काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै राजनीतिक दलहरु चुनावी तयारीमा जुटेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) लगायतका दल घोषणापत्रदेखि उम्मेद्वार छनोटको गृहकार्यमा छन्। चुनावकै लागि भनेर दलका शीर्ष नेता देश दौडाहमा पनि छन्। चुनाव जित्नका लागि एजेण्डा र आफ्नो रणनीतिमा केन्द्रित हुनेभन्दा आरोप प्रत्यारोपमा नेताहरुले आफूलाई अब्बल देखाइरहेका छन्।
त्यसमध्ये पनि पूर्व प्रधानमन्त्रीहरु नै तल्लो स्तरमा झरेर समकक्षीमाथि प्रहार गर्न थालेका छन्। यस्तो राजनीतिक संस्कारले कस्तो परिणाम दिन्छ? यिनै विषयमा राजनीतिक विश्लेषक डा. इन्द्र अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश।
अहिले चुनावका बेलामा एजेण्डा भन्दा गली गलौजमा शीर्ष नेता केन्द्रित छन्। किन होला?
नेकपा फुटेपछि नै एकले अर्कोलाई तल्लो स्तरमा गएर गाली गलौज गर्ने, आरोप प्रत्यारोप गर्ने देखिएको छ। अलि अगाडि केपी शर्मा ओली सरकारमा हुँदा यस्तो काम उनलेमात्र गर्थे। तर, पछि उनी सरकारबाट बाहिरिएपछि र नेकपा तीन टुक्रा भएपछि अहिले अरु बाँकी शीर्ष नेताले पनि ओलीकै बाटो लिएको देखिन्छ। राजनीतिक हिसाबले हेर्दा यो कुसंस्कार हो।
एजेन्डामा बहस नगर्ने, अर्कोलाई गाली गर्ने प्रवृत्ति चाहिँ संस्कारका रुपमा अघि बढिरहेको हो त्यसो भए?
नेपाली राजनीतिज्ञ एजेण्डामा केन्द्रित भइदिएको भए नेपाल अहिलेजस्तो गन्जागोलको अवस्थामा हुने थिएन। एजेण्डा जे जति हुन्छ उनीहरुको घोषणापत्रमा मात्रै हुन्छ। त्यसमा केन्द्रित भएर छलफल, बहस गर्ने र आइडियाहरु निकाल्ने, त्यसलाई पब्लिकसम्म सन्चारित गर्नेमा उनीहरुको ध्यान छैन। पब्लिकका प्रतिक्रियालाई सुन्ने लगायतका यावत कुराहरु नेपालका राजनीतिज्ञले गरेकै छैनन्।
चुनावी बहसका लागि उनीहरुले एजेण्डामा बहस गर्ने हैसियत नै बनाएका छैनन्, आफूलाई ढाल्ने प्रयास नै गरेका छैनन्। एजेण्डाका हिसाबले पनि यी सधै विद्रोहको राजनीति गरेर आएका हुन्। सत्तासीनलाई गाली गरेरै आएको हुनाले अहिले पनि आफै सत्तामा हुँदा पनि त्यो चरित्र गएको छैन। उनीहरुले एउटा न एउटा गाली गर्ने व्यक्ति खोजिरहेका हुन्छन्।
राजनीतिक संस्कार बिग्रिएको कुरा गर्नुभयो। यसलाई पहिला र अहिले कसरी तुलना गर्नुभएको छ?
यो प्रवृति चाहिँ सुरुदेखि नै अपोजिसनको राजनीति गरेर आएका हुनाले कसै न कसैलाई गाली गर्ने चरित्र नै पनि विकास भएको थियो। तर, अहिले त्यो बढिरहेको देखिन्छ। पहिला एकता भएर गाली गर्ने हुन्थ्यो। अलिकति संस्थागत हिसाबले र अलि भद्र हुन्थ्यो तर अहिले असाध्यै तल्लो स्तरमा झरेर गाली गलौज गरेको देखिन्छ। प्रतिस्पर्धा नै के छ भने तल झर्ने। अर्थात् अधोगतिमा प्रतिस्पर्धा।
संस्कारगत हिसाबले भन्दा त नेता जस्तो, त्यस्तै कार्यकर्ता हुन्छ। हामी कहाँ चाहिँ क्रिटिकल मास छैन। समाज राजनीतिक हिसाबले ध्रुविकृत, दलीयकरण भएको समाज छ। दलको नेताले भन्यो भने स्याल हुइयाँ गर्ने कार्यकर्ता छन्। ती कार्यकर्ताले यस्तो तहसम्म झरेको राम्रो होइन। यसले नेताको इज्जत प्रतिष्ठा बचाउँदैन भन्ने सोच्ने नै भएन।
कार्यकर्ताले पनि उकासिरहेका छन् त्यसो भए?
तपाईँले ताली बजाएको सुन्नुहुन्न? राजनीतिमा संस्कार असाध्यै क्षीण हुँदै गएको छ। अपोजिसनको राजनीतिमा पनि पहिला एक खालको संस्कार थियो। अहिले आफै सत्तामा भएर पनि एकले अर्कोलाई मुख देखाउने/बहस गर्ने, भोलि एउटै मञ्चमा फेस गर्ने ठाउँसम्म नराखिकन गाली गरिन्छ। राजनीतिमा सबै खालका सम्भावनका ढोका खुल्ला हुन्छन्। भोलि उनीहरु एकै पार्टीमा बस्ने सम्भावना पनि हुन्छ।
हिजो पनि त्यस्तै स्थितिबाट गुज्रेर आएको पनि हो। फेरि पनि त्यस्तो कहिले हुन्छ भन्ने राजनीतिमा टुंगो हुँदैन।
चुनावका बेला आफ्नो मुद्दा जनतालाई बुझाउन नसक्दा पनि यस्तो भएको हो कि?
राजनीतिक दलहरुलाई पनि के थाहा छ भने अब जनताले उनीहरुले बोलेकै आधारमा पत्याउँदैनन्, हामीले धेरै बोल्यौ तर थोरै पनि गर्न सकेनौँ भन्ने मनोविज्ञानबाट निर्देशित भएको पनि हो यो। अहिले आफ्नो पार्टीले जित्यो भने यसो गर्छौं भन्दा कसैले पत्याउँदैन। एउटा चुनावी घोषणापत्र बनाउलान्। एकाध ठाउँमा कार्यकर्तालाई परिचालित गरेर तल्लो तहसम्म बहस गराउलान्। नत्र उनीहरुले भन्दैमा जनता कन्भिन्स हुँदैनन् भन्ने लागेको छ उनीहरुलाई।
निर्वाचनको अघि त आफ्नो भोट बढाउन पो लाग्नुपर्ने। नेता त्यतातिर किन गएनन्?
हामीले जे बोल्यो त्यो गर्न सकेनौँ। त्यो कुरा जनताले राम्रोसँग थाहा पाएका छन् भन्ने एउटा कुरा छ। त्यसैले उनीहरु त्यसमा भन्दा अरु अरु कुरामा केन्द्रित भइरहेका छन्।
दोस्रो, कुरा राजनीतिक हिसाबले समाज असाध्यै ध्रुविकृत छ। भनेर पनि नभनेर पनि हाम्रो पक्षले हामीलाई भोट हाल्छन्। भनेर पनि अर्को पक्षकाले हामीलाई भोट हाल्दैनन् भन्ने छ उनीहरुलाई। त्यसैले हामीमा अर्को पक्षकालाई होच्याएर मात्रै आफू ठूलो हुने भन्ने मनोविज्ञान छ।
तेस्रो, कुरा के हो भने यो स्थानीय तहको निर्वाचनको हो। हरेक स्थानीय तहमा फरकफरक खालको चरित्रहरु छन्। सबै स्थानीय तहको चरित्रलाई समेट्ने गरि बहस गर्ने त्यस खालको तयारी राष्ट्रियस्तरका नेतामा छैन।
उनीहरुले गफ गर्ने भनेको आफ्नो पार्टीको कुरा मात्रै हो। हरेक स्थानीय तहमा फरकफरक खालका आवश्यकता छन्। फरकफरक खालको परिस्थिति छ फरक खालका मतदाता बस्छन्। यिनीहरुले टार्गेट गरेर त्यो लेबलमा गएर बहस/छलफल गर्छन भन्ने मलाई लाग्दैन। बहस गर्नका लागि आफू क्लियर भएका मुद्दाहरु पनि छैनन् होला।
मञ्चमा बोलाइन्छ एकले अर्कोलाई घृणा फैलाउँछन्। त्यो चाहेर या नचाहेर राजनीतिक मञ्चमा एक्सप्रेस हुन्छ। यो कम्युनिस्ट नेताहरुमा धेरै देखिन्छ। गाली गर्ने नेताहरुको आइडियोलोजीदेखि सबै कुरा समानता छ। कम्युनिस्ट नेता भए पनि आचरणका हिसाबले कम्युनिस्ट देखिँदैनन्। फिलोसोफिकल हिसाबले बहस गर्ने पनि नैतिक आधार गुमाइसके।
'छुच्चा' पूर्व प्रधानमन्त्री : वरिष्ठ नेताहरुले कस्तो राजनीतिक संस्कार सिकाउँदै छन् कार्यकर्तालाई?