PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एनएसीको त्यो कोठा जुन घोडेजात्राका दिन मात्र खुल्छ…



सहयोग रञ्जित

एनएसीको त्यो कोठा जुन घोडेजात्राका दिन मात्र खुल्छ…

काठमाडौं : न्युरोड गेटमा रहेको नेपाल वायुसेवा निगम (एनएसी) को मुख्यालयमा एउटा विशेष कोठा छ जसको हवाइसेवासँग कुनै पनि नाता छैन। त्यो विशेष कोठा हरेक वर्ष आयोजना हुने घोडेजात्राको दिनमात्र प्रयोगमा आउँछ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको कार्यालयको कोठाको राज के हो त? सधैं बन्द हुने यो कोठा घोडेजात्रा आउनुअघि खोलिन्छ र सरसफाइ गरिन्छ। त्यसबाहेक आजमात्र हो प्रयोगमा आउने।

आज अर्थात् घोडेजात्रा। तिंख्य (टुँडिखेल)मा घोडा दौडाउने दिन। नेपाली सेनाका घोडचडीहरुले विभिन्न कलाकौशल देखाए आज, हरेक वर्षहरुमा जस्तैगरी। घोडेजात्रा हेर्न पहिले राजा र सरकारका प्रमुख पुग्थे सैनिक मञ्च। अहिले राष्ट्रपति र सरकार प्रमुखसँगै विशिष्ट व्यक्तिहरु।

यसरी तामझामका साथ घोडा दौडाउने चलन चाहिँ राणाकालबाट मात्रै सुरु भएको हो। जंगबहादुर राणा बेलायतको भ्रमणमा गएर फर्किएपछि उनले टुँडिखेलमा उतैको सिको गर्दै तामझामका साथ घोडा दौडाउन सुरु गरेका थिए।

त्यसअघि नेवार समुदायले पाहाँ च:ह्रेको अवसरमा टुँडिखेलमा विशेष पर्व मनाउँदै आएका थिए। सो दिन गुरुमापा राक्षसको संहार स्वरुप टुँडिखेलमा सिपाही गुठीका भोसीको र बागबजारका खड्गीहरुले घोडा दौडाउने गरेको स्थानीयहरूको दाबी छ। यस विषयमा थप अध्ययन हुन भने बाँकी छ।

 टुँडिखेलमा घोडेजात्रा मनाइँदै। पछाडी नेपाल वायु सेवा निगमको कार्यालय


यस्तै, घोडेजात्राकै रात टुँडिखेलमा तीनजना अजिमाको भेट गराउने र 'द्य: ल्वाकेगु' (खट जुधाउने) गरिन्छ। जुन अहिलेसम्म पनि निरन्तर चल्दै आएको छ।

यसरी अजिमाहरुलाई टुँडिखेलमा ल्याउनुअघि जिवित देवी कुमारीलाई टुँडिखेलमा ल्याउने गरिन्थ्यो। कुमारीले त्यहाँ अजिमाहरु ल्याउनु अघि विभिन्नखाले पूजा गर्ने व्यवस्था छ। कुमारीलाई राखिन्थ्यो टुँडिखेल नजिकै रहेको सत्तलमा। राणाकालमा घोडेजात्रा सुरु भएपछि पनि यही पाहा च:ह्रेको भोलिपल्ट कुमारीलाई यहाँ ल्याउने क्रम रोकिएन। आज पनि टुँडिखेलमा घोडेजात्रा सुरु हुन अघि नै जीवित देवी कुमारीलाई कुमारी घरबाट बाहिर सवारी गराइयो। गुरुजुको पल्टन बाजा बजाउँदै अघि अघि बढ्दै जाँदा धेरैले घोडेजात्रा हेर्न कुमारीलाई लग्ने गरेको थाने। तर घोडेजात्रामा अहिले कुमारीलाई कहाँ राखिन्छ त?  

घोडेजात्रा अवलोकन गराउन जिवित देवी कुमारीलाई कुमारी घरबाट बाहिर ल्याउँदै गौतम शाक्य


वि. सं १९१२ मा जंगबहादुर राणा प्रधानमन्त्री हुँदा नेपाल आएका इतिहासकार हेनरी एम्ब्रोस ओल्डफिल्डले टुँडिखेल २-३ माइल लामो र ३ गज चौँडा रहेको उल्लेख गरेका थिए। हेनरीद्वारा लिखित पुस्तक 'स्केच्स् फ्रम नेपाल'मा टुँडिखेललाई 'एसियाको सबैभन्दा ठूलो परेड मैदान' भनिएको थियो। त्यही विशाल मैदानमा थियो कुमारीले बसेर घोडेजात्रा हेर्ने सत्तल।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं कुमारी घरका मुख्‍य चिताइदार गौतम शाक्यका अनुसार हाल सो सत्तल रहेको स्थानमा वायु सेवा निगमको भवन छ।

टुँडिखेलको पुरानो तस्विर र भित्रि काठमाडौंको दृश्य। तस्विर : ओल्ड फोटोज् अफ नेपाल


जिवित देवी कुमारीले त्यही भवनको एउटा कोठामा बसेर घोडेजात्रा अवलोकन गर्छिन्।

शाक्यले भने, 'आरएनएसी भनेको पहिला कुमारी माताकै जग्गा जमिन हो। पहिला त्यहाँ सत: नै थियो। पछि आरएनएसीको भवन बनेपछि त्यहाँको सत: हटाइयो। अहिले पनि सोही स्थानमा नै कुमारी देवीलाई लगेर घोडेजात्रा देखाइनु त्यो बेला त्यहीँ नै कुमारीलाई बिराजमान गराइन्थ्यो भन्ने प्रमाण हो।'  

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य


जिवित सम्पदामा रहेको कुमारीको यात्रा टुँडिखेलमा हुनु र आरएनएसीमा नै राखेर घोडेजात्रा देखाउनुले पनि उक्त जमिन कुमारीको भएको प्रमाणित गर्ने उनको तर्क छ। तर, कानुनी र कागजी आधार केही नभएकाले यस विषयमा पहल हुन सकेको छैन।

'यो जग्गा कुमारीकै भएको कुनै ठोस प्रमाणहरु चाहिँ छैन। कुमारीकै जग्गा भएको हामीले पनि सुनेका हौं। त्यसै अनुसार अहिले पनि कुमारीलाई त्यहीँ लगिन्छ। त्यो भवनमात्रै हाम्रो भएको भए अहिले त्यसैको आम्दानीले इन्द्रजात्रा संचालन गर्न सकिन्थ्यो।'

जिवित देवी कुमारीलाई एनएसी भवन तर्फ लगिँदै


आरएनएसीमा भवन बने पनि देवी कुमारीलाई घोडेजात्रा देखाउन त लैजानै पर्‍यो। त्यसैले त्यसदिन देवी कुमारीको सवारी हुँदा आइएनएसी भवनको एउटा कोठा खाली गराइन्थ्यो र त्यहाँबाट घोडेजात्रा अवलोकन गराइन्थ्यो। करिब ६ वर्ष अघि भने इन्द्रजात्रा व्यवस्थापन समितिले सरकारलाई घोडेजात्राको दिन कुमारीको सवारी हुँदा छुट्टै कोठाको व्यवस्थापन गरिदिन आग्रह गरेको थियो। त्यसपछि आरएनएसीमा देवी कुमरीको आसन नै बनाएर त्यहाँ छुट्टै कोठाको व्यवस्था भएको हो।

एउटा कोठामात्रै भए पनि उपलब्ध गराएर घोडेजात्रा अवलोकन गराउनुलाई सकारात्मक रुपमा नै लिन्छन् उनी।

'गाह्रो केही छैन। सबैले सहयोग गरेका छन्। परम्पराको निरन्तारा भइरहेको छ,' उनले भने।

 

एनएसीको माथिल्लो तल्लामा रहेको कोठा। यहाँ जिवित देवी कुमारीको लागि स्थायी आसन बनाइएको छ।

यहींबाट देवी कुमारीले घोडेजात्रा अवलोकन गर्छिन्।


कुमारीको सवारी घोडेजात्रा भन्दा पाहाँ च:ह्रे लक्षित भएको बताउँछन् गौतम शाक्य। घोडेजात्रामा सवारी लैजाने भनेर पछिमात्रै भन्न थालिएको उनले बताए।

'पाहा च:ह्रेमा टुँडिखेलमा देवी देवताको उपस्थिति हुन्छ। त्यहाँ अजिमाहरु भेला हुनुअघि नै देवी कुमारीलाई उपस्थित गराइन्छ। कुमारी माताले त्यहाँ आउने देवीहरुको व्यवस्थापन गर्ने भन्ने कथन छ। त्यही रात टुँडिखेलमा अजिमाहरुको खट जुधाउने गरिन्छ। भोलिपल्ट भने असनमा खट जुधाइन्छ,' शाक्यले भने। 

देवी कुमारीलाई आरएनएसीमा लगेपछि भद्रकालीमा पूजा गरिन्छ र बलि चढाइन्छ। कुमारी घरबाट नै भद्रकालीको लागि पूजा लगिन्छ। त्यस बेलासम्म आरएनएसीका कर्मचारीहरुले कुमारीको दर्शन गर्ने गर्छन्। कुमारी आरएनएसी पुगेपछि पूजा भद्रकाली पुर्‍याइन्‍छ र त्यहाँ बलि दिइन्छ। गुरुजुको पल्टनले बधाई पनि गर्छन्। भद्रकालीमा पूजा सकेपछि सबैजना फेरि आरएनएसीमा देवी कुमारी रहेकै स्थानमा फर्किन्छन्।

'त्यसैले यो जात्रा कुमारीको स्थापना भएदेखि नै सुरु भएको हुनुपर्छ। घोडेजात्रा भन्दा पनि पाहाँ च:ह्रेमा अजिमासँग कुमारीको सवारी भएको देखिन्छ,' उनले भने।

घोडेजात्रा कति पुरानो?

टुँडिखेलमा तामझाम गरेर घोडा दौडाउने परम्परा जंगबहादुरले सुरु गरेको प्रमाणित कुरा हो। तर, त्यसअघि नै उपत्यकामा घोडेजात्रा मनाउन सुरु गरिएको प्रमाण समेत रहेको छ। गुरुमापालाई घोडाले आफ्नो टापले दबाउन टुँडिखेलमा घोडा दौडाउने गरिएको लोक कथन समेत छ।

इतिहासविद् प्राध्यापक त्रिरत्न मानन्धर मध्यकालदेखि नै घोडाको टापले दबाउने परम्परा रहेको बताउँछन्।

'जंगबहादुरको समयदेखि अहिलेजस्तो गरी घोडेजात्रा मनाउन सुरु गरिएको हो। तर, घोडेजात्रा मध्यकालदेखि नै मानिएको देखिन्छ। पाटनमा पनि यही दिन घोडा दौडाउने गरिन्छ। मध्यकालदेखि नै घोडेजात्रा सुरु भएको यसले देखाउँछ,' उनले भने।

घोडेजात्राको रात टुँडिखेलमा अजिमाहरुको खट जुधाउने गरिन्छ। घोडेजात्रा त्यसैसँग सम्बन्धित हुनसक्ने मानन्धरको तर्क छ। साथै गुरुमापाको कथन समेत यससँग मिल्न आउने उनले सुनाए।

रणबहादुर शाहको समयमा वि सं १८५० को एउटा पत्रमा नेवार र पर्वतेहरुलाई बिदा दिने छुट्टाछुट्छै लिस्ट भेटिएको मानन्धरले बताए। त्यस पत्रमा पर्वतेहरुलाई दिइने बिदामा घोडेजात्रा शब्द उल्लेख नभएको तर नेवारलाई दिइने बिदामा घोडेजात्रा शब्द उल्लेख गरिएको थियो। त्यसैले घोडेजात्रा जंगबहादुरको पालामा मात्रै सुरु भएको भन्ने स्वीकार गर्न नसकिने उनको तर्क छ।

'नेवार कर्माचारीलाई घोडेजात्राको बिदा दिने अर्थ नै त्यो बेलादेखि घोडेजात्रा मनाउने गरिन्थ्यो भन्ने हो,' उनेल भने।

घोडेजात्रा अवलोकन गराउन जिवित देवी कुमारीको सवारीका क्रममा सँगै ल्याइएको घोडा।


देवी कुमारीलाई समेत घोडेजात्रामा लग्ने परम्परा रहेको भन्दै उनले कुमारीलाई लग्नु भनेको मल्लकालबाट नै सुरुवात भएको हुनसक्ने बताए।  

'यी दुई कुराले घोडेजात्रा मध्यकालदेखि नै भएको र जंगबहादुरले तामझामका साथ सुरु गरेको देखिन्छ।'

घोडेजात्राको अवसरमा पुन: प्रकाशित गरिएको । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell