको पछिल्लो भैँसेपाटी गठबन्धनले फेरि दुई पाइलटबीचमा मनमुटाव बढाइरहेको छ। सतहमा तत्कालका लागि विषयान्तर भए पनि मनमुटावको मैजारो भइसकेको छैन।

भैँसेपाटीले बदलेको रणनीति र ओलीको स्वास्थ्य

तत्कालीन एमालेको पछिल्लो महाधिवेशन यता अध्यक्ष ओलीलाई सघाइरहेका बामदेव गौतम यतिबेला प्रचण्ड निकट छन्। प्रचण्ड लगायतका केही नेताहरूले पनि बामदेवलाई राष्ट्रियसभामा लैजाने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने विकल्प खुला गर्ने आश्वासन दिइरहेका छन्।

ओलीको कार्यशैलीविरुद्ध भनिएको उक्त गठबन्धन संविधान संशोधनको एजेन्डा अघि सारेपछि आलोचित बन्यो तर प्रधानमन्त्रीलाई रक्षात्मक बनाउने अस्त्र भने बन्न सक्यो।

दुई अध्यक्षबीचको असहमति बीचमै बामदेवलाई राष्ट्रियसभामा मनोनीतका लागि पार्टी सचिवालयले सरकारलाई आग्रह गरिसकेको छ। तर ओलीले आग्रह मानेनन्।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण अघिसम्म केही न केही अभिव्यक्ति दिइरहने प्रचण्ड अहिले चुप छन्। बिरामी भनिए पनि फागुन २५ गते चितवन पुगेका थिए।

पार्टीको आन्तरिक गतिविधिमा पनि प्रचण्ड सक्रिय नै छन्। तर, बामदेव प्रकरणमा कुनै टिप्पणी गरेका छैनन्। पार्टी निर्णय कार्यान्वयन हुन्छ भन्ने धारण भने दोहोर्‍याइरहेका छन्।

प्रचण्ड र ओलीको सम्बन्ध दुवै नेताको मुभमा निर्भर छ। अस्पतालबाट फर्किएपछि ओलीका गतिविधि पनि यसमा निर्णायक बन्न सक्छन्। गठबन्धनबाट शक्ति आर्जन गरेर बसेका प्रचण्ड र एक दशकपछि पार्टीको आन्तरिक गुटमा कमजोर बनेका ओली दुबैका रणनीति अबका निर्णायक हुने देखिन्छन्। जेट पाइलटबीचको सम्बन्ध अब कस्तो होला, गाढा प्रेम वा बेमेल? अनुमानयोग्य छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell