PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

१४ महिने छोरीसँगै पोखरा आइपुगेकी ढोका गुरुङ चाहिँ अध्यक्षको दावी गर्न चाहन्नन्...



रिना थापा

१४ महिने छोरीसँगै पोखरा आइपुगेकी ढोका गुरुङ चाहिँ अध्यक्षको दावी गर्न चाहन्नन्...

पोखरा : काखमा १४ महिनाकी छोरी च्यापेर यताउती डुल्दै थिइन् ढोका गुरुङ। छोरी कुंगा पेमाले घरिघरि आमालाई सताउँदै थिइन्। छोरी भुलाउँदै भलाकुसारी पनि भ्याउँदै गरेको देखिन्थ्यो।

दृश्य हो पोखरा सभागृह हलमा भएको न्यायिक राष्ट्रिय सम्मलेनको। सोमवार पोखरामा भएको सम्मेलनमा पुग्दा भेटिएकी हुन् मुस्ताङ जिल्लाको लो–घोकर दामोदर कुण्ड गाउँपालिकाकी उपाध्यक्ष ढोका गुरुङ।

सम्मेलनमा उपस्थित हुन हिमालपारीको जिल्लाबाट यात्रा तय गरी पोखरा झरेकी हुन् उनी। सम्मेलनमा मात्र होइन, ढोका अघिपछि पनि काखमा छोरी लिएर कार्यालय पुग्छिन्। आमा र गाउँपालिका उपाध्यक्षको दोहोरो जिम्मेवारी सम्हाल्नुपर्ने दायित्व छ उनमा। उसो त अब उनको कार्यकाल सकिनै लागेको छ।

स्थानीय निर्वाचनको मिति तय भएसँगै सबैतिर चुनावको सरगर्मी बढेको छ। अबको स्थानीय निर्वाचन मार्फत् राजनीतिको नेतृत्वदायी भूमिकामा महिलाको उपस्थितिबारे पनि बहस सुरु हुन थालेको छ। पाँच वर्ष उपाध्यक्षका रुपमा बटुलेको अनुभव सदुपयोग गर्दै नेतृत्वमा आउन क्षमता वृद्धि भएको भन्दै केहीले प्रमुखमा दाबी पनि गरिरहेको छन्।

यद्यपि, काखमा छोरी भएकै कारण ढोका भने नेतृत्वदायी भूमिकाबाट पछि हट्दैछिन्।


यो पनि पढ्नुस् : अग्लिएको आत्मविश्वास : उपाध्यक्ष जितेका महिलाको अध्यक्षमा यसरी बढ्दैछ दावेदारी


पाँच वर्षको कार्यकालमा उनले थुप्रै अनुभव बटुलिन्। हिमालपारीको जिल्लामा महिला भएर जिम्मेवारी सम्हाल्नु पक्कै सहज थिएन उनका लागि। तर पनि यसबिच उनले राम्रो अनुभव बटुलेको सुनाउँछिन्। अबको निर्वाचनमा प्रमुखको जिम्मेवारी सम्हाल्ने आँट भए पनि छोरीकै कारण निर्वाचनमा नहोमिने उनले सुनाइन्।

‘त्यो चाहिँ अब सोच्नुपर्छ, छोरी छ। अलि गाह्रै छ। नानी छ नत्र भने त सक्थेँ। नानी भएपछि जता पनि लिएर हिँड्नुपर्ने। जहाँ भन्यो त्यहीँ पुग्न अलि नसकिने। नत्र पहिलेभन्दा धेरै अनभुव भयो,’ उपाध्यक्ष ढोकाले सुनाइन्।

मातृत्त्व जिम्मेवारी पूरा गर्न पाँच वर्षे अनुभव र क्षमतालाई थाँती राख्दैछिन् ढोका। तर, पोखरामा भएको यही सम्मेलनमा धेरै उपाध्यक्षहरु अबको स्थानीय निर्वाचनमा अध्यक्षको दावेदार रहेको र त्यसका लागि संघर्ष गर्न तयार रहेको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell