PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ओलीको वक्तव्यमाथि गगन थापाको फ्याक्ट चेक : १५ मिनेटमा तीन वटा झुट बोले



पहिलोपोस्ट

ओलीको वक्तव्यमाथि गगन थापाको फ्याक्ट चेक : १५ मिनेटमा तीन वटा झुट बोले

  • फूलमान तामाङ-

इन्द्रावती : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले झुटमाथि झुट बोलेको आरोप लगाएका छन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन्।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले १० -१५ मिनेटको अवधिमा तीन वटा झुट कुरा गरेको उनको दाबी थियो। ओलीले अनेरास्ववियु केन्द्रीय कमिटीको बैठकलाई शुक्रबार सम्बोधन गर्ने क्रममा ती झुट व्यक्त गरेको गगनको भनाई थियो।

पहिलो : प्रधानमन्त्रीको भारत भ्रमणबारे

कांग्रेस महामन्त्री थापाका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर ओलीले जनाएको अनविज्ञता पहिलो झुट भएको बताए। शुक्रबार ओलीले अरु समयमा नगएर चुनावकै बेला भारत जानुको अर्थ आफूले पनि नबुझेको बताएका थिए। भनेका थिए,'प्रधानमन्त्रीजी विदेश जानु भएको छ ठ्याक्कै चुनाव अगाडि, किन जानुभको नि? आएपछि सोध्नु पर्ला यति समयसम्म जानु भएन यति नै बेला किन जानु भयो भनेर।'

यो विषयमा जानकारी दिन र छलफल गर्न प्रधानमन्त्री कार्यालयले फोन गर्दा ओली आफैँ पन्छिएको गगनले दाबी गरे। 'हिजोमात्रै मैले पूर्व प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्ने मौका पाएँ। एउटा कार्यक्रमको १० - १५ मिनेटको उहाँको कुरा सुनेँ। त्यतीमा उहाँल तीन पटक तीनवटा महत्वपूर्ण कुरामा आज राष्ट्रिय समाचार बन्ने गरी झुट बोल्नुभयो। एउटा के भन्दिनुभयो भने शेरबहादुर देउवा भारत जानुभएको छ मलाई सोध्दै सोध्नुभएन। पहिले पहिले प्रतिपक्षी पार्टीलाई बोलाउने चलन थियो। अहिले बोलाउँदै बोलाउनुभएन। यस्तो विषयमा तपाईँहरुले छलफल गर्नुपर्ने हैन? फेसबुकमा त्यही टिकटकमा त्यही। खास कुरा के हो प्रधानमन्त्री कार्यालयले पूर्वप्रधानमन्त्रीलाई फोन गर्‍यो। उहाँले म भ्याउँदिनँ काठमाडौंबाहिर छु भन्नुभयो।'

दोस्रो : भीमदत्तको हत्या आरोपबारे

कांग्रेस महामन्त्री थापाले ओलीको भाषणको अर्को झुट औंल्याए भीमदत्त पन्तको हत्याबारे। शुक्रबार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भारतीय सेना बोलाएर कांग्रेसले देशभक्तको टाउको कटाएको दाबी गरेका थिए। 'कांग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो। कांग्रेसले विदेशी सेनालाई बोलाएर देशभक्तको टाउको कटाएको थियो। भन्दा नराम्रो लाग्छ यो सबै नेपाली कांग्रेसले गराएको थियो। तर के गर्नु नेपाली कांग्रेस त्यस्तै हो,' ओलीको भनाई थियो।

उक्त भनाईमा कुनै सत्यता नभएको गगनको दाबी रह्यो। 'उहाँले के भन्नुभयो बीपी कोइरालाले २०१० सालमा भीमदत्त पन्त भन्ने सुदूरपश्चिमको हाम्रो किसान नेताको हत्यामा बीपी कोइराला संलग्न थियो भन्नुभयो,' थापाले भने, 'सत्य के हो? कांग्रेसबाट निकालिएका मातृकाप्रसाद कोइरालाले छुट्टै सरकार चलाउँदै गर्दा भीमदत्त पन्तको हत्या भयो। यसको विरुद्धमा कांग्रेसका नेता बीपी कोइरालाले आन्दोलन गर्नुभयो। त्यो आन्दोलन गरेबापत दरबारसँग सम्बन्ध बिग्रेर पाँच वर्ष कांग्रेस सरकारमा जान पाएन। २०१७ सालमा जननिर्वाचित बीपी कोइरालाले जेलनेल सबै खाएर ३० वर्ष पञ्चायतको शासन व्यहोर्नुपर्‍यो।'

तेस्रो : प्रचण्ड माधवलाई पत्रु भनेकोमा आपत्ति

थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ओलीले पत्रु भनेर आरोप लगाएकोमा आपत्ति प्रकट गरे। शुक्रबार ओलीले प्रचण्ड र नेपाललाई पत्रु वस्तुसँग तुलना गरेका थिए।

'कांग्रेस जहिले पनि थोत्रा र पत्रु तत्वहरूसँग मात्रै एकता गर्छ। कांग्रेसले जहिले पनि राष्ट्रियता विरोधी र लोकतन्त्र विरोधी शक्तिसँग एकता गर्छ। शत्रुसँग घाँटी जोड्ने। बिग्रिएका, सडेका, बिकाउ माल, लोकतन्त्र विरोधीसँग घाँटी जोड्ने। उहिले होस् कि अहिले होस्, कांग्रेसको जात नै त्यस्तै हो,' ओलीको भनाई थियो।

उक्त भनाईको खण्डन गर्दै थापाले कुनै बेला आफैँले जहाज चलाउने पाइलट भनेको आफ्नो जोडीलाई यस्तो भन्न नमिल्ने तर्क गरे।

'नेपाली कांग्रेस पार्टी सबैभन्दा पत्रु अरु पार्टीसँग मिलेर गठबन्धन बनाउँदैछ भन्नुभयो। हामी त अहिले छलफल गर्दैछौँ। तालमेल गरेर जाने हो कि भनेर। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक बताउनुपर्दैन? माओवादी र एमाले मिलाएर उहाँले रातारात नयाँ पार्टी बनाउनुभएको हैन? हिजो प्रचण्ड र उहाँ एउटै जहाज चलाउने पाइलट बन्नुभएको हैन? उहाँले बनाउनुभएको पार्टी हैन? उहाँले त्यही कुरा छुँदै गर्दा सुन, अर्कैले लिँदै गर्दा फलाम हुँदैन,' थापाको प्रश्न थियो, 'एउटा राजनीतिक दलले तालमेल गर्ने नगर्ने त्यो कुरा सोच्ला। तर एउटा राजनीतिक दलको नेताले अर्को राजनीतिक दलको नेताको टिप्पणी गर्ने यही हो?'

निर्वाचनको बेला मतदाताहरुले सही विषयमा छलफल नगरे नेताहरुले यसरी नै बराल्ने बताए। एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई वृद्ध भत्ता लिन आउनु भनी आग्रह गरेको विषयमा कटाक्ष गर्दै थापाले थपे, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नुभयो। उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिन आउनु भन्नुभएछ। अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ। तपाईं पनि लिन आउनुस् भन्ने। भन्न मिल्छ? हामी त्यो स्तरमा जान मिल्छ?’

गाउँपालिकाकी उपाध्यक्षको सम्झना

कार्यक्रममा थापाले गाउँपालिकाकी दिवंगत उपाध्यक्ष मिरा अधिकारी लामालाई स्मरण गरे। 'मिरा भाउजू यति राम्रो गाउँपालिका बनाएर बित्नुभयो। हामीबीच रहनुभएन यस्तो रमाइलो क्षणमा उहाँ भएको भए कति रमाइलो हुन्थ्यो मलाई कस्तो नरमाइलो लागिराको छ,' थापाले भने।

थापाले आजै इन्द्रावतीमा निर्मित रंगशालाको समेत उद्घाटन गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell