PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पेट्रोलको मूल्य स्वचालित गराउने तयारी : लागू हुँदा भाउ कति धेरै चर्केला?



सुदर्शन सापकोटा

पेट्रोलको मूल्य स्वचालित गराउने तयारी : लागू हुँदा भाउ कति धेरै चर्केला?

काठमाडौं : पेट्रोलिमय पदार्थको मूल्य स्वचालित गराउने प्रस्ताव अगाडि सारिएको छ। स्वचालित मूल्य प्रणाली लागू भएको थियो भने आजको दिनमा पेट्रोलको प्रति लिटर मूल्य १ सय ८२ रुपैयाँ हुन्थ्यो। अहिले पेट्रोलको मूल्य १ सय ५५ रुपैयाँ छ। मन्त्रिपरिषदमा पुगेको यो प्रस्ताव लागू भयो भने उपभोक्ताले अहिलेको अवस्थामा महँगोमा इन्धन किन्नुपर्ने छ।

विदेशी मुद्रा सञ्चिती ज्यादै न्युन हुँदै गएकाले सम्भावित वित्तीय जोखिम नियन्त्रणका लागि पेट्रोलियम पदार्थको उपभोग घटाउने रणनीति सरकारले लिँदैछ। स्वचालित मूल्य लागू हुँदा खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढ्ने या घट्ने हुन्छ।

अहिले पेट्रोलियम आयात मासिक ३० अर्ब पुग्न थालेको छ। नेपाल ल्याउने पेट्रोलियम पदार्थको परिमाण यथावत रहे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले पहिले भन्दा ४० प्रतिशत बढी भुक्तानी गर्नुपरेको हो। डलर साटेर भारु भुक्तानी गर्नु परेकाले विदेशी मुद्राको सञ्चिति निरन्तर घट्न थालेको छ।


यो पनि पढ्नुस् : शनिवार र आइतवार बिदाको प्रस्ताव पुग्यो मन्त्रिपरिषद्, के लागू होला?


नेपालमा बढी रकमको आयात हुने पहिलो बस्तु नै पेट्रोलियम पदार्थ हो। त्यसैले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई दिन बिदा दिने प्रस्ताव पनि अगाडि बढेको छ।

उच्चस्तरीय समितिमा पेट्रोलियम पदार्थको मूल्य एक महिनाभित्र स्वचालित बनाइसक्ने निर्णय भइसकेको छ। औपचारिक निर्णय भने नेपाल आयल निगमको सञ्चालक समितिले गर्नेछ।

निगम ३५ अर्ब रुपैयाँ घाटामा गएपछि सरकारले भारतबाट जतिमा आउँछ त्यतिमै पेट्रोलियम पदार्थ (परल मूल्यमा) बिक्री गर्ने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो।

यसो हुँदा पेट्रोलको मूल्य (आजको दिनमा) १८२ रुपैयाँ पुग्ने छ भने डिजेलको १७० रुपैयाँ १७ पैसा नाघ्ने छ। खाना पकाउने ग्यासको मूल्य २५२८ रुपैयाँ ६६ पैसा पुग्ने छ। अहिले पेट्रोलको भाउ १५५, डिजेल १३८ र खाना पकाउने ग्यासको भाउ प्रति सिलिन्टर १५७५ रुपैयाँ छ।


यो पनि पढ्नुस् : जुत्ता चप्पलसहित ३ सय वस्तुको आयात रोकिँदै, बैंकहरुलाई एलसी नखोल्न निर्देशन


 

छलफलमा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने बिषयमा छलफल भएपनि निर्णय भने भएन। केही समय पर्खिएर हेर्ने अनि आवश्यक निर्णय गर्ने कुराकानी भएको बाणिज्य मन्त्रालय स्रोतले बतायो।

पोहोरकै परिमाणमा पेट्रोलियम आयात गरिए पनि मूल्यका कारण धेरै पैसा गइरहेको छ। यसले एकातिर बिदेशी मुद्राको सञ्चिति घटाइरहेको छ भने आन्तरिक रुपमा निगमको घाटा फराकिलो हुँदै गएको छ।

निगमले अहिले घाटा सहेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरिरहेको छ। ६ महिना अगाडि १९ अर्ब रुपैयाँ सञ्चिति मुनाफा र १४ अर्ब रुपैयाँ मूल्य स्थिरीकरण कोष रहेको निगम अहिले ३५ अर्ब रुपैयाँ घाटामा गइ‍सकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell