PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

अग्लिएको आत्मविश्वास : उपाध्यक्ष जितेका महिलाको अध्यक्षमा यसरी बढ्दैछ दावेदारी



रिना थापा

अग्लिएको आत्मविश्वास : उपाध्यक्ष जितेका महिलाको अध्यक्षमा यसरी बढ्दैछ दावेदारी

पोखरा : पाँच वर्षे अनुभवले धेरैतिर उपाध्यक्षमै सीमित भएका महिला नेताहरु अब शीर्ष नेतृत्वका लागि संघर्षमा छन्। अनुभवले अग्लिएको छ उनीहरुको आत्मविश्वास। आफ्नो अनुभवलाई नेतृत्वदायी भूमिकामा पुग्न सदुपयोग गर्दैछन् उनीहरु। तिनै मध्येकी एक नेता हुन् संखुवासभा, सामापोखरी गाउँपालिकाकी उपाध्यक्ष सीता दाहाल।

उपाध्यक्ष सीता न्यायिक राष्ट्रिय सम्मलनमा सहभागी हुन पोखरा आइपुगेकी छिन्। उनले प्रमुख पदमा उम्मेदवारी घोषणा गरिसकेको बताइन्।

‘दाबेदारी त एकदम घोषण गरिसकेको छु मैले। उपप्रमुख भएर पाँच वर्षको कार्यकाल बिताएँ। अब प्रमुख भएर काम गर्छु। मसँग गाउँपालिका प्रमुखको भूमिका निर्वाह गर्ने क्षमता छ,’ उनले सुनाइन्, ‘ हामीलाई प्रमुखको भूमिका यो–यो हुनुपर्ने रहेछ भन्ने थाहा भयो। अब काम गर्न सकिन्छ, महिलाले पनि काम गर्न सक्छन् भनेर घोषण गरिसकेको छु।’


यो पनि पढ्नुस् : १४ महिने छोरीसँगै पोखरा आइपुगेकी ढोका गुरुङ चाहिँ अध्यक्षको दावी गर्न चाहन्नन्...


 

स्थानीय तह निर्वाचन नियमावलीमा स्थानीय तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेसँगै अघिल्लो निर्वाचनबाट महिलाले अवसर पाए। नियमावली अनुसार अध्यक्ष वा उपाध्यक्षमा पचास प्रतिशत महिला उम्मेदवार हुनेगरी मनोनयनपत्र पेश गर्ने व्यवस्था छ। यस्तो व्यवस्थाले सांकेतिक रुपमा राजनीतिमा महिलाको उपस्थिति ल्याउन मद्दत पुर्‍याएको छ। महिलाको यो उपस्थिति अहिले फलदायी बनिरहेको बताउँछन् उपप्रमुखहरु। यद्यपि, केही उपप्रमुख भने अझै आफ्नो पार्टीको निर्णय कुर्नुपर्ने अवस्थामा छन्। आफ्नो कार्यक्षमतामा विश्वास हुँदाहुँदै पनि पार्टीको निर्णयले मात्र नेतृत्वमा पुग्ने बाटो तय हुनेछ उनीहरुको।

सामापोखरी गाउँपालिकाकी उपाध्यक्ष सीता दाहाल


संघीय समाजवादीबाट सप्तरी, तिरहुत गाउँपालिकाको उपाध्यक्ष तीर्थमाया मण्डल पार्टीले टिकट दिए प्रमुखमा लड्ने तयारीमा छिन्। जनप्रतिनिधि भएर आउनु अघि समुदायस्तरमा महिलाको संजाल बनाएर काम गरेको अनुभव थियो उपाध्यक्ष तिर्थमायासँग। त्यसैले पनि उनलाई जनप्रतिनिधिको रुपमा काम गर्न धेरैथोरै मद्दत पुग्यो। पाँच वर्षे कार्यकालको अनुभवले उनले थप अनुभव बटुलिन्।

त्यसैले उनलाई विश्वास छ अध्यक्षको भूमिका निर्वाह गर्न सक्नेमा। ‘अब पार्टीले के गर्छ पार्टीले टिकट दियो भने अध्यक्षमा लड्ने योजना छ,’ उनले सुनाइन्।

तिरहुत गाउँपालिका उपाध्यक्ष तिर्थ माया मण्डल


यता, डडेलधुरा जिल्ला, परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहोराले आउँदो स्थानीय निर्वाचनमा प्रमुख पदमा दाबी गरेकी छिन्। यद्यपि, पार्टीभित्र पनि संघर्ष भने रहेको उनको आशय छ।

‘हाम्रो डडेल्धुरा जिल्ला पुरुष प्रधान। पहिलेदेखि काम गरेका धेरै नेताहरु हुन्छन्। हामी महिला पछि बाहिरिएका हौं। हामीलाई अलिकति अनुभव भए पनि पालो पुग्दैन। पार्टीले हामीलाई पालो दिँदैन,’ उनले गुनासो पोखिन्, ‘पार्टीले मिलेमतो गरेर निर्देशिका अनुसार चल्नपर्छ। तर, हामीलाई प्रमुख दिए हामी चलाउन सक्छौं। धेरै अनुभव भइसक्यो।’

परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहोरा


उपप्रमुखको रुपमा सुरुवातको वर्ष काम गर्न असहज रहेको उनले सुनाइन्। पछिल्लो समय भने कार्य क्षमतामा नागरिकले विश्वास गर्न थालेको उनी सुनाउँछिन्।

‘पहिलाको वर्ष जनताले पनि पत्याएका थिएनन्। पहिलेपहिले के गर्छन् भन्थे। अहिले त राम्रो छ विस्तारै बुझ्दै गया छन्। समस्या हुन्थ्यो त्यो समस्या हल भए छ,’ उनले भनिन्।

केही महिला उपाध्यक्षले पार्टीको निर्णयलाई मान्ने धारणा राखिरहँदा सोलुखुम्बु जिल्ला लेचसल्यान गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्मा भने पार्टी भित्र नै विद्रोह गर्ने बताउँछिन्।

लेचसल्यान गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्मा 


‘हामी उपाध्यक्ष भएर आयौं। अब अध्यक्षमा अब्बल छौं। हाम्रो योग्यता छ भन्ने हाम्रो दाबी हो। त्यो हामी हठ गरेर अध्यक्षको जिम्मेवारी लिन्छौं,’ उनले सुनाइन्।

पाँच वर्षको कार्यकालमा उनले निकै चुनौती भोगेको सुनाउँछिन्। तर पनि हरेक समस्यालाई सामना गर्दै हिँडेको उनको भनाइ छ।

‘चुनौती अति भयो हामी गाउँकुना भित्तामा छलिएर बसेका महिलालाई पाइला पिच्छेका चुनौती सामना गर्नुपर्ने हुन्छ। घरबाट निस्किएपछि महिलामाथि प्रश्न खडा हुन्छ यस्ता चुनौतीलाई सामना गर्दै म हिँडेको हो त्यसैले हामी अब्बल छौं,’ उनले भनिन्।

सुरुवातमा जिम्मेवारी आउँदा धेरैथोर असहज उनलाई पनि भयो। तर जानेर वा नजानेर जिम्मेवारी पूरा गर्दा गर्दै नेतृत्व लिनमा सक्षम भएको उनी बताउँछिन्। हक्की स्वभावकी उपाध्यक्ष कुमारीदेवी अधिकार खोसेर लिनुपर्ने विचार राख्छिन्।

‘अधिकार अर्काले दिएर लिने होइन पहिला त खोसेर लिने हो आफूले। अधिकारको हकमा कहिल्यै तलमाथि भन्ने हुँदैन,’ उनले भनिन्।

महिला उपाध्यक्ष भएकै कारण कति पटक आफ्नो अधिकार र निर्णयमा प्रमुखको हस्तक्षेप भएको उनको अनुभव छ। आफनो अधिकारमाथिको हस्तक्षेपलाई प्रतिकार गर्ने गरेकी छिन् उनले।

‘जूनसुकै काम गर्दा पनि अध्यक्ष पुरुषमुखी हुन्छन् महिला मुखी हुँदैन। यस्तो कुरामा प्रतिकार गरेको छु। चित्त बुझेन भने नोट अफ डिसेन्ट लेखेर हिँड्ने हो। हामीले लेख्या छौं। बैठक बहिष्कार गरेका छौं,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell