PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

दश वर्षदेखि अलपत्र पुल : निर्माणको म्याद सकिन नौ दिन बाँकी रहँदा मजदुर घाइते



रिना थापा

दश वर्षदेखि अलपत्र पुल : निर्माणको म्याद सकिन नौ दिन बाँकी रहँदा मजदुर घाइते

पोखरा : आइतबार कालीगण्डकी नदीमाथि निर्माणाधीन पुल  भत्किँदा आठ जना मजदुर घाइते भए। स्याङ्जाको चापाकोट नगरपालिका दामाचौर र रामपुर नगरपालिका पाल्पा जोड्ने पुल निर्माण गरिरहेका मजदुर घाइते भएका हुन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। पुलको विम जोड्ने क्रममा विमसँगै मजदुर खसेर घाइते भएका थिए।
निर्माणाधीन सो पुलको निर्माण सक्ने अवधि यहीँ चैत मसान्तसम्म छ। निर्माण सम्पन्न गर्ने अवधी चैत मसान्तसम्म रहे पनि पुल भने दश वर्षदेखि अलपत्र परेको हो। जसको काम पनि जम्मा ४५ प्रतिशतमात्र सकिएको छ। 
२०६८ असार २६ गते सडक डिभिजन कार्यालय, पाल्पाले इलाइट एडी जेभीसँग तीन वर्षमा काम सक्नेगरी २१ करोड रुपैयाँमा सम्झौता गरेको थियो। तर, डिजाइनमा समस्या आएका कारण निर्माण कार्य समयमा सुरु हुन सकेन। डिजाइनकै बहाना र कोरोना देखाउँदै ठेकेदार कम्पनीले दश वर्षदेखि पुल अलपत्र पारेको हो। 
पहिलो डिजाइन (बेल फाउन्डेसन)ले पुल निर्माण गर्न सम्भव नभएपछि पुल निर्माण गर्न नयाँ डिजाइन (पाइल फाउन्डेसन) बनाइएको थियो। तर, सो डिजाइन स्वीकृत भएर काम अघि बढ्न लामो समय लाग्यो। ठेकदार कम्पनीले पनि डिजाइन र कोरोना कारण देखाएर म्याद थप्दै लगे। गत वर्षमात्र पुल निर्माण कार्य सुरु भएको थियो। थपिएको म्याद अवधी यही महिनाको अन्तिमसम्म छ। 
डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी तथा इन्जिनियर रवि शाहका अनुसार निर्माण समयावधी चैत मसान्तसम्म छ।
'डिजाइनको कारण देखाएर पनि म्याद थप भयो। पछिल्लो समय कोरोना कारण देखाएर म्याद थप भएको छ। जसको समयावधी यही चैतसम्म छ,' उनले भने।
यसबिच ठेकदार कम्पनीलाई सडक डिभिजन कार्यालयले पटक-पटक निर्माणकार्य सक्न पत्रचार गरेको थियो। 
'रेकर्ड पल्टाएर हेर्दा चिठ्ठीपत्र थुप्रै रैछ। अहिले काम गरिरहनु भएको छ। अब हिजो त्यस्तो घटना घट्याे,' उनले भने। 

छिटो सक्ने काम होइन: ठेकदार कम्पनी 
ठेकदार कम्पनीले पछिल्लो पटक चैत मसान्तसम्मको निर्माण समयावधी पाएको छ। सरकारले कोरोना प्रभावित निर्माणकार्य सम्पन्न गर्न  चैत मसान्तसम्म म्याद थप्ने निर्णय गरेको थियो। समयावधी सकिन ९ दिनमात्र बाँकी रहँदा निर्माण कार्य भने ४५ प्रतिशत सम्पन्न भएको छ। कम्पनीका प्रतिनिधि श्याम केसीले पुल निर्माण कार्य अझै यति छिटै नसकिने बताए। 
'समस्याग्रस्त प्रोजेक्ट हो। यो पोहोरबाट काम सुरु भएको हो। यसको काम अझै बाँकी छ,' उनले भने, `१ सय ८० मिटरको पुल बन्ने काम हो। अवधी नौ दिन बाँकी रहे पनि छिटो सक्ने काम होइन।' 
पुलको डिजाइनमा समस्या नभएको भए निर्माणकार्य समयावधीमा सम्पन्न हुने उनको दाबी थियो। यस्तै, आइतबार निर्माणमा खटिएका घाइते मजदुरको उपचार खर्च कम्पनीले गर्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell